भारतमा बिजुली बिक्रीबाट बढ्यो विद्युत् प्राधिकरणको नाफा
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महीनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ।
चालू आर्थिक वर्षको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ। पहिलो तीन महीनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ (कर अघि) नाफा कमाएको हो।
सूचनाको हक सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालू आर्थिक वर्षको तीन महीनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरीद गरेको छ। आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरीद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महीनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ। आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८ मा घटेर ६ अर्ब नौ करोडमा सीमित भएको थियो। गत आव २०७८/७९ मा प्राधिकरणले नाफा बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारततर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायत कारण चालू आवको पहिलो तीन महीनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। कार्यकारी निर्देशक घिसिङले नाफा बापत प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे।
उनले आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि चार–पाँच वर्षभित्र तीन–चार खर्ब रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता भएकाले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गर्ने जानकारी दिए।