‘कमिला’ बस्ने शहर
भुइँमान्छेलाई विकासका बाधक देख्ने शहरले तिनका समस्या सुन्न-बुझ्नै चाहँदैन, सकेसम्म पन्छाउनै खोज्छ।
गीतकार गुलजार उम्दा उर्दू कवि पनि हुन्। कुनै वेला अमेरिकाको न्यूयोर्क घुम्न जाँदा शहरको ‘शान’ लाई व्यंग्य गर्दै उनले लेखेः
तिम्रो शहरमा ए साथी, किन कमिलाको घर छैन
कहीं कहीं देखिनँ मैले कमिला
भुइँमा चिनी पनि छरी हेरें
तर कमिला देखा परेन।
कवितामा कमिलाको विम्बका रूपमा गरीब, दलित, भूमिहीन, घरबारविहीनलाई देखाउन खोजिएको लख सजिलै काट्न सकिन्छ। तर, अमेरिकाका सन्दर्भमा कालो वर्णको हुनु, समलिङ्गी हुनु, आदिवासी-अप्रवासी हुनु भनेको ‘कमिला’ हुनु नै त हो। आधुनिक शहरको योजनाले बहिष्कृत बहुसंख्यकलाई अदृश्य पारिदिएको छ।
यस्तो कविता फुर्न गुलजारलाई किन न्यूयोर्क नै पुग्नुपर्यो, उनै जानून्। उनकै देश भारतको भूगोलभित्र यस्ता धेरै ‘मिनी-न्यूयोर्क’ छन्। अनि छन्, ‘शहरी योजना’ ले अदृश्य बनाएका ‘कमिलाहरू’ करोडौंको आँकडामा। अहिलेको भारतवर्षमा मुस्लिम हुनु, किसान हुनु, ‘स्लम-ड्वेलर’ हुनु वा ‘दलित’ हुनु भनेको कमिला हुनु नै त हो।
जनकपुरमा जानकी मन्दिरको ठीक पछाडि एउटा मस्जिद छ। मन्दिर र मस्जिदको डिजाइन करीब उस्तै छ। सन् १९११ मा भारतको टिकमगढकी महारानीले पठाएका कलाविद्ले जस्ता कारिन्दा लिएर आए, ती धेरैजसो मुस्लिम थिए रे। बिहान-बेलुका नमाज पढ्न तिनलाई मस्जिद चाहिने भो। अनि तिनै कलाविद्ले नक्शा कोरेपछि मन्दिरकै आडमा ठडियो, मस्जिद। तर, केही समय भयो, मस्जिद र मन्दिरबीच करीब ६ फिटको पर्खाल उभिएको छ। यसको कारण के होला?
अघिल्लो स्थानीय निर्वाचनमा हार खाएका जनकपुरका पूर्व मेयर लालकिशोर साहले केही ‘विरासत’ छाडेर गएका छन्- केशरिया रङ्गमा सजिँदै गइरहेका घर र भित्ताहरू, अग्लिँदै गइरहेका राम र हनुमान्का मूर्ति, बढ्दो भजनमण्डली र गङ्गा आरती आदि। यी घर, मूर्ति र स्मृतिहरूले भविष्यमा बदलिएको जनकपुरको कस्तो चित्र देखाउलान्?
‘पददलितहरू बोल्न सक्दैनन्। उनीहरूका लागि बोल्ने ठेक्का लिएका वर्चस्वशालीले पनि पददलितको भाषा बुझ्दैनन्।’
कतै मन्दिर र मस्जिदबीचको पर्खाल स्थानीय हिन्दू र मुसलमान समुदायबीचको अग्लिँदो विभेद पो हो कि? मस्जिदकै आडमा घर भएका, पहिले लामा दाह्री-जुँगा विरलै पाल्ने एक मुसलमान अभियन्ता अचेल दाह्री-जुँगा बेगर बाहिरै निस्कँदैनन्। ‘कमिला’ लाई आफू आफ्नै शहरमा हराउँदै गएको भान भएपछि पर्खालको उचाइसँगै बढेको त होइन, दाह्रीको लम्बाइ?
