शहरको अर्थतन्त्र
शहर व्यवस्थित बनाउन मानिसहरूले गाउँमै उद्यम गर्न सक्ने र उत्पादित सामग्री सहजै शहर आइपुग्ने वातावरण बनाइनुपर्छ।
विसं २०७८ को जनगणना अनुसार नेपालका नागरिकमध्ये ६६ प्रतिशत शहरमा बस्छन्। यद्यपि, यसमा नगरपालिका घोषित क्षेत्रमा बस्ने सबैलाई शहरी जनसंख्या मानिएको छ। आधारभूत पूर्वाधार र जनघनत्वको सूचकाङ्कका आधारमा भने शहरमा बसोबास गर्नेको संख्या २० प्रतिशत आसपास मात्र छ।
अन्य एशियाली मुलुकको तुलनामा हामीकहाँ शहरीकरण न्यून देखिए पनि अबको ३० वर्षमा विश्वमै तीव्र शहरीकरण हुने मुलुकको सूचीमा नेपाल पर्ने प्रक्षेपण छ। त्यसैले अबका शहर कस्ता बनाउने भन्नेमा घनीभूत नीतिगत छलफल आवश्यक छ।
भौतिक पूर्वाधारको विकास शहर निर्माणको अनिवार्य शर्त हो। हामीकहाँ पूर्वाधारको विकास नै अपर्याप्त वा अव्यवस्थित रहेकाले बहस प्रायः त्यतै केन्द्रित पाइन्छ। तर, शहरको व्यवस्थापन भौतिक वस्तुको व्यवस्थापन मात्र होइन। शहर कंक्रिटको जङ्गल मात्र होइन, विविध पृष्ठभूमिबाट आएका जमातका अनगिन्ती चाहना, विश्वास र खोजीको समष्टि रूप पनि हो। यस्तो भावना नबोकी आएको नीतिले शहरको जटिलता आत्मसात् गर्न सक्दैन। भौतिक क्षेत्रको व्यवस्थापन र मानवीय भावना सम्बोधन गरे मात्र शहरको सौन्दर्य दिगो हुन्छ।
अपनत्वको आभास
नेपाल जस्तो बहुल समाजमा शहर चरित्रले नै बहुभाषी, बहुसांस्कृतिक हुन्छ। भूगोल अनुसार कुनै खास जातधर्मको बाहुल्य भए पनि विभिन्न पहिचानका मानिसको मिश्रण हुन्छ। आर्थिक, सामाजिक, धार्मिक, लैङ्गिक अल्पसंख्यकहरू त हुने नै भए। यी सबै वर्गले शहर आफ्नो पनि हो भन्न पाउँदा वा शहरको सामूहिक, समावेशी अपनत्व लिन पाउँदा सामाजिक सामञ्जस्यका आधारमा शहर सुन्दर बन्न सक्छ। जब ‘तेरो भन्दा बढी मेरो हो’ भन्ने भावना हावी हुन्छ, समाज असहिष्णु बन्दै जान्छ। त्यस्तो शहर सांस्कृतिक रूपले रङ्गीन अनि चारित्रिक रूपले विकसित हुन सक्दैन।
सहिष्णु र समावेशी हुँदाहुँदै पनि समाजमा आर्थिक असमानता निमिट्यान्न पार्न सकिँदैन। ग्रामीण भूभागबाट शहरतिर बसाइँसराइको मूल कारण गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी नहुनु हो। तर, सबैको एउटै स्तरको पहुँच हुँदैन। कसैले ठूलो पूँजी लगाएर आफ्नै व्यवसाय गर्न सक्ने ल्याकत राख्छ भने कसैले आम्दानीमूलक रोजगारी मात्र गर्न सक्छ। कसैले सानो पूँजी भए पनि ठूलो बजार देखेर शहरमा स्वरोजगारी खोजेको हुन्छ।
यी सबै तहका आर्थिक क्रियाकलाप गर्ने समूहलाई शहरले समेट्न सक्नुपर्छ। दैनिक ‘कर्पोरेट’ जागीरमा रहेकालाई सार्वजनिक यातायातको महत्त्व बढी होला भने सानो पूँजीमा उद्यम गर्न खोज्नेलाई ठाउँ व्यवस्थापन र सरकारी सुरक्षाको। यस्तोमा ‘पोलिसी टार्गेटिङ’ मार्फत वर्ग अनुसार फरक फरक खालका नीतिगत कार्यक्रम ल्याइनु उत्तम हुन्छ।
