राष्ट्रिय स्वतन्त्र पार्टीको जितको अर्थ
प्रत्यक्षमा सात सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ११ लाख भन्दा बढी मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थापना भएको करीब ६ महीनापछि मंसीर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सात स्थानमा जित निकालेको छ। समानुपातिकतर्फ ११ लाख ४ हजारभन्दा बढी मत प्राप्त गरिसकेको छ।
निर्वाचनको मितिभन्दा १४१ दिनअघि पूर्व सञ्चारकर्मी रवि लामिछानेको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय रास्वपा गठन भयो। गठन लगत्तै ‘जनतासँग भेटघाट’ भन्दै उक्त पार्टीले देशका विभिन्न स्थानमा आमसभा गर्यो। रास्वपा चुनावमा होमियो। र‚ छोटो अवधिमै चुनावमा उल्लेख्य उपलब्धि हासिल गर्यो।
निर्वाचनको केही महीनाअघि मात्रै स्थापना भएको पार्टीले पाएको उपलब्धिले नेपाली राजनीतिमा एक प्रकारको तरङ्ग ल्याएको छ। यसो भनिरहँदा, के रास्वपाले देशभर आफ्नो पकड बनाएको हो भन्ने प्रश्न पनि छ?
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ प्राप्त गरेको मत हेर्दा १३ वटा निर्वाचन क्षेत्रमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको छ। सबैभन्दा बढी मत आएका पाँच निर्वाचन क्षेत्रमा चितवन-१ र २, ललितपुर-३, रुपन्देही-२ र नवलपरासी पूर्व-१ हुन्। यसका साथै‚ झापा-१, ४ र ५, मोरड-१ र ६, चितवन-३, नवलपरासी पश्चिम-१, रुपन्देही-१, दाङ-१, २ र ३, काठमाडौं-२, ६, ७, ८ र ९, नुवाकोट-२, कास्की-१, २ र ३, सुनसरी-१ र २ बाट पनि रास्वपालाई राम्रै मत आएको छ।
यी क्षेत्रहरूमध्ये सात वटामा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। सबैभन्दा बढी मत चितवन-२ बाट उम्मेदवार रहेका यस पार्टीका सभापति रवि लामाछानेले ४९ हजार २६४ मत प्राप्त गरेका छन्। यो मत निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको भन्दा ३४ हजार बढी हो।
वर्षौंको मिहिनेतले पनि पार्टी चिनाउन नसकिरहेका दलहरू पनि छन्। तर‚ केही महीनामै रास्वपाले यति धेरै मत प्राप्त गर्नुमा मतदातामा रहेको अघिल्ला पुस्ताका नेताप्रतिको वितृष्णा रहेको चितवनको भरतपुरमा रहँदै आएका विश्लेषक तथा शिक्षासेवी प्रेम रिमालको बुझाइ छ। “अघिल्लो पुस्ताका नेताहरूको अनुहार देखेर यो मत सोहोरिएको हो‚” उनी भन्छन्‚ “यहाँका जनता वितृष्णाले यति गलिसकेका थिए कि नयाँ जो उम्मेदवार आए पनि उनैलाई मत हाल्ने मनस्थिति बनेको थियो।” रिमालका अनुसार‚ रास्वपाको राजनीतिक दर्शन र सिद्धान्त नबुझेका जनताले नयाँले केही गर्छन् भन्ने मनोभावले मत हालेका हुन्।
प्रदेश १ को मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवार निर्वाचित नभए पनि उल्लेख्य मत प्राप्त गरेका छन्। स्नातकोत्तर क्याम्पस, विराटनगरका सहप्राध्यापक राजनीतिशास्त्री सुभागा गौतम पुराना पार्टीप्रति मतदातामा रहेको वितृष्णाका कारण रास्वपाले छोटो अवधिमै उल्लेख्य मत ल्याएको बताउँछन्।
“एउटा बीउलाई जमीनमा रोप्छौं। बीउ ढाडिन समय लाग्छ। त्यसपछि मात्र उम्रिन्छ। तर‚ पहिल्यै ढाडिएको बीउ उम्रिन धेरै समय लाग्दैन‚” उनी भन्छन्‚ “यो ढाडिएको बीउ, तिनै मोरङ र सुनसरी क्षेत्रका वितृष्ण भएका जनताहरू हुन्। त्यो वितृष्णा मतमा परिणत हुन समय लागेन।”
मतदाताले पुराना दल र पुराना नेताको अनुहारसम्म हेर्न नचाहेका रहेछन् भन्ने ललितपुरको एउटा घटनाले बताउँछ। “एमाले, कांग्रेस, माओवादी मेरो दैलोबाटै फर्केर आउनु पर्दैन‚” ललितपुर–३ बाट रास्वपाका उम्मेदवार डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा रहँदा एक अधबैंसे महिलाले भनिन्, “देश त खत्तम नै भइसक्यो बाबु। राम्रोसँग जित्नु। फेरि सत्तामा गएपछि त्यस्तो हुने होइन नि।”
यस घटनाले जनता नयाँ जो आए पनि हुने तर पुराना नेता वा पार्टी नआऊन् भन्ने मनस्थितिमा रहेको देखाएको अर्थ-राजनीतिक विश्लेषक मनिकर कार्कीको भनाइ छ। उनी भन्छन्‚ “यसको अर्थ जनताले जो आए पनि हुन्छ, तर पुरानो आउनुभएन भन्ने अपेक्षा राखेका हुन्।”
रास्वपाले रुपन्देही-१ र २ मा क्रमशः १४ र २५ हजार मत प्राप्त गरेको छ। यस क्षेत्रका नेताहरूले गरेका कामबाट मतदाता असन्तुष्ट रहेको र पुराना दलले नयाँ पुस्ताका उम्मेदवार नबनाएकाले रास्वपाले यति धेरै मत पाएको रुपन्देहीको बुटवल निवासी कार्की बताउँछन्। “रास्वपाले राजनीतिक अजेन्डा स्पष्ट रूपमा नराखेको, नीति, सिद्धान्त के भन्ने बुझेर मत हालेको देखिंदैन,” कार्की भन्छन्, “यो यहाँका जनताले आक्रोश पोखेको मत हो।” तर‚ अन्य पार्टीप्रतिको असन्तुष्टिको मत वा स्वछन्दको मत‚ त्यसलाई लहडमा आएको मत भनेर हियाउन नहुने विश्लेषक कार्की बताउँछन्।
पोखरा निवासी समाजशास्त्री विश्व सिग्देल आफ्नो क्षेत्रमा रास्वपाले छोटो समयमै उल्लेख्य मत प्राप्त गरेकामा छक्क परेको बताउँछन्। यस क्षेत्रका जनताले पहिलेदेखि परिवर्तनको आशा राखे पनि २०४६ र २०६३ सालपछि पनि पूरा नभएपछि केही नयाँको खोजी रहेका मतदाताले रास्वपालाई मत दिएको उनको भनाइ छ। “कास्कीका जनताले पनि घण्टी (रास्वपा)का अजेन्डा, विचार र सिद्धान्तभन्दा पुराना दललाई अस्वीकार गरेको परिणाम आज हामीसामु छ,” सिग्देल भन्छन्, “यहाँका जनतालाई पुराना जति सबै खराब, सबै भ्रष्टाचारी र सबै अगतिला लागेका थिए। रवि लामिछानेको क्रेज र भ्रष्टाचार विरोधी हौं भन्ने नाराले सफल पनि बनाएको हो।”