दोलखा, स्याङ्जा र बाजुरामा गठबन्धनकै अग्रता, कसको कति मत?
प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी रहेका दोलखा, स्याङ्जा-२ र बाजुरामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्।
प्रतिनिधि सभाका १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। विवादका कारण पुनःमतदान भएको दोलखा तथा मतगणना रोकिएको स्याङ्जा-२ र बाजुरामा दुई दिनदेखि मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार शुक्रबार साँझसम्म भएको गणनामा तीनै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। दोलखामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले पाँच हजार ४१६ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले तीन हजार ८८९ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले १३५ मत पाएका छन्।
त्यस्तै, स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। गुरुङले १६ हजार ५३८ मत पाएका छन् भने एमाले उम्मेदवार पद्मा अर्यालले १४ हजार २२३ मत पाएकी छन्। यहाँ पनि तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार १६४ मत पाएका छन्।
बाजुरामा भने आज बिहान पनि विवाद भएको थियो। शुक्रबार साँझबाट शुचारू भएको मतगणनामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। पाण्डेले ६ हजार ५३५ मत पाएका छन् भने एमालेका कर्णबहादुर थापाले चार हजार ४२१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले २२ मत पाएका छन्।