राप्रपा पुनरुदयको सन्देश
२०४६ सालमा पञ्चायती व्यवस्था अन्त्य भएपछि पूर्व पञ्चहरूले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो नतीजा हासिल गरेको छ।
प्रतिनिधि सभामा प्रत्यक्षबाट राप्रपाका सात उम्मेदवार निर्वाचित भएका छन्। झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर-१ बाट दीपकबहादुर सिंह, चितवन-३ बाट विक्रम पाण्डे, रुपन्देही-३ बाट दीपक बोहरा, बाँके-२ बाट धवलशमशेर राणा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ बाट ध्रुवबहादुर प्रधान र जुम्लाबाट ज्ञानबहादुर शाही प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
प्रदेश सभामा पनि राप्रपाका ११ उम्मेदवार निर्वाचित भएका छन्। झापा १ ‘ख’ बाट सबिना बजगाईं र झापा ४ ‘ख’ बाट भक्तिप्रसाद सिटौला प्रदेश १ सभा सदस्य बनेका छन्। बागमती प्रदेश सभामा धादिङ २ ‘ख’ बाट डम्बर तामाङ, काठमाडौं २ ‘क’ बाट सुनील केसी, काठमाडौं २ ‘ख’ बाट राजु विष्ट, काठमाडौं ५ ‘क’ बाट राजेन्द्र प्रजापति, काठमाडौं ८ ‘ख’ बाट उद्धव थापा, काठमाडौं ९ ‘क’ बाट नुरज बज्राचार्य र चितवन ३ ‘क’ बाट गिरबहादुर तामाङ निर्वाचित भएका छन्। यस्तै, लुम्बिनी प्रदेश सभामा रुपन्देही १ ‘क’ बाट आशिषकुमार चौधरी र कपिलवस्तु ३ ‘ख’ बाट जानकीप्रसाद यादव निर्वाचित भएका छन्।
समानुपातिकतर्फ पनि राप्रपाले राम्रो मत पाएको छ। प्रतिनिधि सभामा ९३ लाख मतगणना हुँदा पाँच लाख ४५ हजार ९८६ समानुपातिक मत पाएर राप्रपा समानुपातिकमा धेरै मत पाउने पाँचौं पार्टी बनेको छ।
त्यस्तै, प्रदेश १ सभामा समानुपातिक मतका आधारमा तेस्रो स्थानमा छ। राप्रपाले नेकपा (माओवादी केन्द्र)लाई पनि जितेको छ। राप्रपाले १७ लाख समानुपातिक मत गणना हुँदा एक लाख ८२ हजार ८१७ मत पाएको छ।
मधेशमा १७ लाख मत गणना हुँदा ५७ हजार ९६५ मत प्राप्त गरेको छ भने बागमतीमा नेकपा (एमाले) र नेपाली कांग्रेसपछि तेस्रो स्थानमा छ। १६ लाख समानुपातिक मत गणना हुँदा दुई लाख ५३ हजार २०९ मत पाएको छ।
अहिलेसम्म गणना भएकाेमध्ये गण्डकीमा नौ लाखमध्ये ५७ हजार ११६, लुम्बिनीमा १८ लाखमध्ये एक लाख २५ हजार ९३५, कर्णालीमा पाँच लाखमध्ये २५ हजार १८६ र सुदूरपश्चिममा आठ लाखमध्ये ३६ हजार ७७४ मत पाएको छ।
यो जितसँगै राप्रपा पाँचौं राष्ट्रिय पार्टीका रूपमा स्थापित भएको छ। यसअघि २०७४ सालको निर्वाचनमा राप्रपा सातौं पार्टीका रूपमा रहेको थियो। त्यति वेला प्रत्यक्षतर्फ एक सीट मात्रै जितेको थियो भने समानुपातिकमा ‘थ्रेसहोल्ड’ पनि पार गर्न सकेको थिएन।
