एमालेमा विद्रोह गरेका अशोक राई एमालेकै मतले बने सांसद
एक दशकअघि एमालेलाई ‘जातीय पहिचान विरोधी पार्टी’ भनेर नयाँ राजनीतिक दल खोलेका अशोककुमार राईले यस पटक एमालेकै साथले संघीय संसद्को यात्रा तय गरेका छन्।
मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ बाट प्रतिस्पर्धामा उत्रिएका २० उम्मेदवारमध्ये तीन जना २०७४, २०७० र २०६४ सालमा पराजित उम्मेदवार थिए। त्यसमध्ये २०७४ मा पराजित जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई निर्वाचित हुँदा २०७० मा पराजित नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बा (मेन्याङ्बो) र २०६४ मा पराजित मनोजकुमार मेन्याङ्यो दोस्रो पटक पराजित हुन पुगे। दुई मेन्याङ्बो दाजुभाइ नाता पर्छन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार राईसँग पराजित माओवादीका मेन्याङ्बो यस पटक सत्ता गठबन्धनका उम्मेदवार थिए। उनी १३ हजार ७८ मत पाएर तेस्रो बने। पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरन राईसँग पराजित तत्कालीन एमालेका उम्मेदवार मनोजकुमार मेन्याङ्बो यस पटक एमालेसँग असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी सात हजार ८१२ मत पाएर पाँचौं स्थानमा रहे।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसको समर्थन पाएका तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार अशोककुमार राई आफ्नै पुराना कार्यकर्ता एमालेका जयकुमार राईसँग पराजित भएका थिए। जयकुमार ४४ हजार ५२८ मत पाएर निर्वाचित हुँदा अशोकले त्यसको आधा २२ हजार १२३ मत मात्र पाएका थिए। तर‚ यस पटक एमालेको साथ पाएका उनलाई जितका लागि अघिल्लो निर्वाचनमा जति मत पनि ल्याउनु परेन। कडा प्रतिस्पर्धाबीच १७ हजार ५९ मत पाएका अशोक निर्वाचित भए। १६ हजार ६०६ मत पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ अन्तिम समयमा ४५३ मतले पराजित भइन्।
यस क्षेत्रमा कुल एक लाख ४१ हजार ८७८ मतदाता रहेकामा ७८ हजार ८९३ मत खसेको थियो। यस क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ५ र रामधुनी नगरपालिकाका वडा नं ६ र ७ पर्छन्। धरानका तीन वटा वडाको मतगणना सकिंदा अशोक छैटौं स्थानमा थिए। त्यति वेला धेरैले उनी अघिल्लो पटक जस्तै पराजित हुने आकलन गरिरहेका थिए। किनभने, अघिल्लो पटक अशोकलाई दोब्बर मतले पराजित गरेका जयकुमारलाई एमालेले एकल सिफारिश गरे पनि अन्तिम समयमा उनलाई पन्छाएर अशोक उम्मेदवार बनेका थिए।
२०७४ मा कांग्रेसको साथ पाएका अशोक यस पटक पनि सत्ता गठबन्धनबाटै चुनाव लड्ने चर्चा थियो। एमाले र जसपा नागरिकता विधेयकले दुई ध्रुवमा थिए। एमालेकै कारण नागरिकता विधेयक पास नभएको भन्दै जसपाले विरोध गरिरहेको थियो। एमालेको एकल सिफारिशमा परेका जयकुमारले चुनावी अभियान शुरू गरिसकेका थिए। फेरि पनि उनलाई जिताउन लागिपरेका एमाले कार्यकर्ता यस पटक पनि अशोक र जयकुमारबीच नै प्रतिस्पर्धा हुने निश्चित ठानेर मतदातामाझ ‘टुरिस्ट उम्मेदवारलाई जिताउनु हुँदैन’ भन्ने भाष्य स्थापित गर्ने प्रयासमा थिए।
तर‚ पार्टीको केन्द्रले जयकुमारलाई फिर्ता गरेर अशोकलाई समर्थन गर्यो। यसले धरानको एमालेभित्र ठूलै हलचल भयो। जयकुमारको टिकट खोसिएको आक्रोशमै एमाले प्रदेश कमिटी सदस्य मनोजकुमार मेन्याङ्बो विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बने। प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की सहित जिल्ला, नगरदेखि वडासम्मका धेरै कार्यकर्ता खुलेरै मनोजको पक्षमा उभिए। धरानको मुख्य बजारका व्यापारी व्यवसायीहरू पनि मनोजकै साथमा थिए। एमाले कार्यकर्ताले अशोकलाई धोका देलान् भन्ने अनुमान थियो। त्यसैले यस पटक पनि अशोकलाई जित्न मुस्किल हुने आकलन गरिएको थियो। तर‚ केन्द्रको निर्देशनलाई स्थानीय कार्यकर्ताहरूले पालना गर्दा उनी विजयी भए।
अशोक जिताउने अभियानमा खटिएका जसपाका स्थानीय एक नेताका अनुसार‚ राई समुदायको साझा संस्था किरात राई यायोक्खाका केही नेताहरू भित्रभित्रै राई जातिका विभिन्न संस्थासँग छलफलमा जुटेका थिए। अशोककी श्रीमती सुशीला श्रेष्ठ नेवार समुदायका संस्थासँग छलफलमा जुटेकी थिइन्। ती नेताले भने जस्तै राई समुदायको बाहुल्य रहेका वडाहरूको मतगणना हुन थालेपछि अशोक प्रतिस्पर्धामा देखिए। धरान उपमहानगरको गणना सकिंदा उनी रास्वपाकी गोमा तामाङभन्दा १९२ मतले पछाडि थिए। तर‚ बराहक्षेत्र नगरपालिकाको मतगणनापछि अशोकले अग्रता लिए। रामधुनी नगरपालिकाको मतगणना गरिसक्दा उनी विजेता घोषित भए। यसरी तेस्रो पटकको प्रयासमा अशोक सुनसरी-१ बाट सांसद बन्न सफल भए।
२०४८ सालको आम निर्वाचनमै यो क्षेत्रबाट अशोकको नाम चर्चामा थियो। त्यस वेला तत्कालीन नेकपा (माले)ले उनलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो। तर‚ माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्क्सवादी)बीच एकता भएर नेकपा (एमाले) बनेपछि मनमोहन यहाँ उम्मेदवार भई निर्वाचित भए। अशोक भने खोटाङबाट उम्मेदवार भई निर्वाचित भएका थिए।
२०५१ सालमा पनि खोटाङबाटै निर्वाचित अशोक यात्रायात मन्त्री बनेका थिए। २०५३ सालमा संसदीय व्यवस्था मन्त्री बने। २०५६ को आम निर्वाचनमा उदयपुरबाट उठेका उनी पराजित भएका थिए। तर‚ २०६१ मा स्वास्थ्य मन्त्री बनेका थिए।
एमालेदेखि एमालेसम्म
२०६२/६३ को राजनीतिक परिवर्तनपछि देशमा शासकीय स्वरूप कस्तो हुने भन्ने विषयमा बहस चर्किएको थियो। एमालेका तत्कालीन उपाध्यक्ष अशोकले पार्टीभित्र पहिचान सहितको संघीय राज्य हुनुपर्ने, आत्मनिर्णयको अधिकार र अग्राधिकारको व्यवस्था हुनुपर्ने जस्ता मुद्दा उठाउँदै आएका थिए। २०६९ जेठ ९ गतेको एमाले स्थायी समिति बैठकमा उनले आफ्नो माग सम्बोधन नभए पार्टी परित्याग समेत गर्न सक्ने चेतावनी दिए।
एमालेले उनका माग सम्बोधन गरेन। त्यसपछि एमाले ‘जनजाति विरोधी पार्टी’ भएको निष्कर्ष सहित २०६९ असोज १८ मा पार्टीका अन्य जनजाति नेताहरूलाई लिएर उनले पार्टी परित्याग गरेको घोषणा गरे। उनीसँगै राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङ, अजम्बर काङमाङ, वीरबहादुर लामा, रिजवान अन्सारी, हेमराज राई, गोपाल ठाकुर, सुशीला श्रेष्ठ लगायतले एमाले छाडे। लगत्तै एमाले छाडेका र अन्य असन्तुष्टलाई समेटेर अशोकले संघीय समाजवादी पार्टी गठन गरे। तर‚ आदिवासी जनजाति समुदायको राम्रो साथ पाउने उनीहरूको कल्पनाले फेल खायो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले प्रत्यक्षमा एक सीट पनि जित्न सकेन, समानुपातिकमा जम्मा पाँच सीट जित्यो। अशोक आफैं पनि समानुपातिकबाट संविधानसभा प्रवेश गरेका थिए।
पार्टीले अपेक्षित सफलता नपाएपछि एमाले छाडेर आएका कतिपय नेता एमालेमै फर्किए, कोही अन्यत्र लागे। त्यसपछि २०७२ जेठमा अशोक नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एकता भएर ‘संघीय समाजवादी फोरम’ नामको दल गठन भयो। २०७६ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पनि मिसिएपछि ‘समाजवादी पार्टी’ बन्यो। २०७७ मा महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएपछि अहिलेको जनता समाजवादी पार्टी (जसपा) बनेको हो।
पहाडदेखि मधेससम्म विभिन्न पार्टीसँग एकीकरण हुँदै जसपा बनिसक्दा एमालेकालका धेरैजसो सहकर्मीहरूले अशोकलाई छाडिसकेका थिए। यस पटकको निर्वाचनसम्म आइपुग्दा बाबुराम पनि अलग भएर नेकपा (माओवादी केन्द्र)लाई समर्थन गर्न पुगे। जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भए। अशोकसँगै एमाले छाडेका रकम चेम्जोङ पनि धनकुटाबाट प्रदेश सभा सदस्यमा पराजित भए। राजनीतिक जीवनको उत्तरार्धतर्फ लागिरहँदा अशोकलाई पनि यस पटक संसद् भवन प्रवेश गर्न ठूलै चुनौती थियो। उनी पनि एमाले फर्किन लागेको चर्चा वेला वेला चले पनि उनी फर्किएनन्। तर‚ एमालेकै दरिलो साथमा चुनौती पन्छाउँदै उनी संसद्मा प्रवेश गर्न सफल भए।
अशोकको जितसँगै एमालेले पनि यस क्षेत्रमा आफ्नो विरासत जोगाउन सफल भयो। २०७४ मा प्रतिनिधि सभामा जयकुमार सहित प्रदेश सभामा भीमप्रसाद आचार्य र प्रदीपकुमार भण्डरीलाई जिताएको एमालेले यस पटक अशोकसँगै प्रदेश सभा ‘क’ मा एमालेका रमेश बस्नेत र प्रदेश सभा ‘ख’ मा विजयकुमार राईलाई निर्वाचित गरेको छ।