‘पल्पसा क्याफे’ को नाट्य रूपान्तर पुस्तकमा
सन् २००५ मा प्रकाशित नारायण वाग्लेको चर्चित उपन्यास पल्पसा क्याफे नाट्य कृतिका रूपमा प्रकाशन भएको छ। उपन्यासबाट सुरज सुवेदीले गरेको नाट्य रूपान्तर काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरियो।
नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यासको कथावस्तुमा रहँदारहँदै पनि आफूले कल्पनाशीलता प्रयोग गरेर फरकपन प्रस्तुत गरेको बताए। "झण्डै दुई दशकअघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा कतिपय पात्रको भूमिकालाई पूरै बदलेको छु। नाट्य रूपान्तरणमा कल्पनाशीलता प्रयोग गरिएका कारण यो पुस्तक उपन्यास जस्तै भने छैन।'
सुवेदीका अनुसार, उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ। उनले नाट्य रूपान्तरण गर्दा उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको पनि सुनाए।
पुस्तकबारे बोल्दै पत्रकार वसन्त बस्नेतले नाटकभरि उपन्यासकै झल्को आइरहने बताए। “तर, नयाँ पटकथामा उनिएका यसका दृश्य र संवादहरूले नयाँ स्वाद बोकेका छन्,” उनले भने।
कार्यक्रममा सुवेदी र कवि नवराज पराजुलीले पुस्तक अंश वाचन गरेका थिए।
पल्पसा क्याफे उपन्यासले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। यो कृति अंग्रेजी, कोरियन, फ्रेन्च र सिंहली भाषामा अनुवाद भइसकेको छ।
यसै क्रममा गत वर्ष यो उपन्यासलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरेका थिए भने थिएटर भिलेजले विमल सुवेदीको निर्देशनमा काठमाडौंमा मञ्चन गरेको थियो। नाट्यकृतिको आवरणमा नाटकमा पल्पसाको अभिनय गर्ने नायिका श्रृष्टि श्रेष्ठलाई नै मोडलका रूपमा प्रयोग गरिएको छ।
उपन्यासकार वाग्लेले उपन्यासको नाट्य रूपान्तरणलाई सराहना गरेका छन्। उनी भन्छन्, "उपन्यासलाई नाटकीय रूप दिएर पात्रहरूलाई जीवन्त बनाइदिएकामा धन्य भएँ। यसले हिजोको सङ्कटका मुद्दालाई आजका युवा दर्शकहरूसँग तादात्म्य जोडिदिएको छ।"
पब्लिकेशन नेपालयले प्रकाशन गरेको पुस्तकको मूल्य २९५ रुपैयाँ राखिएको छ। पुस्तक ई-बूक भर्सनमा पनि उपलब्ध गराइएको र थुप्रै डटकमबाट किन्न सकिने प्रकाशन गृहले जनाएको छ।