२०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापनापछि राप्रपा स्थापना भयाे। त्यतिबेलै थापा र चन्द राप्रपा बन्याे। त्यसपछि टुट्ने र जुट्ने क्रममा चल्दै आयो। यस पटक झट्का दिएको छ, प्रत्यक्षमा सात सीट जितेर।
२०४८ सालमा राप्रपा थापाबाट अब्बरबहादुर सिह, राप्रपा चन्दबाट प्रकाशचन्द्र लाेहनी, पशुपति शमशेर जबरा प्रतिनिध सभा सदस्यमा निर्वाचित भए।
२०५१ सालको चुनावमा पनि २० सीट जितेर प्रभावशाली पार्टी बनेको थियो।
२०६४ को संविधान सभामा प्रत्यक्ष तर्फ एक सिट नजिते पनि समानुपाति तर्फ राप्रपाले ८ र राप्रपा नेपालले ४ सिट जित्यो।
त्यसपछि सुस्ताएको राप्रपाले २०७० सालको संविधानसभा निर्वाचनमा फेरि सफलता हासिल गरेको थियो। त्यति वेला राप्रपाले प्रत्यक्ष र समानुपातिक गरी १३ सीट जितेको थियो। राप्रपा नेपालले समानुपातिकमा २४ सिट पायो।
२०७४ सालको आम निर्वाचनमा आउँदा भने एक सीटमा समेटियो। त्यसयता पनि पार्टी विभाजनले राप्रपालाई सङ्कटमा पार्दै लगेको थियो।
याे निर्वाचनमा एकाएक प्रभावशाली देखिएकाे छ। “२०७८ सालसम्म आइपुग्दा त पार्टीको अस्तित्व नै सङ्कटमा पर्दै गएको थियो,” राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, “यस पटक हामीले पहिले गरेका कुनै पनि गल्ती दोहोर्याएनौं र सफल भयौं।”
उनका अनुसार, यसअघि राप्रपा कमजोर हुनुको मुख्य कारण हो- नेतृत्व तहमा रहेका व्यक्तिहरूले सरकारमा जान पटक पटक गरेको सम्झौता। २०७० सालमै पनि एमाले, माओवादी र कांग्रेससँग मिलेर राप्रपा सरकारमा सहभागी भयो। उनी भन्छन्, “हामी पटक पटक सरकारमा गएको जनताले मन पराएनन्। त्यसै कारण पनि राप्रपाले पहिलेको चुनावमा राम्रो नतीजा ल्याउन सकेन।”
यस पटक सकारात्मक नतीजा आउनुमा पहिलेका गल्ती नदोहोर्याएर ठूला दलसँग तालमेल नगरेको उनको भनाइ छ। २०७४ सालमा राप्रपाले पाँच सीटमा नेपाली कांग्रेसँग तालमेल गरेको थियो भने १६० सीट छोडेको थियो।
यस पटक राप्रपाले तीन वटा सीटमा मात्र एमालेसँग तालमेल गरेको थियो। त्यस बाहेक १४२ ठाउँमा उम्मेदवार उठाएको थियो।
यससँगै नेतृत्व चयन र भ्रष्टाचार विरुद्धको स्पष्ट सङ्कल्पले पनि काम गरेको प्रवक्ता श्रेष्ठको ठम्याइ छ। “पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने धारणा अघि सार्नुभयो। यही धारणालाई पार्टीको सङ्कल्पका रूपमा अघि बढायौं,” उनी भन्छन्, “पुराना शक्तिहरूको गलत नीति, भ्रष्टाचार, बेरोजगारी र राष्ट्रिय समस्या समाधान गर्न ठूला दल उदासीन भइरहेको अवस्थामा हामीले जनतामा नयाँ आशा देखाउन सक्यौं।”
गणतन्त्र उल्टिने सम्भावना छैन
राजनीतिक विश्लेषकहरू पनि राप्रपाको सफलतालाई ठूलो दलको असफलतासँग जोड्छन्। विश्लेषक श्याम श्रेष्ठ यो जित राप्रपाको कुनै सबल पक्षबाट नभई जनताको आक्रोश र प्रतिक्रियात्मक मतका कारण भएको अर्थ्याउँछन्। “वामपन्थी र शासनसत्तामा भएका सरकारले राम्ररी देश नचलाएकै कारण राप्रपा अगाडि आएको हो,” श्रेष्ठ भन्छन्, “यसको फाइदा राप्रपालाई मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि भएको छ।”
प्रमुख दलहरूले शासनसत्ता राम्ररी सञ्चालन नगर्दा, भ्रष्टाचार, कुशासन बढ्दा यसको प्रतिक्रियामा राप्रपाले मत पाएको उनको भनाइ छ। “सत्तासीन दलहरूले न सरकार छाडे, न देशको हितका लागि केही काम गरे, न त नयाँ पुस्तालाई नै हस्तान्तरण गरे। यी तीनै काम पूरा नहुँदा जनता आजित र आक्रोशित भएर यस्तो नतीजा आएको हो,” श्रेष्ठ भन्छन्।
यसका लागि उनी स्थानीय तहको चुनावलाई जोड्छन्। “राप्रपाले राम्रो काम गरेर वा भ्रष्टाचार विरुद्ध बोलेर मत आएको जस्तो लाग्दैन। यस्तो हुन्थ्यो भने स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले धेरै मत ल्याउनुपर्थ्यो,” उनी भन्छन्, “स्थानीय तहमा सबैले राम्रो काम गरेका थिए। त्यसैले यसमा मत काटिएन, तर संघीय सरकारमा राम्रो काम नहुँदा नयाँ पार्टीले अवसर पाएका हुन्।”
उनी राप्रपामा आएको नयाँ नेतृत्वलाई पनि यसको जस दिन्छन्। “कमल थापाको पालामा एक प्रतिशतभन्दा बढी मत आएको थिएन भने हाल राजेन्द्र लिङ्देन आउँदा राम्रै भएको छ,” विश्लेषक श्रेष्ठ भन्छन्।
पुरानो पार्टी आफ्नै सिद्धान्त र लक्ष्यमा अडिग भएका कारण जनताले समर्थन गरेकाे जानकारहरु बताउँछन्। राप्रपाको जितलाई अवसरवादी र सिद्धान्तहीन राजनीतिको अभ्यास हुनथालेपछि मतदाताहरूले यसको प्रतिक्रिया दिएको राजनीतिक विश्लेषक नीलम्बर आचार्य बताउँछन्। हरेक राजनीतिक दलहरु सिद्धान्तनिष्ठ, मूल्य मान्यता र आफ्नो लक्ष्यमा अडिग रहन नसकेकै कारण युवा वर्गले वैकल्पिक पार्टीलाई मत दिन थालेको बताउँछन्।
“देशमा गणतन्त्र रहिरन्छ, यो उल्टिने सम्भावना छैन, स्वस्थ्य राजनीति गर्ने पार्टीलाई नै युवाहरुले समर्थन गर्दै जानेछन्,” आचार्य भन्छन्।
राप्रपा प्रवक्ता श्रेष्ठ भने जनतामा आशा, विश्वास र भरोसा दिलाउन सकेकै कारण निर्वाचन नतीजा आएको तर्क गर्छन्। यो सोचे जस्तो नभएको उनको जिकिर छ। “हाल आइरहेको परिणामभन्दा पनि हामीले अझै राम्रो नतीजाको अपेक्षा गरेका थियौं,” प्रवक्ता श्रेष्ठ भन्छन्, “हामीले अपेक्षा गरे अनुसारको परिणाम ल्याउन सकेनौं, तर यो परिणामको जगमा उभिएर सबल र देश हाँक्ने पार्टी बनाउँछौं।”