बाजुरामा मतगणना शुरू, स्याङ्जामा धनराज गुरुङको अग्रता
प्रतिनिधि सभा तथा प्रदेश सभाको मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरू गरिएको छ।
बिहीबार अपराह्नबाट मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मंसीर ४ गते चुनावका दिन विवाद भएपछि मतगणना हुन सकेको थिएन। निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका स्थानीय नेतासँग छलफल गरी मत गन्न शुरू गरेको हो।
यस्तै, विवादका कारण रोकिएको स्याङ्जा-२ मा मतगणना जारी छ। बिहीबार अपराह्नसम्म नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बनाएका छन्।
गुरुङले ६ हजार ६२५ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले चार हजार ९३३ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत पाएका छन्।