कतार विश्वकपका अनपेक्षित हार
फिफा विश्वकप-२०२२ काे लिग चरणमा बलिया मानिएका टोलीले अनपेक्षित हार बेहोरेका छन्।
आठ समूहमा रहेका ३२ टोलीमध्ये समूह ‘ए’ को आयोजक कतार बाहेक अन्य तीनै टोलीलाई दोस्रो चरणको दाबेदार मानिएको थियो। यो समूहबाट इक्वेडर र कतार समूह चरणबाट बाहिरिएका छन्। नेदरल्यान्ड्स र सेनेगल दोस्रो चरणमा पुगेका छन्।
समूह ‘बी’ मा रहेको इङ्ल्यान्ड र वेल्सलाई बलियो टोलीका रूपमा लिइएको थियो। इरान र इङ्ल्यान्डसँगै पराजित हुँदै ग्यारेथ बेलको वेल्स समूह चरणबाटै बाहिरियाे।
त्यस्तै, समूह ‘सी’ मा रहेको उपाधिको दाबेदार अर्जेन्टिनाले पनि हारको स्वाद चाख्नुपर्यो। लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई साउदी अरबले पराजित गरेको थियो।
विश्वकपको अर्को दाबेदार टोली फ्रान्सले पनि समूह चरणमा हार बेहोर्यो। समूह ‘डी’ को बलियो टोली मानिएको फ्रान्स ट्युनिसियासँग १-० गोल अन्तरले पराजित भएको थियो।
यस्तै, स्पेन र जर्मनीले पनि समूह ‘ई’ मा अनपेक्षित हार बेहोरे। जापानले स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्यो। जापानले नै जर्मनीलाई पनि २-१ गोल अन्तरले पराजित गर्यो। चार पटकको विश्वकप विजेता जर्मन टोली लिग चरणबाटै बाहिरियो।
जर्मनको जस्तै हालत भयो अर्को बलियो टोली बेल्जियमको पनि। क्यानाडा विरुद्ध जित र क्रोएसियासँग बराबरी खेलेको इडन हजार्ड र रोमेलु लुकाकुको बेल्जियम मोरोक्कोसँग हार बेहोर्दै समूह चरणबाटै बाहिरियो।
त्यस्तै, नेयमारको ब्राजिल पनि समूह चरणमा अपराजित रहन सकेन। गएराति भएको लिग चरणको अन्तिम खेलमा समूह ‘एफ’ को बलियो टोली ब्राजिल क्यामरुनसँग १-० गोल अन्तरले पराजित भयो।
समूह ‘एच’ मा बलियो मानिएका पोर्चुगल र उरुग्वेले पनि हारको स्वाद चाख्नुपर्यो। गएराति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै, घानालाई पराजित गरे पनि दक्षिण कोरियासँग बराबरी र पोर्चुगलसँग हार बेहोरेको लुइस सुवारेजको उरुग्वे समूह चरणबाटै बाहिरिएको छ।
आजबाट नकआउट चरणका खेल हुँदै छन्। आज राति ८ः४५ बजे पहिलो खेल नेदरल्यान्ड्स र अमेरिकाबीच हुँदै छ।