इटहरीको मूल बजारबाट केही किलोमिटर पूर्व लागेपछि वडा कार्यालयको ठ्याक्कै पछाडि करीब ३०० वर्ष पुरानो बस्ती छ, मुसहर समुदायको। केही समय भो, २०-२२ घरको बस्ती उठिबासको सन्त्रासमा छ। आफूहरूको बासै मासेर किन सडक बनाइँदै छ, मुसहरले बुझ्न सकेका छैनन्। उपमहानगरपालिका भन्छ, “थातथलो छोडेर अलि पर अर्को वडामा जाऊ, बासको बन्दोबस्ती छ।” तर, त्यो वडाका बहुसंख्यक यादवहरू छेउमा मुसहर आउनुलाई निको मान्दैनन्। त्यसो गर्नु बजारबाट झन टाढा जानु पनि हो। दैनिक श्रम बेचेर खाने मुसहरहरूलाई बजारबाट टाढिनु कमाइखाने भाँडो अझ् सानो हुनु हो।
बस्तीदेखि सय मिटर जति उत्तरमै छ, खाली जग्गा। उनीहरूलाई त्यहीं सारिदिए बसाइँ हिंडिरहनै पर्दैनथ्यो। तर, त्यहाँ कुनै बडेमानको रङ्गशाला बनाउने योजना चल्दै रहेछ। “खेलकूदभन्दा ठूलो जीवन होइन र?” मुसहरहरू भन्छन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्थानीयका समस्याको पहिचान गरी समाधान गर्नु वडाको जिम्मेवारी हो। तर, वडा भन्छ- मुसहरहरूलाई समस्याको पहिचान गर्नै आउँदैन, उनीहरू बोल्नै जान्दैनन्।
भारतीय मूलकी महिलावादी अध्येता गायत्री चक्रवर्ती स्पिभाक लिखित निबन्ध ‘क्यान द सबल्टर्न स्पीक?’ को तर्क छ- ‘पददलितहरू बोल्न सक्दैनन्। उनीहरूका लागि बोल्ने ठेक्का लिएका वर्चस्वशालीले पनि पददलितको भाषा बुझ्दैनन्।’ उक्त निबन्ध लेखिएको चार दशकपछि द्रुत गतिमा ‘विकास’ भइरहेको इटहरी नगरपालिकाको स्थानीय शासन शैलीले यो तर्कलाई अझै जीवित राखेको देखिन्छ।
अब उकालो लागौं। धनकुटा बजारदेखि निकै तल एउटा आठपरिया गाउँ छ। आदिवासी राई समुदायभित्र पनि आठपरियाहरू अलि बढी बहिष्करणमा परेको ठानिन्छ। संख्या पनि निकै थोरै। “पहिला पहिला बजारका मान्छेहरू हामीसँग बातै मार्दैनथे, नेवारहरू घर अगाडिको पेटीमा भारी बिसाउन समेत दिँदैनथे,” एक युवा नेता भन्छन्। गणतन्त्रपछि नगरपालिकाले आफूहरूलाई अलि चासो दिन थालेको ठान्छन् आठपरियाहरू।
नगरपालिका भने २०७२ सालमा स्थानीय निकायको पुनर्गठनसँगै आठपरिया गाउँ नगरपालिकामा समेटिएपछि उनीहरू स्वतः चासोको विषय बनेको औपचारिक धारणा राख्छ। तर, कुनै जाति चासोको विषय बन्नु र उसलाई लोकतान्त्रिक मूल्यमान्यता अनुरूप राज्य-समाज सम्बन्ध गहिर्याउने ‘आधार’ बनाउनु नितान्त बेग्लै कुरा हो। यहाँ पनि मुसहर बस्तीको जस्तै ‘बोल्ने’ र ‘बुझ्ने’ कुरा सान्दर्भिक हुन्छ। एक बजारबासी भन्छन्, “बल्ल हो, यिनीहरूको कुरा अलि अलि बुझ्न थालेको। आफ्नै भाषा मात्र बोल्छन् नत्र। नेपालीमा कुरा गर्न थालेको भर्खर भर्खर हो।”
लुम्बिनी विकास कोषको मातहत निर्माणाधीन साढे ११ बिघा क्षेत्रको ‘लुम्बिनी गार्डेन’ मा करीब चार दशकअघिसम्म १२ गाउँ थिए। धेरैजसो मुस्लिम समुदाय। सबैसँग भोगचलन गरेको जग्गाको पुर्जा थियो। “बुद्ध भगवान्को जन्म हाम्रै गाउँमा भएको ठहर भएपछि हामीले गाउँ नै छोड्न पर्यो,” अली थरका एक स्थानीय भन्छन्। त्यहाँका बासिन्दा अहिले वरिपरिकै गाउँमा छरिएका छन्।
‘मार्क्सले समाजवादको सम्भाव्यताको अध्ययन गर्दा जुन जातिलाई केन्द्रमा राख्नुपर्थ्यो, राखेनन्। उनले मानव जातिको सट्टा कमिलालाई केन्द्रमा राख्नुपर्थ्यो।’
