मृत्यु चिन्नु जीवनको कला
विना छनोट र विना प्रयासको जीवन जबसम्म हाम्रो वर्तमान बन्दैन, तबसम्म जीवन समस्या बन्छ।
गएको एक महीना गुप्तवास रहेकाले बाहिरको कुरा थाहा थिएन। त्यसबाट निस्किँदानिस्किँदै ट्वीटरको एक ‘मेसेज ग्रूप’ मा ‘मेन्सन’ गरिएको ‘मेसेज’ मा आँखा पुगे। केही दिनअघि एक पत्रकारले गरेको आत्महत्या र त्यसमाथि चलेको तर्क-वितर्क रहेछ। आत्महत्यालाई अपराध भनेर अर्का पत्रकारले गरेको ट्वीटमाथि बहस चलेको रहेछ।
त्यो ट्वीटमा धेरैजसोले गाली गर्दै प्रतिक्रिया दिएका रहेछन्। कसैले मृत्युमा यस्तो नकारात्मक विचार नराख्न र कसैले आत्महत्या रोग भएको भन्दै टिप्पणी नगर्न सुझाएका थिए। कसैले यसलाई जीवन वा मृत्यु छनोट गर्न पाउने अधिकार विरुद्धको अपराध भएको र यस्तो लेख्नेलाई मनोरोगीको संज्ञा दिएको देखिन्थ्यो।
के आत्महत्या अपराध या रोग हो? एक पल बढी बाँच्न करोडौं खर्चने र त्यसको मूल्यका लागि सबै थोक त्याग्न तयार हुने मान्छे मृत्यु रोज्न किन हतारिंदै छ? एक पटक त्याग्नैपर्ने शरीरलाई स्वाभाविक रूपले अन्त्य हुनदिनुभन्दा पहिल्यै मार्न मान्छे कसरी तयार हुन्छ? के जीवन समस्या र मृत्यु समाधान हो? आउनुहोस्, जीवन र मृत्युबारे चर्चा गरौं।
शुरूआतमा विश्वभर चर्चा पाएका केही आत्महत्याका घटना केलाऔं। त्यसो त पश्चिमा समाजमा नाम चलेका अनगिन्ती मान्छेले आत्महत्या रोजेका छन्। त्यसमा एक हुन्, मार्लिन मुनरो (१९२६-१९६२)। अमेरिकामा जन्मिएकी मनुरो नायिका, मोडल, गायिका मात्र होइन, उन्नाइसौं शताब्दीकी सबैभन्दा शक्तिशाली महिलामा पर्थिन्।
मनुरोकी आमाले उनलाई सडकमै जन्माएकी थिइन्। अनाथालयमा पालनपोषण गरिए पनि उनी ३६ वर्षमा संसारका धनाढ्यमा गनिन पुगिन्। त्यति वेला अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र मुनरोको प्रेम चर्चामा थियो। केनेडीले आफ्नो जन्मदिनमा मुनरोलाई गाउन बोलाएका थिए। एकदमै छोटो समयमा संसार हल्लाएकी मुनरोले ३६ वर्षको उमेरमै आत्महत्या गरिन्।
सन् १९२३ मा विश्वका सबैभन्दा धनी आठ जना एक समारोहमा भेला भएका थिए। त्यति वेला उनीहरूसँग अमेरिकी सरकारको भन्दा धेरै पैसा थियो भनिन्छ। तर, ती आठमध्ये अधिकांश धनाढ्यले २० वर्षको अन्तरालमा आत्महत्या गरे। बाँकीको पनि अस्वाभाविक मृत्यु भयो।
विश्व स्वास्थ्य संगठनका अनुसार, वर्षमा झण्डै सात लाख मानिसले आत्महत्या गर्छन्। अझ १५ देखि २९ वर्ष उमेरका युवाको मृत्युको चौथो कारणमा आत्महत्यालाई लिइएको छ। संसारको वर्षभरिको तथ्याङ्कलाई हेर्दा हरेक ४५ सेकेन्डमा एक जनाले आत्महत्या गर्छ। तत्काल यो रोकिने छाँट पनि देखिंदैन। आँकडा भन्छ- यो उच्च दरमा बढिरहेको छ।
यसमा अर्को आश्चर्यजनक तथ्य के छ भने सबैभन्दा बढी आत्महत्या दर यूरोपमा छ। सबैभन्दा कम आत्महत्या दर एन्टिगुवा र बर्मुडा जस्ता देशमा देखिएको छ। अझ अमेरिका, रसिया जस्ता देशमा त धेरैजसो युवा लागूपदार्थ सेवन गरेर पलपल नसामै बाँचिरहेको तथ्य छ। जुन मानव सभ्यताकै सबैभन्दा चुनौतीको विषय बनेको छ।
विकासले भौतिक जीवन त दिनदिनै सहज बनिरहेको छ, तर पनि धेरै युवा मृत्यु किन रोजिरहेका छन्? आखिर हामीले बोकेर हिंड्ने शरीर हामीबाट नै कसरी हाम्रो नियन्त्रण बाहिर जान्छ?
