बाजुरा र स्याङ्जामा कांग्रेस तथा दोलखामा माओवादीको अग्रता, कसको कति मत?
बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले अग्रता लिएका छन्।
शनिबार बिहानसम्मको मतगणनामा बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरूआतदेखि नै अग्रता लिएका छन्। उनले ११ हजार ७६ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जंगीलाल गिरीले २२ मत पाएका छन्।
त्यस्तै, स्याङ्जा-२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढाउँदै लगेका छन्। उनले २२ हजार ४८० मत पाएका छन्।
प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार २३८ मत पाएका छन्।
दोलखामा भने नेकपा (माओवादी केन्द्र) र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। माओवादी उम्मेदवार गंगा कार्कीले सात हजार ९९५ मत पाएका छन् भने एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले सात हजार २९५ मत पाएका छन्।
यो क्षेत्रमा अन्य पार्टी र स्वतन्त्र उम्मेदवार भने धेरै पछाडि छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ३५ मत पाएका छन्।