राज्यले मुआब्जा दिएरै बिदा गरेको हो। तर, उवेला बिघाको दुई हजार पर्थ्यो रे, राज्यले दियो एक हजार। दुई बिघा हुनेहरू एक बिघा किनेर बस्न बाध्य भए। एक बिघा हुनेहरू १० कठ्ठामा झरे। गहुँ, धान, तोरी, आलु आदि फलाएर जीवन चलाउने किसानहरू अहिले कोही रिक्शा चलाउन बाध्य छन्, कोही सानोतिनो पसल थापेर बसेका छन्। कोही विकास कोषका जागीरे छन्, कोही त्यहींभित्र दैनिक ज्यालामजदूरी गरी पेट पाल्छन्। कसै कसैका शाखासन्तान अरबतिर लागे।
यो विवरणको उद्देश्य कुनै कालखण्डमा राज्यले समाजलाई कसरी शोषण गरेको थियो भन्ने भाष्य स्थापित गर्नु होइन। तर, बुद्धको पहिचान उभ्याउने क्रममा सयौं सामान्य परिवारको पहिचानको आधार मेटिएको अड्कल काट्न गाह्रो छैन। कसैको पहिचान मेटिनु अगाडि पहिचान देखिनु जरुरी हुन्छ। कुरा उही ‘कमिला’ को आउँछ। दैनिक जीवनका केकस्ता पाटा ‘पहिचान’ को श्रेणीमा उक्लिनलायक छन्, यो आफैंमा एउटा संवाद र निष्कर्षमा पुग्नुपर्ने विषय हो।
जसरी लुम्बिनीमा बुद्ध जन्मिए, त्यसरी नै अरू धेरै जन्मिए वरिपरि। हुर्किने-बढ्ने क्रममा जन्मभूमिसँग उनीहरूको पनि अन्योन्याश्रित सम्बन्ध गाँसिएकै हो। एक्कासि भूमिसँग अलग्गिनु अनि त्यो सम्बन्धलाई अलबिदा भन्नुपरेको यथार्थको कुनै ऐतिहासिक दस्तावेज नबने पनि घटना भएकै हो। यस्तोमा प्रश्न त उठ्छ नै- लुम्बिनीको कथा-गाथामा ‘कमिला’ को इतिहासले ठाउँ पाउने कि नपाउने? अनि पाउने/नपाउने निर्णय गर्ने कसले र किन?
लुम्बिनीभित्रको वर्तमान संसार अर्कै छ। केही संरचना, स्थल लोभलाग्दा छन्। बगैंचामा टहलिँदै एक जनाले सहयात्री मित्रलाई भनेको सुनियो, “स्वर्ग भनेको यही त होला।” विकास कोषले परिकल्पना गरे जसरी लुम्बिनी पर्यटक र तीर्थयात्रीका लागि विश्वस्तरीय गन्तव्य बन्ला/नबन्ला, समयलाई छाडिदिऔं। तर, चौतर्फी पर्खालले बेरिएको बगैंचाको भित्री साजसज्जा जति ‘स्वर्गीय’ देखिन्छ, त्यति नै दुःखदायी छ पर्खाल बाहिरको संसार। पर्खालसँगै गाँसिएर बसेको सडकपेटीले बोकेको लुम्बिनी विकासको पहिचान अर्कै छ। त्यहाँ यताउता गरीबी छरपस्टिएको प्रष्टै देखिन्छ। विकासको विम्ब लुम्बिनीले आफ्नै आँगन अगाडि बसेको गरीबी नदेख्ने विडम्बनाको यस्तो लर्को इतिहासभन्दा लामो छ।
कविताको अन्त्यतिर आउँदा गुलजार भन्छन्-
मेरो गाउँ साह्रै पिछडिएको छ
मेरो आँगनको ठूलो रूखमा बिहान
धेरै किसिमका चरा आउँछन्
ती नालायक, जहाँ खान्छन् दाना, त्यहीं बिष्टा छरेर जान्छन्।
यी हरफमा पनि शहरप्रति व्यंग्य लुकेको हुँदो हो। घर अगाडिको रूखमा बिहान पक्षीको बास हुन्छ। घरका मान्छे तिनलाई चारो छरिदिन्छन्। चराहरू त्यही टिप्छन्, बिस्ट्याउँछन् अनि सुत्छन् त्यही आँगनमा। सबैले सबैप्रति अपनत्व जनाउँछन्। प्रकृति-मानवको ‘पवित्र’ समाज। यी कुनै परस्पर सम्बन्धहरू यसरी चल्न-खेल्न नपाउने, रूखपात-खोलानालाको नामनिशान मेटिएको, पक्षीहरूले उहिल्यै अलबिदा भनिसकेको, संरचनात्मक र भावनात्मक दुवै हिसाबले ‘कंक्रिट जङ्गल’ बनेको शहरको तुलनामा गुलजारको त्यो गाउँ ‘पिछडिएको’ नहोस् त के होस्?
