कसरी बन्ने असल अभिभावक?
विद्यार्थीको सिकाइ सहज बनाउन महत्त्वपूर्ण ‘अभिभावक शिक्षा’ लाई नेपाली शैक्षिक प्रशासनले बुझ्न र व्यवहारमा उतार्न सकेको छैन।
छोराछोरीले राम्ररी पढून्।
याे प्राय: सबै बाबुआमाकाे चाहना हाे।
असल, अनुशासित अनि सुसंस्कृत बनून्।
भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलाे भूमिका खेल्दछ। तर विद्यालय वा कलेज शिक्षा नै पर्याप्त हाे त? पक्कै हाेइन।
“अभिभावकको बुझाइ नै सन्तानलाई स्कूल पठाइदिएपछि सबै समस्या निराकरण भइहाल्छ भन्ने छ,” लालीगुराँस वाटिका मावि, काठमाडौंका प्राचार्य हरि सिवाकोटी भन्छन्, “तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षको सहकार्य हुनुपर्छ।”
बालबालिकाको पहिलो पाठशाला घर हो त्यसै भनिएकाे हाेइन। त्यसैले बोली, नैतिकता, व्यवहार, आचरण, सम्मान जस्ता कुरा अभिभावकले बाल्यावस्थामै सिकाउनुपर्ने त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन्। “बालबालिका स्कूलमा रहने सात-आठ घण्टा मात्र हो। बाँकी समय घरपरिवारमै बिताउँछन्,” उनी भन्छन्, “विद्यार्थीले स्कूलमा सिक्ने-जान्ने अवसर पाउँछ, तर त्यसलाई अभ्यास गर्ने त घरपरिवारमै हो। त्यस कारण शिक्षा र समाज सुधारका लागि अभिभावकमा पनि शैक्षिक रूपान्तरण आवश्यक छ।”
सन्तानलाई कस्तो बनाउने भन्नेमा ‘अभिभावक शिक्षा’ को महत्त्वपूर्ण भूमिका रहन्छ। यसमा दुई पक्ष हुन्छन्- एउटा अभिभावकले गर्नुपर्ने कुरा, अर्को अभिभावकले गर्न सक्ने कुरा। “प्यारेन्ट एजुकेशनमा अभिभावकले यो यो गर्नुपर्छ भन्ने विधा पर्छ भने प्यारेन्टिङ एजुकेशनमा सक्षम अभिभावक आफैंले सिकाउन सक्ने विषय पर्छन्,” शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्, “हाम्रोमा न प्यारेन्ट एजुकेशन छ न प्यारेन्टिङ एजुकेशन।”
हाम्रो शिक्षा पद्धतिले अभिभावकलाई सिकाउन सक्ने नठानेका कारण सिक्ने/सिकाउने अभ्यासमा अभिभावकहरू छुट्दै आएको तर्क कोइरालाको छ। “सिक्ने-सिकाउने पद्धतिमा अभिभावकलाई स्थान नै दिइएन। शिक्षकले अभिभावक पनि जान्दछन् भन्ने थाहा पाएको अवस्थै छैन,” उनी भन्छन्।
कोही अभिभावक बौद्धिक होलान्, कोही अनुभवी पनि होलान्। तर, हामीकहाँ अनुभवीबाट सिक्ने पद्धति छैन। अनुभव जे पनि हुन सक्छ- घाँस-दाउरा काटेको, मशिन बनाएको, सहकारी वा पसल चलाएको आदि। “अभिभावकको अनुभव आदानप्रदान गर्ने संस्कृति छैन। हाम्रो पद्धतिले अभिभावकलाई यसो गर्नुस्, उसो गर्नुस् भनेर उर्दी दिने काम मात्र गर्छ,” कोइराला भन्छन्।
अभिभावक र शिक्षकलाई नजिक ल्याउने र एकअर्काबाट सिक्ने पद्धति विकास गरिए त्यही नै ‘अभिभावक शिक्षा’ को गतिलो आधार हुने उनको बुझाइ छ।
नेपालको शिक्षा नीति निर्माणमा शुरूदेखि नै अमेरिकी शिक्षाविद्हरू हावी रहे। उनीहरूका बुझाइमा पढ्नका लागि छुट्टै कोठा चाहिन्छ। तर, हाम्रो सामाजिक संरचनामा पूरै परिवारले एउटै कोठामा पनि गुजारा चलाउनुपर्ने हुन सक्छ। यस्तोमा पश्चिमा शिक्षा अवधारणा मेल खाँदैन।
हाम्रै गाउँठाउँको अवस्था अनुकूल हुने गरी पढाउने सीप विकास गर्नुपर्ने कोइराला बताउँछन्। “माटो सुहाउँदो सीप र शैली विकास गर्न सकेका छैनौं,” उनी भन्छन्।
अर्कातिर, अधिकांश शिक्षक अभिभावकले आफ्नो सन्तानको पढाइमा ध्यान नदिएको गुनासो गरिरहन्छन्। उनीहरूका अनुसार, अभिभावकहरू मासिक शुल्क तिरिदिएकै भरमा आफ्नो कर्तव्य पूरा भएको ठान्छन्। घरमा सामान्य निगरानी पनि गर्दैनन्। “अधिकांश कामकाजी अभिभावकले सन्तानको पढाइको सन्दर्भ र पाठ बुझ्दैनन्। त्यही भएर घरमा गाइड पनि गर्न सक्दैनन्,” सिवाकोटी भन्छन्।
सबै विद्यार्थी हरेक कुरामा अब्बल हुनुपर्छ भन्ने बुझाइ पनि गलत हो। तसर्थ उनीहरूलाई ‘तिम्रो अरूको जस्तो अङ्क आएन’ भनेर तुलना गर्न नहुने सिवाकोटीको मत छ। “उसलाई रुचि लाग्ने विषयमा अझ राम्रो हुन प्रेरित गर्नुपर्छ भने कमजोर विषयमा पनि आधारभूत ज्ञान दिन सिर्जनात्मक रूपमा सम्झाइ-बुझाइ गर्नुपर्छ,” उनी भन्छन्।
ग्रामीण भेगमा झन् गाह्रो
स्वयंसेवक शिक्षकका रूपमा पढाउँदै आएका मोइन उद्दिन कतिपय विद्यार्थीले घरका काम धेरै गर्नुपर्ने हुँदा गृहकार्य प्रभावित भएकाे बताउँछन्। विद्यार्थीका घरमा जाँदा उनीहरूको पारिवारिक र सामाजिक स्थितिले घरमा पढ्नै नपाउने देखेपछि आफूले गृहकार्य दिनै छोडेको उद्दिनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
त्यस्तै, पठन अभियानमा लागेकी सगुना शाहले बालबालिकालाई हातमा ‘स्मार्टफोन’ थमाउने र टिकटकमा नाच्न लगाएर ‘भाइरल’ बनाउने गलत अभ्यासलाई अभिभावकले बढावा दिएको हिमालखबरसँगको वार्तामा बताएकी छन्। उनले भनेकी छिन्, “अभिभावकको हातमा किताब भए बच्चाले पनि सिक्छन्। कतिपय अभिभावकले ६ महीनाको बच्चालाई पनि कथा पढेर सुनाएका हुन्छन्। ६ महीनाको बच्चाले केही पनि बुझ्दैन, तर संस्कार सिकाउन उनीहरू यस्तो गरिरहेका हुन्छन्।” बालबालिकालाई पाठ्यक्रमभन्दा बाहिरका सामग्री पनि महत्त्वपूर्ण छन् भन्ने कुरा अभिभावक र शिक्षकले सिकाउनुपर्ने शाहको धारणा छ।
अभिभावकले सन्तानलाई अब्बलभन्दा पनि आज्ञाकारी र अनुशासित बनाउन प्रयास गर्नुपर्ने कँडेल बताउँछन्। “आज्ञाकारी र अनुशासित बन्ने ज्ञान विद्यार्थीले घरमै सिक्ने हो,” उनी भन्छन्।
खासमा अस्तव्यस्त दैनिकी र समयको उचित व्यवस्थापन नहुँदा शैक्षिक समस्या आउने गरेको विज्ञहरूको बुझाइ छ। विद्यार्थीलाई पढ्ने दैनिकीमा अभ्यस्त गराउनुपर्ने उनीहरू बताउँछन्। “विद्यालयबाट आएपछि गृहकार्य सकेर खेल्न जाने, वेलैमा खाने र सुत्ने अनि बिहान अघिल्लो दिन पढेको सरर्र एक पटक दोहोर्याउँदा मात्र पनि काफी हुन्छ,” सिवाकोटी भन्छन्, “यो काममा अभिभावकले निगरानी गर्नुपर्छ।”
बुबा, आमा वा घरको कसैले सामुन्ने बसेर गृहकार्य गराउँदा मात्र पनि धेरै फरक पर्छ। यसो हुँदा विद्यार्थीले आफू निरन्तर निगरानीमा रहेको अनुभव गर्छ र आत्मानुशासनमा अभ्यस्त हुँदै जान्छ। “बाबुआमा आफू मोबाइलमा घोप्टिरहने अनि बच्चालाई होमवर्क गर मात्र भनेर हुँदैन,” कँडेल भन्छन्।
अभिभावकले के गर्ने?