स्वभावैले शहरमा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुन्छ। अफ्रिकी र दक्षिणएशियाली मुलुकहरूमा ८० प्रतिशतभन्दा बढी रोजगारी अनौपचारिक क्षेत्रमा पाइन्छ। दिगो योजना अनौपचारिक अर्थतन्त्रलाई औपचारिकता दिनेतर्फ नै केन्द्रित हुनुपर्छ, तर त्यो एकै झट्कामा सम्भव हुँदैन। अनौपचारिक क्षेत्रबाट आउने आम्दानी, रोजगारी र आर्थिक क्रियाकलापले नै शहरलाई जीवन्त राख्ने हुन्। हठात् कुनै व्यवस्थापन विनाको नीति लाद्दा अप्रत्याशित परिणाम आउन सक्छ।
सामाजिक गतिशीलता
गाउँबाट बसाइँसराइ गर्ने मध्यम-निम्न मध्यम वर्गका मानिस बाँकी जीवन शहरमा भाडाको कोठामा बिताउने सोचमा आएका हुँदैनन्। उनीहरूले सामाजिक-आर्थिक श्रेणी चढ्ने, जीवनस्तर सुधार्ने सपना बोकेका हुन्छन्। प्रायः मानिस आफ्नो रोजीरोटीभन्दा पनि बालबच्चाको भविष्यका लागि शहर छिरेका हुन्छन्। यो वर्गलाई राज्य वा शहरी संरचनाले सहजीकरण गरिदिन सक्नुपर्छ।
यसको पहिलो आधार शिक्षा र स्वास्थ्य नै हो। विद्यालय र अस्पताल अन्य भेगको तुलनामा शहरमै बढी हुन्छन्। तर, महत्त्वपूर्ण पक्ष हो- सबै शहरवासीले गुणस्तरीय शिक्षा-स्वास्थ्यको पहुँच पाउने अवस्था छ÷छैन ? सबै काम सरकारले नै गर्नुपर्छ भन्ने होइन, निजी क्षेत्रको संलग्नता पनि आवश्यक हुन्छ। धेरै सेवादाता हुँदा प्रतिस्पर्धा बढेर ग्राहकले पनि छनोटका धेरै अवसर पाउँछन्। तर, गुणस्तर जाँच, शुल्क निर्धारण र वृद्धि जस्ता कुरामा सरकारले निगरानी गर्नुपर्छ। पर्याप्त सेवासुविधा नदिई चर्को मूल्य मात्र असुल्ने परिपाटीले शहरको मध्यम वर्गीय जीवनस्तर सुध्रँदैन।
शहरी जीवनमा समाजको विकास औपचारिक शिक्षाले मात्र हुने होइन। विकसित मुलुकका प्रायः शहरले कला, संस्कृति, खुला क्षेत्र र व्यायाम-खेलकूदलाई महत्त्व दिन्छन्। न्यूयोर्कमा दुई हजार ५०० भन्दा बढी पार्क छन् भने लन्डनमा ३ हजारभन्दा बढी। जर्मनीको बर्लिनमा त आधा भूभाग नै पार्कले ओगटेको बताइन्छ। यस्ता पार्कले शहरको पर्यावरण संरक्षण र प्रदूषण न्यूनीकरण मात्र होइन, सामाजिक अन्तर्संवाद पनि बढाउँछन्।
शारीरिक व्यायाम र सक्रियताका लागि प्रोत्साहन गर्छन्। घरको चार भित्तामा हुर्केको भन्दा पार्कमा खेल्दै हुर्केको बच्चाले समाजको विविधता आत्मसात् गर्ने सम्भावना बढी हुन्छ। त्यस्तै, संग्रहालय, सांस्कृतिक केन्द्रहरू, पुस्तकालय आदिले सबै उमेर-समूहलाई चिन्तन र अवलोकनमा संलग्न हुने वातावरण दिन्छन्। शहरको सौन्दर्य बढाउन गहन भूमिका खेल्छन्।
गाउँ-शहर सम्बन्ध
नेपालमा बसाइँसराइको प्रकृति हेर्दा शहरी र ग्रामीण विकासको पहल सँगै अगाडि बढाउन आवश्यक देखिन्छ। पहिलो त आन्तरिक बसाइँसराइको एउटा कारण रोजगारी र शिक्षाका लागि अस्थायी स्थानान्तरण हो। जनसंख्याको ठूलो हिस्साको स्थायी ‘घर’ शहर बाहिर हुन्छ। परिवारका सदस्य सबैले स्थायी बसोबास नछोडेको वर्ग अर्को हुन्छ। बाहिर गएर केही वर्षपछि गाउँघर नै फर्किन खोज्ने वर्ग अर्को होला। शहरमा अस्थायी बसोबास गर्नेको संख्या आकलन गर्न त चाडपर्वमा काठमाडौं वा अन्य ठूला शहर छाडेर ‘गाउँ’ जानेहरूको तथ्याङ्क हेर्दा हुन्छ।
अर्कातर्फ, कृषिमा आश्रित वर्ग समयक्रममा त्यो क्षेत्रबाट बाहिरिन्छ। कृषि क्षेत्रबाट बाहिरिएका सबै शहर केन्द्रित भए अस्वाभाविक चाप पर्न जान्छ। अव्यवस्थाका कारण शहर कुरूप त देखिन्छ नै, अरू जोखिम पनि आइपर्छन्। त्यस कारण शहर सुन्दर राख्न ग्रामीण विकासका योजना उत्तिकै अर्थपूर्ण हुन्छन्। यसमा दुई कुरा महत्त्वपूर्ण छन्। पहिलो, ग्रामीण भेगमै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्ने। दोस्रो, देशभरिका बजार र बस्ती जोड्ने भरपर्दो यातायात पूर्वाधार तयार गर्ने।
२०७२ सालको भूकम्पपछि नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा सन्तोषजनक काम भएका छन्। तर, सेवाको गुणस्तर बढाउन जनशक्ति निर्माण र विकासमा सरकारको ध्यान पुगेको देखिँदैन। शिक्षा र स्वास्थ्यको गुणस्तरीय विकास नहुँदाको प्रत्यक्ष चाप शहरमा पर्न जान्छ। ग्रामीण भूभागमा सीप, शिक्षायुक्त जनशक्ति नहुँदा उद्योग र सेवा विकास झनै शहरकेन्द्रित हुन थाल्छ।
बजार र बस्तीहरू जोड्ने भनेको उत्पादन र उपभोगमा सहजीकरणका लागि हो। जब कसैले गोरखाको गाउँमा तरकारी उत्पादन गरेर सहजै काठमाडौंमा ढुवानी गर्न सक्छ, उसले गाउँ छोड्नै पर्दैन। तनहुँँको गाउँमा उत्पादित दूध-घ्यू सजिलै पोखरा पुर्याउन सकिए शहरमा बसाइँ सर्नै पर्दैन। शहरमा अस्थायी बसोबास गर्ने जमातको पनि गाउँसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ।
स्थायी र अस्थायी बसोबासको बीचमा आवतजावत सहज गराइँदिदा गाउँमा परिवारले उत्पादन गरेको वस्तु शहरमा सोही परिवारको सदस्यले उपभोग गर्न पाउँछ। बाग्लुङमा किवी कुहिएर जाँदा चितवनमा युगान्डाबाट आएको किवी खानुपर्ने अवस्था हट्दै जान्छ। बाटोघाटो सहज भए ग्रामीण भेगमा उद्यम फस्टाउँछ। गाउँका मानिस गाउँमै बस्ने वातावरण बने शहर थप व्यवस्थित बनाउन सकिन्छ।
यसर्थ, शहरको विकास र सौन्दर्यलाई भौतिक पूर्वाधारको साँघुरो कसीमा हेरिनु हुँदैन। समावेशी, गतिशील र सिर्जनशील नीतिले शहरलाई जीवन्त बनाउन सहयोग पुर्याउँछ। शहरीकरणको तीव्रताबीच सम्भावित अस्तव्यस्त रोक्न ग्रामीण भेगको विकास र उत्थान अत्यावश्यक छ।
(रेग्मी विकास अर्थशास्त्री हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)
कभर स्टोरी सहित थप सामग्री: