शहरको सिंगापुर मोडेल
‘पहिला भत्काऊ अनि बनाऊ’ सोचका कारण शहरी पूर्वाधार विकास र व्यवस्थापन खलबलिँदै आएको नेपालमा सिंगापुरको क्रमिक विकास योजनाको मोडल प्रभावकारी हुन सक्छ।
नेपालमा हुने गरेका विकास सम्बन्धी छलफलमा आदर्श नमूना ढाँचाको रूपमा प्रायशः एउटा नगर-राज्यबारे विशेष चर्चा गरिन्छ। दक्षिण-पूर्वी एशियाको सानो देश सिंगापुरमा गोर्खाली सिपाहीहरू पुगेयता त्यो देशको ‘सफलताको कथा’ ले हाम्रा राजनीतिक नेता, नीति निर्माता र सर्वसाधारणको मन र कल्पनामा डेरा जमाएको छ। यो आकर्षणको कारण बुझ्न कठिन छैन।
सिंगापुरले हासिल गरेको विकासको आर्थिक र मानवीय पूँजी दुवै कोणबाट प्रशंसा र अध्ययन गरिएकै विषय हो। हामीबीच एउटा आम धारणा सुनिन्छ- प्राकृतिक स्रोतमा उति धनी नरहेको एउटा सानो देश तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मार्न सक्छ भने नेपालले किन सक्दैन? यो महत्वाकांक्षालाई भविष्यका निम्ति साँचिएको सपना भन्न सकिन्छ।
सिंगापुरको सामाजिक-राजनीतिक इतिहास सरसर्ती हेर्दा भन्न सकिन्छ, त्यहाँको सफलताको कथा नेपालले मात्र होइन, कुनै पनि औसत विकासशील देशले अनुसरण गर्न सक्दैन। नेपाल न संसारको सबभन्दा व्यस्त सामुद्रिक व्यापार मार्गको चौबाटोमा पर्छ न सिंगापुर जस्तै नेपालमा प्रशासन चलाउने क्षेत्र सानो छ। संसारको कुल सामुद्रिक व्यापार पारवहनमध्ये ७० प्रतिशत सिंगापुर जलडमरुबाट हुने गरेको छ। सिंगापुर सिङ्गो देश (टापु वरपरका क्षेत्र सहित)को कुल शहरी क्षेत्रफल ५६६ वर्ग किलोमिटर छ। यो भनेको नेपालको पोखरा शहरभन्दा केही मात्र ठूलो हो। सरल शब्दमा भन्दा हाम्रो भूगोल र इतिहासले हामीलाई सिंगापुरले जस्तै विकासको फड्को मार्न दिँदैन।
यसको अर्थ सिंगापुर मोडलबाट सिक्नलायक केही पनि छैन भन्न खोजिएको होइन। सिंगापुरको शहरी योजनाका नीतिबाट हामी धेरै कुरा सिक्न सक्छौं। तर, सिंगापुरबाट खास सिक्न सक्ने कुराबारे हाम्रो सोच निकै साँघुरो छ। त्यहाँका पानी प्रशोधन परियोजनाभन्दा हाम्रा लागि त्यहाँका शक्तिशाली नेताहरू र मरिना बेका चम्किला टावर बढी आकर्षक लाग्छन्।
नेपालको सुन्दर भविष्यबारे विचार गर्दा सिंगापुर मोडलको सान्दर्भिकताबारे दुई व्यावहारिक शिक्षा लिन सकिन्छ। त्यसबारे क्रमशः चर्चा गरौं।
सफलताको सूत्र
