चरालाई पासो बन्दै विद्युत् प्रसारण लाइन
विद्युत् प्रसारण लाइन चराका लागि पासो बन्दै गएकोमा विज्ञहरूले चिन्ता जनाएका छन्।
नेपाल पन्छी संरक्षण संघको ४०औं वार्षिक साधारण सभामा आयोजित कार्यक्रमका सहभागीले चराको सुरक्षाबारे चिन्ता जनाएका हुन्। कार्यक्रममा बोल्दै संघका अध्यक्ष करनबहादुर शाहले विद्युत् प्रसारण लाइन चराका लागि चुनौती बन्दै गएको बताए। “कोरोना महामारी र त्यसपछिको अवस्थामा विश्व ठप्प जस्तै भए पनि नेपालमा भने संरक्षणको क्षेत्रमा निगरानी, सचेतना, तालीम, अनुसन्धानका काम निरन्तर भए,” प्राध्यापक शाहले भने, “तर, विद्युत् प्रसारण लाइन चराका लागि धराप बन्दै गएका छन्।”
आदिम ग्रन्थ ऋग्वेदमा १५० प्रजातिको चरा प्रजातिको उल्लेख भएको बताउँदै शाहले मानिसले कैयौं उपयोगी सीप तथा ज्ञान चराबाट सिकेको हुन सक्ने बताए। चरा विना मानवीय सभ्यता समृद्ध हुने थिएन होला भन्ने उनको आकलन थियो। “चरा मान्छेलाई प्रेरित गर्ने प्रजाति हो,” शाहले भने, “चाहे दुःखमा चाहे सुखमा मान्छेले चराबाट धेरै कुरा सिकेको छ।”
जूलोजिकल सोसाइटी लन्डनको नेपालस्थित कार्यालयका प्रतिनिधि चराविद् हेमसागर बरालले विद्युत् प्रसारण लाइन चराका लागि ‘मृत्यु क्षेत्र’ सरह भइरहेको बताए। “संघको एउटा सबल पक्ष नीति निर्माण तहमा गर्न सक्ने हस्तक्षेप हो,” बरालले भने, “अबका दिनमा प्रसारण लाइन र खेतबारीमा चरा जोगाउन संघ केन्द्रित हुनुपर्छ। पानीको मुद्दा पनि गम्भीर हुँदै गएकाले सिमसार जोगाउन पनि गम्भीर भएर लाग्नुपर्ने देखिन्छ।”
पानीको स्रोतमाथिको मानवीय अतिक्रमण र विकास निर्माणका क्रियाकलापले चरा प्रजातिलाई जोखिम बढाइरहेको विज्ञहरूको भनाइ थियो। उनीहरूले जोखिम न्यूनीकरणका उपायलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक घन गुरुङले संरक्षणको मुद्दा पानीमा केन्द्रित हुनुपर्ने बताए। “सबैभन्दा पवित्र खोला हुनुपर्नेमा खोला नै सबैभन्दा प्रदूषित भइरहेको छ,” गुरुङले भने, “खोला स्वच्छ पार्दै पानीमा अन्य स्रोतलाई कसरी जोगाएर पानी रिचार्ज र रिटेन गर्ने भन्नेमा ध्यान दिनुपर्छ।”
चरा अध्ययनमा जीवन अर्पण गरेका ‘काजीदाइ’ का नामले चिनिने हरिशरण श्रेष्ठ लगायतको सक्रियतामा ४४ वर्षअघि ‘बर्ड वाचिङ क्लब’ गठन भएको थियो। शुरूमा क्लबमा सीमित समूह पछि गएर नेपाल पन्छी संरक्षण संघ बनेको हो। कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक श्याम बजिमयले चरा अवलोकनको कामलाई अघि बढाउने ‘काजीदाइ’ को स्मरण गरेका थिए । “आजको दिनमा हामी सबैले काजीलाई श्रद्धापूर्वक स्मरण गर्नुपर्छ,” बजिमयले भने।
बर्डलाइफ इन्टरन्याशनल एशिया प्रतिनिधि हुम गुरुङले राहदानी र भिसा विना क्षेत्रीय उडान गर्ने चरा प्रजातिको संरक्षणमा अन्तरदेशीय सहकार्य हुनुपर्ने बताए। भुटानले सारस संरक्षणमा गरेको उदाहरणीय कार्य नेपालका लागि पनि पाठ हुन सक्ने उनको भनाइ थियो।
बर्ड वाचिङ क्लबका शुरूआती दिनदेखि सक्रिय कर्ण शाक्यले कुनै पनि संस्था अपनत्वमा मात्र अघि बढ्ने भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेमा मात्र संरक्षण सफल हुन सक्ने बताए। चराहरूको वासस्थानका दृष्टिले नेपाल समृद्ध मुलुक भएको उल्लेख गर्दै शाक्यले चराहरू जीवित राष्ट्रिय सम्पदाको बताए।
कार्यक्रममा पन्छी संरक्षण संघकी निर्देशक इशाना थापाले संस्थाको कार्यप्रगति पेश गरेकी थिइन् भने संघका गिद्ध संरक्षण कार्यक्रमका संयोजक अंकितविलाश जोशीले नेपालका गिद्ध संरक्षणमा भएका कामको समीक्षा गर्दै आगामी दिनमा अपनाउनुपर्ने नीतिबारे पनि प्रस्तुति दिए।
कार्यक्रममा बर्डलाइफ इन्टरन्याशनलले प्रदान गर्ने ‘नेचर्स हिरो अवार्ड’ जाजरकोटका संरक्षण अभियन्ता गोविन्द सिंह र बर्दियाका राम शाहीलाई प्रदान गरिएको थियो। सिंह जाजरकोटको बारेकोट गाउँपालिकामा रहेर जिल्लाभर प्रकृति संरक्षणको काममा समर्पित छन् भने शाही बर्दियामा रहेको नेचर कन्जर्भेशन क्लब मार्फत संरक्षणमा सक्रिय छन्। त्यस्तै, पोखराको घाचोकमा रहेको गिद्ध संरक्षण तथा गौरक्षा संरक्षण समिति र बर्दिया नेचर कन्जर्भेशन क्लबलाई संघले सम्मानित गरिएको छ। दुवै संस्थाले एक-एक लाख नगद पनि पाएका छन्।
गिद्ध सम्बन्धी अध्ययन गर्ने दुई जना विद्यार्थीलाई संघले अनुसन्धान वृत्ति प्रदान गरेको छ। अनुसन्धान वृत्ति पाउनेमा वन विज्ञान अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत विनीता तिमिल्सिना र त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत सरू थापा पाण्डे छन्। उनीहरूले जनही ३० हजार प्राप्त गरेका छन्।