तुवाँलो रोक्न कूटनीति
हिमालको हिउँ र बरफ यही गतिमा घट्दै गए नेपालको पर्यटनमा कस्तो असर पर्छ? तुवाँलोको कारण केही दिन मात्र हिमाल खुल्ने हो भने पर्यटक कसरी आकर्षित होलान्?
सदियौंदेखिको मौसमी प्रक्रिया थियो- हिउँदको जाडो सकिएपछि र बर्खा लाग्नुअघि वैशाख-जेठको तुवाँलो। केही दशकयता भने यो प्रक्रियामा गडबडी आएर बर्खाका तीन-चार महीना बाहेक तुवाँलो रहित छ्याङ्ङ दिन विरलै देख्न पाइन्छ।
बर्खामा पूर्वेली हावाले बङ्गालको खाडीबाट बादल नेपालतर्फ धकेल्छ, र परेको पानीले वायुमण्डल धोइदिन्छ। बाँकी आठ-नौ महीना हावा अधिकतर पश्चिमबाट बग्छ भने त्यतातिरको धुवाँधूलो हामीतिर ल्याइदिन्छ। आधा शताब्दीअघिसम्म उत्तर भारत र पाकिस्तानको सिन्धु-जमुना-गङ्गा क्षेत्रमा सवारी साधन, उद्योग, इन्धन उत्पादन गर्ने कोइलाभट्टा त्यति थिएनन्। सिँचाइ नभएका कारण हिउँदे बालीका लागि ठुटाठाटी जलाउने र धुवाँधूलो उड्ने अवस्था पनि थिएन।
आज भने वायुमण्डल प्रदूषित गर्ने सबैखाले कार्य त्यतातिर तीव्र छ- पाकिस्तानको सिन्ध र पञ्जाब प्रान्त, भारतको पञ्जाब, हरियाणा, नयाँ दिल्ली क्षेत्र (‘एनसीआर’) तथा पश्चिम उत्तर प्रदेश सर्वत्र। जनघनत्व भएका र शहरीकरणको गति बढ्दै गएको यस क्षेत्रमा वायु प्रदूषणको मात्रा ठूलो छ। दशौं लाख सवारी साधनले बाल्ने खनिज इन्धन, बिजुली निकाल्न बनेका बडेमानका भट्टीहरूले ठूलो परिमाणमा खपत गर्ने ‘डर्टी कोल’ र उद्योग-कलकारखानाबाट निस्किने धुवाँले प्रदूषणमा योगदान गर्छन्। जुन हिउँदयाममा वायु प्रदूषण गराउने मुख्य कारक बनेको छ।
त्यही क्षेत्रमा आज ठूलो सिँचाइ नहरको सञ्जाल बनेको छ, र कृषि उत्पादन चुलिएको छ। धानको फसल काटेर गहुँ छर्न पाकिस्तानको पञ्जाबदेखि भारतको उत्तर प्रदेशसम्म खेतमा रहेको पराल तथा ठुटाहरू बाल्ने चलन छ। त्यसबाट थल र आकाश छोप्ने गरी धुवाँको मुस्लो उडेर दिल्लीको वायु प्रदूषण चिन्ताजनक अवस्थामा पुग्ने कुरा सञ्चार माध्यमद्वारा विश्वव्यापी भइसक्यो।
पश्चिमी हावाले उताबाट परालका खरानी सहित सबै धुवाँधूलो नेपालतर्फ ल्याइदिन्छ। नेपालका डाँडाकाँडा र मैदानलाई तुवाँलोले ढाक्छ। राजधानी उपत्यकामै उत्पादन हुने वायु प्रदूषण छँदै छ, त्यसमाथि आयातीत धुवाँधूलोले नागरिकको स्वास्थ्यमा पार्ने असर चर्चाको संवेदनशील विषय बन्नुपर्ने हो। तर, प्रदूषणले बृहत् वातावरण तथा पर्यटन अर्थतन्त्रमा पर्ने चोटबारे सूचना हुँदाहुँदै चर्चा शून्यप्रायः छ।
‘साउथएशियन ब्राउन क्लाउड’ नाम दिइएको धूलोधुवाँको मुस्लोको नेपाली जनजीवन र भूमण्डलमा असरबारे छलफल अत्यावश्यक भएको छ। नेपालका हिमनदी र हिमाली पाखामा धुवाँ बस्दा ‘एल्बिडो इफेक्ट’ का कारण घामको ताप धेरै सोसेर हिउँ र बरफ पग्लने क्रम तीव्र हुन्छ। तर, हिमाली क्षेत्रको हिमनदी खुम्चनु र हिउँ पग्लिनुको दोष केवल विश्वव्यापी जलवायु परिवर्तनलाई दिइन्छ। यो असरले हिमालबाट हिउँ गायब हुँदै छ, नदीनालामा पानी घट्दै छ र वर्षैभरि पानी रसाउने पहाडका मूल पनि सुक्ने क्रम जारी छ। हिमाल नाङ्गिने तथा पहाड र समथर मैदानमा पानी पुग्ने नदी सुक्दै जाने भयावह असरको चर्चा कमै छ।
पर्यटनमा धावा
‘सगरमाथाको देश’ भनेर चिनिने नेपालको पर्यटनको ठूलो हिस्सा हिमाल अवलोकन, हिमाल आरोहण र हिमाली भेगको पदयात्रामा आधारित छ। हिमालय दर्शनकै लागि यहाँ बर्सेनि लाखौं पर्यटक आउँछन्।
हिमालय शृङ्खला नेपाली पर्यटनको मियो हो। तर, हिमालको हिउँ र बरफ यही गतिमा घट्दै गए नेपालको पर्यटनमा कस्तो असर पर्छ? तुवाँलोको कारण केही दिन मात्र हिमाल खुल्ने हो भने पर्यटक कसरी आकर्षित होलान्?
सन् २०१४ मा सार्क सम्मेलनका क्रममा काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धुलिखेलबाट हिमालतर्फ आँखा लगाए। तर, तुवाँलोको कारण जुगल हिमशृङ्खला देखेनन्। कारण थियो, उत्तर भारत र पाकिस्तानबाट उडेर आएको धूलोधुवाँको मुस्लो। त्यो वेला मैले आउटलूक पत्रिकामा अंग्रेजीमा लेख लेखेको थिएँ, ‘किन प्रम मोदीले हिमाल देख्न पाएनन्?’
समयको अन्तरालमा आज आएर तुवाँलोको समस्या झनै विकराल बनेको छ। सुझाव छ: नेपालले आफ्नो पूरै कूटनीतिक बलबुता लगाएर भारत र पाकिस्तानसँग समन्वय गरी तुवाँलो घटाउन प्रयत्न गर्नुपर्छ।
(हिमालको २०७९ मंसीर अंकबाट।)