प्रतिनिधि सभाको प्रत्यक्षमा निर्वाचित नौ महिला
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२५ जना महिला नेता उम्मेदवार थिए। तीमध्ये नौ जना निर्वाचित भएका छन्।
मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना केही स्थान बाहेक सकिएको छ। विवादका कारण रोकिएको स्याङ्जाको मतगणना भइरहेको छ भने बाजुरामा भने हुन सकेको छैन। दोलखाका केही स्थानमा पुनः मतदान भइरहेको छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२५ जना महिला नेता उम्मेदवार थिए। हालसम्मको मतपरिणाम अनुसार तीमध्ये नौ जना निर्वाचित भएका छन्। स्याङ्जा-२ मा नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्याल उम्मेदवार छिन्। त्यहाँ मतगणना भइरहेको छ।
निर्वाचितमध्ये सबैभन्दा बढी एमालेका चार जना छन्। दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीबाट एक-एक जना निर्वाचित भएका छन्। उनीहरू सबैले पुरुष उम्मेदवारलाई पराजित गरेका हुन्।
एमालेबाट जुलीकुमारी महतो‚ विद्या भट्टराई‚ ज्वालाकुमारी साह र भगवती चौधरी निर्वाचित भएका हुन्। यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम र डा. तोसिमा कार्की निर्वाचित भएका हुन्। कांग्रेसबाट सीता गुरुङ‚ माओवादी केन्द्रबाट रेखा शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएका छन्।
एमालेकी महतो ३३ हजार ३८८ मत प्राप्त गरी धनुषा-३ बाट विजयी भएकी हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन्। झाले २३ हजार ६८६ मत प्राप्त गरेका छन्। यसअघि समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी महतो पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।
विद्या भट्टराई कास्की-२ बाट निर्वाचित भएकी हुन्। भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा रास्वपाका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन्। भट्टराई २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनका श्रीमान् रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा विजयी भएकी थिइन्। उनी दोस्रो पटक पनि कास्की-२ बाट निर्वाचित भएकी हुन्।
ज्वालाकुमारी साह बारा-३ बाट २० हजार २५१ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार २७९ मत प्राप्त गरेका छन्। साह २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
सुनसरी-३ बाट निर्वाचित भगवती चौधरीले सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेका हुन्। चौधरीले ४० हजार ७८८ मत र गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरेका छन्। चौधरी अघिल्लो दुई चुनावमा गच्छदारसँगै पराजित भएकी थिइन्।
चौधरीले २०४८ सालमा अनेरास्ववियूमा आबद्ध भई राजनीतिक यात्रा शुरू गरेकी हुन्। २०६४ सालको पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू-संरक्षण राज्यमन्त्री समेत भएकी थिइन्।
कांग्रेसकी सीता गुरुङ १९ हजार ७०७ मत सहित तेह्रथुमबाट निर्वाचित भएकी छन्। गुरुङले १९ हजार ७०२ मत र उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार विजय सुब्बाले १८ हजार ६२३ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रकी रेखा शर्मा दाङ-२ बाट २६ हजार ८८० मत सहित विजयी भएकी छन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। यसअघि दुई पटक समानुपातिक सांसद बन्ने अवसर पाएकी शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचित भएकी हुन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली-१ बाट निर्वाचित भएकी हुन्। उनले कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४०४ मत र चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका छन्।
यस्तै‚ रास्वपाकी सोबिता गौतम काठमाडौं-२ बाट १५ हजार २३८ मत सहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। रास्वपाकै डा. तोसिमा कार्की ललितपुर-३ बाट एमालेका अमृत भट्टराईलाई पराजित गर्दै निर्वाचित भएकी हुन्। कार्कीले ३१ हजार १३६ मत र खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन्।
जो पराजित भए
प्रतिनिधि सभामा उम्मेदवार बनेका केही चर्चित महिला पराजित भएका छन्। ललितपुर-३ मा माओवादी केन्द्रकी प्रभावशाली नेता तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल पराजित भएकी छन्।
काठमाडौं-२ बाट उम्मेदवार रहेकी पूर्व सभामुख एवं माओवादी केन्द्रकी नेता ओनसरी घर्तीमगर पनि पराजित भइन्।
त्यस्तै‚ दाङ-१ मा एमालेकी सचेतक रहिसकेकी शान्ता चौधरी पराजित भइन्। अर्घाखाँची-१ बाट उम्मेदवार रहेकी पूर्व उपसभामुख तथा कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल टोपबहादुर रायमाझीसँग पराजित भएकी छन्।
पूर्व मन्त्री एवं एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी छन्। माओवादी केन्द्रकी कल्पना धमला काठमाडौं-९ मा पराजित भइन्। त्यस्तै‚ काठमाडौं–१० मा अञ्जना विशंखे पराजित भएकी छन्।
दाङ-३ मा एमालेकी कोमल वली, निरुदेवी पाल पराजित भएका छन्। काठमाडौं-७ मा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमी भट्टराई) रास्वपाका गणेश पराजुलीसँग पराजित भएकी भइन्।
त्यस्तै‚ प्यूठान–१ मा उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पराजित भएकी छन्। दैलेख-१ मा राप्रपाकी कुन्तीकुमारी शाही र कञ्चनपुर–१ मा पूर्व मन्त्री एवं माओवादी केन्द्रकी नेतृ बिना मगर पराजित भए। मकवानपुर–१ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पराजित भएकी छन् भने चित्रलेखा यादव सिरहा–२ मा पराजित भएकी छन्।