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले शहरका विपन्न फूटपाथ व्यापारीहरूलाई हटाउने अभियान चलाएका छन्। लगभग उस्तै गरी आधुनिक सिंगापुरका जन्मदाता ली क्वान युले ५० वर्षअघि शहर व्यवस्थित गर्ने लक्ष्य पूरा गर्न फूटपाथ व्यापारीहरूलाई हटाउने कामलाई जायज ठहर्याएका थिए। अधिनायकवादी शैलीका भएर पनि लीले भने अव्यवस्थित फूटपाथ व्यापारको समस्या आज मेयर बालेनले अपनाएको तरीकाले समाधान गरेका थिएनन्। उनले समस्याको क्रमिक समाधान गर्ने शैली अपनाएका थिए।
सिंगापुरमा उतिवेला फूटपाथ व्यापारीहरूलाई हटाउँदा राष्ट्रिय पञ्जीकरण अभियान मार्फत सर्वेक्षण गरी सबै १८ हजार व्यापारीलाई अन्यत्र सार्ने गरी अनुमतिपत्र दिइएको थियो। मुख्य सडक किनार खुला गर्न फूटपाथ व्यापारलाई शहरको मुख्य सडकको पछाडि, रिक्त कार पार्किङ र खुला क्षेत्रमा अस्थायी स्टल बनाएर सारिएको थियो। व्यवस्थापनका यस्ता अस्थायी नीतिपछि सरकारले शहरभरि खाजा केन्द्रहरू बनायो। हरेक प्रमुख आवासीय र व्यापारिक क्षेत्रका लागि त्यस्ता केन्द्र कम्तीमा एउटा सुनिश्चित गरियो।
त्यसपछि मात्र फूटपाथ व्यापारीहरूलाई पुनःस्थापना गर्ने प्रयासमा सरकार गम्भीरताका साथ लाग्यो। हरेक व्यापारीलाई आफ्नै स्टल दिइयो। स्थानान्तरण गर्न बनाइएका स्टलको विकल्प नदिई कुनै पनि व्यापारीलाई हटाइएन। आज त्यही व्यवस्थित वितरण प्रणालीको कारण सिंगापुरमा गतिशील खाना संस्कृतिको विकास भएको छ। त्यस्ता खाजा केन्द्रहरूलाई सन् २०२० मा युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको थियो।
विस्थापनअघि विकल्प बनाउने र विकासको क्रमिक योजना अवलम्बन गर्ने उक्त नीति नै सिंगापुरको शहरी सफलताको आधार हो। विस्थापन गर्नुपर्ने कुनै सार्वजनिक परियोजनामा यस्तै नीति अपनाइयो। शुरूमा प्रभावित हुने मानिसबारे सर्वेक्षण गरियो र स्थानान्तरण थाल्नुअघि वैकल्पिक बन्दोबस्त तयार गरियो। उदाहरणका लागि, धेरै परिवार बस्ने कुनै घर खाली गर्नुअघि सबै परिवारलाई कोठा पुग्ने उपयुक्त आकारका अपार्टमेन्ट बनाइयो। सबै परिवार अटाउने अपार्टमेन्ट उपलब्ध छैन भने नजिकै धेरै वटा अपार्टमेन्टको बन्दोबस्त गरियो। विस्थापनमा परेका व्यापारीहरूलाई पसल-कबल तथा उद्योगीहरूलाई ठाउँ भाडामा दिइयो। कुनै समुदाय विस्थापन हुने अवस्थामा सम्भव भएसम्म तिनको मौलिक सामाजिक स्वरूपको संरक्षण गरियो।
यस्तो प्रभावकारी नीतिको कार्यान्वयनबाट सरकारका पूर्वाधार परियोजनाप्रति जनताको विश्वास बढ्न पुग्यो। नेपालका नीति निर्माताहरूको ‘पहिला भत्काऊ, अनि बनाऊ’ मानसिकताबाट त्यस्तो जनविश्वास पाउन कदापि सम्भव छैन। सिंगापुरको शैलीले सार्वजनिक पूर्वाधार परियोजना नागरिकको निकै कम प्रतिरोधबीच सम्पन्न हुन्छन्, जसले सरकारलाई थप प्रभावकारी ढङ्गले काम गर्न सक्षम बनाउँछ।
सबैभन्दा पहिले नीति
सिंगापुरको शहरी योजनाबारे कुरा गर्ने जोकसैले त्यहाँको जग्गा अधिग्रहण, सार्वजनिक आवासीय क्षेत्र र चम्किला व्यापारिक क्षेत्र जस्ता बृहत् पूर्वाधार परियोजनातर्फ सङ्केत गर्छन्। निकै थोरै मानिसले मात्र बुझ्छन्- यस्ता परियोजना रातारात बनेका थिएनन्, सामाजिक अवस्थामा परिवर्तनसँगै क्रमिक योजनाबाट ती बनेका हुन्।
सिंगापुरको सार्वजनिक आवासको उदाहरण हेरौं। ९० प्रतिशत मानिसलाई घरको स्वामित्व दिलाउन सफल यो आवास योजना संसारभर विख्यात छ। चीनका आधुनिक निर्माता तङस्याओ फिङदेखि इन्डोनेशियाका शहरी योजनाकारहरू लगायत धेरैले सिंगापुरको आवास विकासको ढाँचामा बृहत् सार्वजनिक आवास क्षेत्रका आआफ्नै संस्करण बनाउने प्रयास गरे। तर, उनीहरू सफल भएनन्, अथवा तिनले बनाएका आवास क्षेत्रहरू केवल धनीहरूको ‘गेटभित्रको समुदाय’ मा परिणत भए। अधिकांश ती योजनाको असफलता एउटा तथ्य नबुझ्नुको परिणाम हो। सिंगापुरमा धेरै नागरिकले त्यस्ता आवास किन्न सक्ने भएपछि मात्र आवास योजनालाई व्यापकता दिइएका कारण यो नीति सफल भएको हो।
सिंगापुरको सार्वजनिक आवास कार्यक्रमको शुरूआत अवैध रूपमा बसोबास गर्दै आएका सबभन्दा गरीब नागरिकका लागि सहुलियत दरमा घर भाडामा दिने व्यवस्थाबाट भएको थियो। त्यसपछि राष्ट्रिय स्तरमा अनिवार्य बचत कार्यक्रम (केन्द्रीय सञ्चय कोष) लागू गरियो, जसले नागरिकलाई नयाँ घर किन्न सक्ने बचत सुनिश्चित गर्यो। त्यसपछि मात्र राष्ट्रिय आवास कार्यक्रम कार्यान्वयनमा ल्याइयो। नागरिक आफ्नो बचतबाट सहुलियत दरमा घर किन्न सक्ने भए। आवास ऋणको ब्याजदर ज्यादै न्यून तोकियो। सिंगापुरका अधिकांश जनताले आवास ऋण लिए बापत ०.१ प्रतिशत मात्र ब्याज तिर्छन्।
सरकारले ‘स्मार्ट सिटी’ जस्ता आकाशको जून झार्ने सपना देख्नुभन्दा आफ्ना जनतालाई अनुकूल हुने खालका नीति निर्माणमा जोड दिनुपर्छ। सिंगापुरमा शुरूमा सेन्ट्रल बिजनेश डिस्ट्रिक्टका अग्ला टावर बनाइएको थिएन, बरु विपन्न नागरिकहरूलाई भरथेग पुग्ने नीति निर्माण गरिएको थियो। नेपालका हरेक शहरी नीति निर्माताले आत्मसात् गर्नुपर्ने पाठ यही हो। हाम्रा अधिकांश शहरमा व्यवस्थित ढल निकासको बन्दोबस्त समेत नभएको स्थितिमा कसैले पनि किन्न नसक्ने घर मात्र बनाउनुको के अर्थ?
(अधिकारी सिंगापुरस्थित यस-एनयूएस कलेजकी अर्थशास्त्र र शहरी अध्ययन विषयकी विद्यार्थी हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)
कभर स्टोरी सहित थप सामग्री: