विद्यार्थीको प्रदर्शनमा सात राउन्ड हवाई फायर
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको छ। आज बिहानैदेखि शुरू भएको विद्यार्थीको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ।
मंसीर १५ गते ग्रेडरको ठक्करबाट धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत चेतना साउँदको मृत्यु भएको थियो। धनगढी–५ तारानगरकी साउँदलाई हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिएको थियो।
ग्रेडर चालकलाई कारबाही र विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए।
विद्यार्थीको विरोध बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका-१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी-४ रातोपुल, उत्तरमा धनगढी-५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी-१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
तर, विद्यार्थी भने निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका विद्यार्थीले टायर जलाएर सडक अवरुद्ध पारेका छन्।
प्रदर्शन रोक्न प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।