मृत्यु रोज्न आतुर हुनुलाई विज्ञानले कसरी हेर्छ? आधुनिक विज्ञानले जीवमा बाँच्ने उत्कण्ठा जगाउन या मृत्युको चाहना जगाउने काम ‘डोपामाइन’ नामको रसायनले गर्ने बताउँछ। अर्थात्, यही रसायन उत्पादन हुन छोड्नु वा उत्पादन हुनुले मान्छे कुन अवस्थामा छ भन्ने निर्धारण गर्छ। विज्ञान भन्छ- मीठो लागेको चिज खाए या खुशी लाग्ने काम गरे मस्तिष्कमा ‘डोपामाइन’ हर्मोन उत्पादन हुन्छ।
यसले अर्को तहमा गएर ‘सेरेटोनिन’ नामको रसायन बनाउँछ, अनि मान्छे शान्त र आनन्द महसूस गर्छ। मानिस खुशी हुने, दुःखी हुने, निराश हुने या धेरै उत्साहित हुने, प्रतीक्षा या हतास सबै कुरा यही ‘डोपामाइन’ र ‘सेरेटोनिन’ रसायन मार्फत हुन्छ। यस्ता रसायन उत्पादन हुन छोडेपछि मान्छेलाई कुनै कुराले पनि खुशी दिंदैन र मान्छे आत्महत्यासम्म गर्न पग्छ भन्ने विज्ञहरूको तर्क छ।
वैज्ञानिक अध्ययन ‘सेरेटोनिन’ रसायन उत्पादन गर्न मानिस खुशी रहनुपर्ने बताउँछ। केही कुरामा खुशी नै हुन नसक्ने मान्छेले के गर्ने त? यसको ठ्याक्कै जवाफ विज्ञानसँग पनि छैन। यस्ता आन्तरिक धेरै कुराको समाधान विज्ञानसँग छैन।
मन आफैं कसरी खुशी हुन्छ त? यसबारे विज्ञानले ठ्याक्कै भनेको छैन। विज्ञानले भौतिक चिजको अध्ययन गर्छ, त्यसैले औषधि खान सुझाउँछ।
पश्चिमा सभ्यताले भौतिक (विज्ञान)को आधारमा जीवनको परिभाषा गर्नुअघि पूर्वीय सभ्यताले स्वप्न, सुषुप्तिदेखि तुरीय अवस्थासम्म पुगेर जीवनलाई हेरेको देखिन्छ। जहाँ भौतिक पदार्थभन्दा आन्तरिक सञ्चालकको गहिरो अध्ययन छ। यसले जिउने उत्कण्ठालाई जीवैषणा र मृत्युप्रतिको चाहनालाई मृत्येषणा भन्ने गरेको छ। जीवैषणा र मृत्येषणा भौतिक शरीरमा नभएर मानसिक र आत्मिक शरीरमा हुने भएकाले यसको समाधान पनि भौतिक शरीरमा नभएको जनाउँछ। किनकि, भौतिक शरीर देखिने शरीर भए पनि यो सूक्ष्म रूपमा मनबाट नियन्त्रित हुन्छ।
बाहिरबाट देख्न नसकिने सूक्ष्म शरीर (मन) र त्योभन्दा सूक्ष्म अर्को ऊर्जा शरीरबाट भौतिक शरीर डोरिएको हुन्छ। मतलब हामीले लिएर हिंडिरहेको शरीर भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीर गरी तीन शरीर मिलेर बनेको हुन्छ। जसलाई सूक्ष्म, स्थूल र कारण शरीर पनि भनिन्छ। जुन कुराको व्याख्या जागृत, तेजस र प्रज्ञाका रूपमा माण्डूक्योपनिषद् (तेस्रो श्लोक)मा गरिएको छ ।
यी तीन थरी शरीरलाई यिनले लिने आहारको प्रकारबाट पनि छुट्याउन सकिन्छ। जस्तो- भौतिक शरीरको आहार भोजन हो भने मानसिक शरीरकोे आहार विचार हो। जसरी भौतिक शरीरको आहार स्वस्थ र अस्वस्थ हुन्छ, त्यसको असर शरीरमा पर्छ। त्यस्तै, सूक्ष्म शरीरको आहार विचार भएकाले विचार पनि स्वस्थ र अस्वस्थ हुन्छ। त्यो भनेको सकारात्मक र नकारात्मक विचार हो।
अनि ऊर्जा शरीरको आहार भाव हो। र, यो भाव पनि करुणा, दया, प्रेम, घृणा, निन्दा, विषाद जस्ता सकारात्मक र नकारात्मक खालका हुन्छन्। कस्तो भाव हामीमा तयार भयो भन्ने आधारमा आशा र निराशाको बीजारोपण हुन्छ। त्यही भावका कारण मान्छे जीवैषणा या मृत्येषणाको बाटोमा हिंड्न तयार हुन्छ।
यी तीनै शरीर एकअर्कामा बन्धित छन्। हामी जस्तो खाना खान्छौं, त्यसका आधारमा विचार, प्रेम, करुणा, विनम्रता, घृणा, विषाद उत्पन्न हुन्छ। खानाले कसरी विचार निर्माण गर्छ भनेर आहार योग (अध्याय दुई, खण्ड दुई, पृष्ठः १४९-१५१)मा व्याख्या छ। खानाको कारण अहङ्कार, हिंसा, चोरी, घृणा, विषाद, प्रेम, करुणा जस्ता भाव तयार हुने कुरा महसूस नै गर्न सक्छौं। त्यसैले पनि सन्तहरूले स्वस्थ खानामा जोड दिएका छन्। यसको व्याख्या श्रीमद्भगवद् गीता (सत्रौं अध्याय)मा पनि छ ।
शारीरिक, मानसिक र ऊर्जा शरीरमा सञ्चार हुने कुरा शब्दबाट देखाउन सकिन्न। यहाँ ऊर्जाको एक सञ्जाल तयार हुन्छ, जो एक ऊर्जाबाट अर्को ऊर्जामा परिवर्तित हुन्छ। जस्तो- एउटा स्वीच थिच्दा कतै रेडियो बज्छ, कतै बल्ब बल्छ त कतै भिडिओ देख्न सकिन्छ। ऊर्जा एउटै हुन्छ, त्यसको प्रकटीकरण चाहिं फरक हुन्छ। हामीले विचारको माध्यमबाट के आहार भित्र पठायौं, त्यही आधारमा ऊर्जा तयार हुन्छ।
भोजनले विचारमा प्रभाव पारेको हुन्छ। त्यसरी पैदा भएको विचारले ऊर्जालाई प्रभाव पार्छ। यदि सात्विक भोजन भयो र त्यसले सकारात्मक विचार पैदा भयो भने सकारात्मक ऊर्जा विकास हुन्छ र नकरात्मक विचार आउन रोकिन्छ। अनि भाव पनि प्रेम र करुणाको हुन्छ। जसरी मालिक आउँदा नोकर चूप रहन्छ र आज्ञाको प्रतीक्षा गर्छ, त्यसरी नै सकारात्मक ऊर्जा सशक्त भएपछि निराशा, विषाद, घृणा, ईर्ष्या आफैं हराएर जान्छ। अनि मन पनि शान्त हुन्छ।
मन शान्त भएपछि ऊर्जा शरीरको पारो माथि चढ्छ। त्यो नै शक्तिको उँचो बिन्दु हो। यो नै स्वर्गीय महसूस हो। यही सूक्ष्म कुराको अध्ययन गरेर नै सन्तहरूले मान्छेको आन्तरिक ऊर्जा सशक्त बनाउन अनेक संस्कृति तयार गरेका थिए। त्यसैले मद उत्पन्न हुने भोजन, जसले धेरै सेवन गर्छ, उसले आत्महत्यामा बल गर्नुको कारण मानिन्छ।
हाम्रा संस्कृति मान्छेमा घृणा, निन्दा उत्पन्न हुन नदिन आन्तरिक ऊर्जा जागरणमा केन्द्रित थिए। जसले जन्मनु नै मृत्युको तयारी भन्ने कुरा ज्ञात गराउँछ। त्यसले कृतज्ञताको संस्कार सिकाएको थियो। जसले श्रद्धा, समर्पण हुँदै समभाव (सबैलाई एकै देख्ने दृष्टि) तयार गर्थ्यो। जस्तै- बिहान उठ्ने बित्तिकै नुहाउनु (शरीरलाई बिहानै सक्रिय बनाउने) अनि नजिकैको वरपीपलमा गएर पानी चढाउनु (प्राणीजगत्कोे बराबर सम्मान गर्ने)। सूर्यलाई जल या अर्घ चढाउनु। यो भनेको ब्रह्माण्डीय शक्तिप्रति कृतज्ञ हुनु हो।
तामाको भाँडामा राखेको पानी (जसले पेटको अम्लीयपन मारिदिन्छ) र कुश जस्तो शरीरमा ‘करक्युमेन’ (क्यान्सर जस्तो रोग विरुद्ध लड्ने र नयाँ कोष तयार गर्ने) तयार गर्ने जडीबुटीको पानी पिउने चलन हाम्रो संस्कृतिमा छ। अनि गायत्री र अन्य मन्त्रोच्चारण गरेर बिहान उठ्दाउठ्दै शारीरिक मात्र हैन, मानसिक शरीरलाई सकारात्मक बनाएर ऊर्जा शरीर जागरुक बनाइन्थ्यो।
मन्त्रोच्चारणले मन कसरी सकारात्मक विचार लिने हुन्छ भन्ने प्रश्न आउन सक्छ। मन्त्रको अर्थ मनले आलम्बन गर्नु हो। बारम्बार मनमा तिनै कुरा अवलम्बन भएपछि त्यसले गहिरो बोधमा अभ्यस्त गराउँछ। त्यो अवचेतन मनमा गएर बस्छ र स्वचालित रूपमा त्यसले काम गर्न थाल्छ। यसरी हरेक बिहानै मन्त्र पुनरुक्ति (दोहोर्याएर) अवचेतन मनमा पुर्याउने कार्यलाई यौगिक भाषामा योगतन्द्रा भनिन्छ। आफूलाई आफैंले योगतन्द्रामा पुर्याएर सत्यको नजिक पुग्ने पूर्वीय दर्शनका खोजकर्ताहरूको एक उत्कृष्ट खोज नै ॐ ध्वनि हो। जसको व्याख्या माण्डूक्योपनिषद् (पहिलो श्लोक)मा गरिएको छ ।
यस्ता नित्य कर्मबाट मानसिक र ऊर्जा शरीरमा कसरी काम गर्छ भन्ने पनि प्रश्न उठ्न सक्छ। यसले मान्छेमा पहिले महसूस पैदा गर्छ। महसूसले चाहना जन्माउँछ। चाहनाले विचार बनाउँछ, अनि विचारले अभिव्यक्त गर्ने बाटो तय गर्छ। महसूस नै नकारात्मक बीजबाट हुन्छ भने अभिव्यक्ति पनि नकारात्मक नै हुन्छ। हाम्रा नित्य कर्ममा हुने योगतन्द्रा सबै सकारात्मक बीज तयार गर्नमा केन्द्रित छन्।
अनि हरबिहान श्रद्धा, सद्भाव, समर्पण र दानबाट शुरू हुँदा मान्छेमा सकारात्मक विचार बीजारोपण हुन्छ। त्यसको परिणाम पनि सकारात्मक हुने नै भयो। जस्तै- हाम्रोमा खाना खानुअघि अप्सानी हाल्ने, खाना पहिला चरा या कुकुरका लागि चढाउने र तयार भएको चिजको लागि धन्य हुँदै खाने संस्कृति छ (अथर्व वेद ७,२६,६)। जसले हामीलाई सधैं विनम्र रहन, प्रेमिल, करुणाले भरिपूर्ण, श्रद्धाले झुक्न सिकाउँछ। जसबाट अहङ्कार हराउँछ र धीरज उत्पन्न हुन्छ। तर, आज अरूको नक्कल गर्दागर्दै यी सबै कुरा भुल्यौं र बिस्तारै हामीमा आन्तरिक ऊर्जा क्षयीकरण हुँदै गयो।
भनिन्छ- विना भोजन मान्छे ४० दिन बाँच्न सक्छ। विना पानी तीन दिन, विना श्वास आठ मिनेट अनि विना आशा एक मिनेट पनि रहन सक्दैन। यसको मतलब पूर्वीय खोज सबै जीवन ऊर्जा (आशा) सशक्त बनाउनमा केन्द्रित थिए। जसले आन्तरिक ऊर्जाको क्षयीकरण हुन दिंदैनथ्यो।
अहिले ढिलो भए पनि यस्तो योगतन्द्राको प्रयोग पश्चिममा जबर्जस्त ल्याइएको छ। मन्त्रोच्चारणको पुनरोक्तिको प्रभावकै बाटो पहिल्याउँदै पश्चिमा मनोवैज्ञानिक एमिले क्वे (सन् १८५७-१९२६)ले पनि पुनरोक्तिबाटै लाखौं मान्छेको उपचार गरेका थिए। जसलाई उनले ‘हिप्नोटाइज’ भनेका थिए।
उनी बिरामीलाई योगतन्द्रामा लैजान्थे (हिप्नोटाइज गर्थे) र म सन्चो छु भनेर हजार पटक दोहोर्याउन लगाउँथे। यसरी हजार पटक सन्चो छु भन्दै उठेको बिरामीको अवचेतन मनमा यही कुरा पुगेर शरीरले पनि त्यही अनुसार काम गर्न थाल्ने र रोगी सन्चो हुने गर्थे।
हामी कुदिरहेका छौं- कमाउन, जानकार हुन, सबैभन्दा माथि जीवन बनाउन, पद पाउन। आज विकास भएको भौतिक सुखले मान्छेका धेरै समस्या सहज बनाइदिएको छ। पैसा छ। परिवार छ। जागीर छ। चाहिएका कुरा सबै छन्। तर, के यी सबै पाएर सुखी छौं त? छैनौं। उल्टो विषादले घेरिएका छौं।
लियो बबुटाले द पावर अफ लेस पुस्तक मार्फत नयाँ पुस्तामा यही कुरा लिएर आएका छन्। उनले पदबाट नभएर त्याग, प्रेम र प्रार्थनाबाट आनन्दमा पुगिने कुरालाई जोडदार रूपमा उठाएका छन्।
अहिलेको पुस्ता अधिकभन्दा अधिक सूचना सङ्कलन गरेर आफू जति जान्ने कोही छैन भनेर बसेको छ। अधिक र अनावश्यक सूचना नै आजको समस्या हो। जसले स्फुरण रोकिदिन्छ र प्रेम तथा मैत्रीकोे ठाउँमा वैर, करुणाको ठाउँमा क्रूरता र हिंसा, प्रमोदिताको ठाउँमा उदासी र सन्ताप जन्माइदिन्छ।
अति सूचनाले मान्छे थिचिएको हुन्छ। बाहिरबाट हेर्दा हामी कति खुशी छौं, तर भित्र भित्र अरूलाई मात्र हैन, आफैंलाई मार्न उद्यत छौं। त्यसैले भन्न सकिन्छ- मान्छे जिएको छैन, मात्र अहङ्कारको जुवामा उनिएर बाँचिरहेको छ। आफ्नै स्वभावमा बाँच्नु मात्र जीवन हो भन्ने हामीले भुलिसक्यौं। यो कुरा नै हाम्रा पूर्वीय संस्कृतिको सार हो। यस्तो मान्छे तयार गर्न हाम्रा स्कूलहरू अहिले सक्षम छैनन्।
विना छनोट र विना प्रयासको जीवन जबसम्म हाम्रो वर्तमान बन्दैन, तबसम्म जीवन समस्या बन्छ। त्यसैले जीवनबाट भाग्न होइन, जाग्न सिकौं। यो जीवन त्यस ब्रह्माण्डीय शक्तिको पुरस्कार हो भन्ने जानेर जीवनको हरेक पलसँग धन्यभागी होऔं। जीवन त्यसै उल्लासमय बन्छ।