बालबालिकाले जे सोधे पनि नझर्किई, नरिसाई, नहप्काईकन उत्तर दिनुपर्छ। उनीहरूलाई सानासाना कुरा देखेर पनि कौतूहल जागिरहेको हुन्छ। आफू वरपरको वातावरणबाट प्रभावित भएर व्यवहार र देखासिकी गर्न खोज्छन्। त्यो उनीहरूको उमेर समूहको मनोविज्ञान, जैविक अवस्थाले दिने परिणाम हो।
“त्यसैले बच्चाले जे सोधे पनि नझर्कने, नरिसाउने र सम्झाइ-बुझाइ गरेर सकारात्मक बन्न प्रेरित गर्नुपर्छ,” कँडेल भन्छन्। घरमा आमाबुबाले नैतिक शिक्षा, आचरण, अनुशासन र व्यावहारिकता सिकाउनुपर्नेमा उनको जोड छ। “शहरबजारमा १२ कक्षा पास गरेकाले चिया पनि पकाउन नजान्ने पुस्ता तयार हुँदै छ। यसमा दोष कसको?” कँडेल भन्छन्, “बालबालिकालाई परिश्रम के हो भन्ने बुझाउन पनि करेसा, बगैंचा वा गमलामा फूल रोप्ने, पानी हाल्ने जस्ता काम सिकाइनुपर्छ।”
बालबालिकालाई सामाजिक सञ्जालको गलत प्रभावबाट रोक्नु अर्को चुनौती बनेको छ। सामाजिक सञ्जालमा शिक्षकलाई झुक्याएर ठट्टा गरिएका भिडिओ हेरेर पनि बालबालिकाले शिक्षक/अभिभावकलाई ठग्ने गरेको पाइन्छ। घरमा डायरी नदेखाउने, अभिभावकलाई एउटा कुरा गर्ने र स्कूलमा शिक्षकलाई अर्कै भनेर ढाँट्ने समस्या रहेकाले अभिभावक शिक्षक-शिक्षिकासँगको निकट सम्बन्धमा बस्नुपर्छ।
विज्ञहरूका अनुसार, बालबालिकाका हातहातमा मोबाइल थमाउने तर निगरानी नगरिंदा प्रविधिको दुरुपयोगबाट उनीहरूले गलत बाटो समाउने जोखिम रहन्छ। त्यसैले उनीहरूलाई मोबाइल दिने नभई सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउनुपर्छ। जस्तो, स्कूलबाट घर आएपछि ‘आज तिमीले नयाँ कुरा के सिक्यौ, मलाई पनि सिकाइदेऊ न’ भनेर उत्साही बनाइदिंदा उसको सिर्जनात्मकता बढ्दै जान्छ।
“हामीले शिक्षक-स्कूल मन परेन भने परिवर्तन गर्न सक्छौं। तर, अभिभावक आफैं नराम्रा छौं भने आफूलाई सुधार्नु बाहेक विकल्प केही हुन्न,” सिवाकोटी भन्छन्।
राम्रो अभिभावकले अपनाउनुपर्ने शैली:
- आफू पत्रिका, किताब पढेर वा अन्य सिर्जनात्मक काममा लागेर सन्तानलाई पनि त्यसतर्फ आकृष्ट गर्ने।
- घरमा पुस्तक र पत्रपत्रिका ल्याई तिनका राम्रा सामग्री पढेर सुनाउने।
- राम्रा बालसाहित्य पढेर सुनाउने।
- मोबाइलमा धेरै समय नखर्चने, बालबच्चाका अगाडि कुनै पनि सामाजिक सञ्जाल नचलाउने।
- महीनाको एक-दुई पटक घर वरपर घुमाउन लैजाने।
- बिदाको वेला बाहिरी क्रियाकलाप गराउने, खेल्ने र खेलाउने।
- महीनाको एक पटक सन्तानसँगै पुस्तकालय वा पुस्तक पसल जाने।
- बेलुका-बेलुका कथा सुनाउने।
- शिक्षकसँग नियमित सम्पर्कमा रहने।
- सन्तानका अगाडि शिक्षकको आलोचना नगर्ने।
- पाक तथा बागवानी शिक्षा सिकाउने।