सरकार गठनका लागि सबै विकल्प खुला राख्ने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महराले भने, “अहिले गठबन्धन छोड्ने निर्णय गरेका छैनौं, तर सरकार गठनका लागि अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय गरेका छौं।”
माओवादीले नेकपा (एमाले)सँग मिलेर सरकार गठन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ। यस सम्बन्धी सोधिएको प्रश्नमा प्रवक्ता महराले भने, “सबै विकल्प खुला छ। तर, पुरानो गठबन्धनलाई छोड्ने वा तोड्ने निर्णय गरेका छैनौं।”
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको थियो। बैठकमा चुनावको समीक्षा गरिएको प्रवक्ता महराले बताए। चुनावी परिणामका विषयमा बोल्दै महराले भने, “अपेक्षा गरे जस्तो संघमा सफलता हासिल गर्न सकिएन भन्ने भयो। सबै परिणाम आएपछि समग्रमा समीक्षा गर्छौं।”
माओवादीले प्रतिनिधि सभामा १७ सीट जितेको छ भने दोलखामा अग्रता लिइरहेको छ। पुनः चुनाव भएका कारण दोलखामा निर्वाचन परिणाम आउन ढिलाइ भएको हो।
त्यस्तै, समानुपातिकतर्फ माओवादी तेस्रो स्थानमा छ। अहिलेसम्म एक करोड चार लाख १५ हजार ३६० मत गणना हुँदा माओवादीले ११ लाख ६१ हजार ९९२ मत पाएको छ।