चरा त घर अगाडि, रूखमुनिको आँगन अलि साँघुरो भए साँध-सिमाना नभनी उडान भरेर अन्तै डेरा जमाउने हैसियत राख्छन्। यो कथा उड्न नसक्ने ‘कमिला’ को हो। एकछिन साँच्चिकै कमिलाको कुरा गरौं। हाम्रो घरकोठाका भुइँ-भित्तामा हिंड्ने मसिना कमिलालाई हामी प्रायः ताँतीमा देख्छौं। भनिन्छ, ताँती श्रमिक वर्गका हुन्छन्। कमिलाको ताँतीलाई शासन गर्ने ‘रानी’ वा ‘माउ’ कमिलाले हो। अनि यो ‘हाइरार्की’ (उँच-नीचको संरचनात्मक शक्ति-सम्बन्ध) ले नै हो, कमिलाको अहोरात्र श्रम जीवनमा अनुशासन कायम गर्ने। यसरी कमिलाको एक किसिमको छवि बनेको छ, मानव जातिको मानस पटलमा।
‘मेर्मेकोलोजी’ अर्थात् कमिलाहरूको जीवन अध्ययन गर्ने वैज्ञानिकद्वय विल्सन र हलडोब्लरले भनेका रहेछन्, ‘मार्क्सले समाजवादको सम्भाव्यताको अध्ययन गर्दा जुन जातिलाई केन्द्रमा राख्नुपर्थ्यो, राखेनन्। उनले मानव जातिको सट्टा कमिलालाई केन्द्रमा राख्नुपर्थ्यो।’ उनीहरूको यो बुझाइ कत्तिको गाम्भीर्यपूर्ण हो थाहा छैन, तर केही बेर गम खुवाउने खालको पक्कै छ। ग्रीक दार्शनिक अरस्तुले पनि आफ्नो कृति जनावरहरूको इतिहासमा लेखेका रहेछन्- ‘कमिला भनेको सामूहिक लक्ष्य र उद्देश्य बोकेको एक सामाजिक प्राणी हो।’
जीवविज्ञान र कीटविज्ञानमा लामो समय अध्ययन, लेखन र अनुसन्धान गरेका बेन्जमिन ब्लनचार्ड भन्छन्, ‘कमिलाको संसारमा जसलाई रानी भनिन्छ, त्यसले शक्तिको विम्ब बोक्नुको सट्टा कमिलाको जैविक भूमिका जनाएको हुन्छ। रानी प्रजनन स्वास्थ्य र जिम्मेवारीसँग जोडिएको हुन्छ।
मार्क्सले भने झै मानिस पनि लामा ताँतीमा आआफ्नो क्षमता अनुसार योगदान गर्ने इच्छाशक्ति लिएर उभिएका हुन्छन्। कोही फूल-पात टिप्न/काट्नमा माहिर हुन्छन्, कोही लम्किँदै जाँदा पछाडिकालाई खानादाना, ठेगानाको सङ्केत दिन माहिर हुँदा रहेछन्।’ यसरी ब्लनचार्डका लागि सामूहिकतामा विविधता र त्यसमा ऐक्यबद्धता झल्किनु नै कमिलाको दैनिकी रहेछ। मार्क्सप्रति समाजवादी टिप्पणी गर्दा विल्सन र हलडोब्लरले भन्न खोजेको कुरोको चुरो पनि शायद यही हो।
ब्लनचार्डका कमिला जस्तै गुलजारका कमिला पनि अदृश्य सही, जसोतसो शहरमा जीवन दैनिकी चलाउँछन्। आआफ्नो सीप र पौरखले जेजति जुगाड गर्न सक्छन्, त्यही अनुसारको घर, समुदाय, टोल अनि आफ्नै शैलीको ‘शहर’ निर्माण गर्छन्। कसैले देखे वा नदेखे पनि सत्य यही हो।
(निङ्लेखु समाज विज्ञानका अध्येता हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)
कभर स्टोरी: