दोलखामा माओवादी र स्याङ्जामा कांग्रेसको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तर्गत दोलखामा नेकपा (माओवादी केन्द्र) र स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
शुक्रबार अपराह्नसम्मको मतगणनाअनुसार, एउटै निर्वाचन क्षेत्र रहेको दोलखमा माओवादी उम्मेदवार गंगा कार्की दुई हजार मतले अगाडि छन्। कार्कीले पाँच हजार ३५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीले दुई हजार ९२८ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५, राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ५२, नेकपा (माले)का खिमबहादुर सिवाकोटीले २८ र जनता समाजवादी पार्टीका दावा शेर्पाले १७ मत पाएका छन्।
स्याङ्जा-२ मा पनि कांग्रेसका धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। गुरुङले १५ हजार ८०५ मत पाएका छन् भने एमाले उम्मेदवार पद्मा अर्यालले १३ हजार ५६७ मत पाएकी छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराम गुरुङले पाँच हजार ९५२, मंगोल नेशलन अर्गनाइजेशनका चोकबहादुर गुरुङले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले ३४२, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीले १०० र स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६ मत पाएका छन्।
बाजुरामा भने मतगणना रोकिएको छ। हिमाली गाउँपालिका-६ स्थित मतदान केन्द्रमा मुचुल्का बनाएको भन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको हो। मतगणना शुरू गर्ने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।