नतीजा आउन बाँकी चार क्षेत्रमा कांग्रेस र एमालेको प्रतिस्पर्धा, कसको मत कति?
मतगणना भएका १६२ वटा निर्वाचन क्षेत्रमध्ये १५८ को नतीजा आइसकेको छ भने चार वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
मंसीर ४ गते मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिकामा झडप हुँदा एक युवकको मृत्यु भएपछि चुनावी प्रक्रिया अवरुद्ध भएको छ। त्यहाँ कहिले निर्वाचन हुने भन्ने तय भएको छैन। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्।
स्याङ्जा-२ मा पनि विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै विवाद उत्पन्न भएको छ। मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको छैन। यो क्षेत्रमा एमाले उम्मेदवार पद्मा अर्याल र कांग्रेसका उम्मेदवार धनराज गुरुङ प्रतिस्पर्धामा छन्।
त्यस्तै, मतगणना विवाद भएको अर्को क्षेत्र हो, दोलखा। एउटै निर्वाचन क्षेत्र रहेको दोलखाका १० वटा मतदान केन्द्रमा निर्वाचन आयोगले मंसीर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ। यो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटी र नेकपा (माओवादी केन्द्र) का गंगा कार्की प्रतिस्पर्धामा छन्।
यी तीन बाहेक १६२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको थियो। त्यसमध्ये १५८ निर्वाचन क्षेत्रमा मतगणना सकिएको छ भने चार वटा निर्वाचन क्षेत्रको मात्रै बाँकी छ। जसमा सुनसरी-३ र ४, उदयपुर-१ र धनुषा-४ छन्।
सुनसरी-३ मा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता लिइरहेकी छन्। चौधरीको ३२ हजार ४१७ मत छ भने उनका प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २७ हजार ६५६ मत पाएका छन्।
त्यस्तै, सुनसरी-४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन्। कार्कीले २३ हजार ४३९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत पाएका छन्।
मतगणना ढिलाइ भएको अर्को निर्वाचन क्षेत्र उदयपुर-१ मा कांग्रेसका उम्मेदवार नारायण खड्का अग्रस्थानमा छन्। उनले २१ हजार ८३३ मत पाएका छन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीले २० हजार १२० मत पाएकी छन्।
चौथो ढिलाइ भएको निर्वाचन क्षेत्र धनुषा-४ मा पनि कांग्रेस उम्मेदवार महेन्द्रराय यादवले अग्रता लिएका छन्। उनले ३१ हजार ३१६ मत पाएका छन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार रघुवीर महासेठले ३१ हजार २१ मत पाएका छन्।