दोलखाका १० मतदान केन्द्रमा मंसीर १५ मा मतदान हुने
दोलखाका १० वटा मतदान केन्द्रमा मंसीर १५ गते पुनः मतदान हुने भएको छ।
स्वच्छ निर्वाचन नभएको भन्दै निर्वाचन आयोगले ती मतदान केन्द्रमा यसअघि मंसीर ४ गते भएको मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय गरेको हो।
आयोगले बैतेश्वर गाउँपालिका–२ को जनज्योति मावि, पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, वडा नं. ६ बैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र तामाकोशी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पनि पुनः मतदान गराउने भएको हो।
यी सात वटा मतदान केन्द्रमा ‘मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको’ आयोगले जनाएको छ।
त्यस्तै, बैतेश्वर गाउँपालिका–३ कालिढुंगा मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुने भएको छ। कालिढुंगाको मतदान केन्द्र ‘ख’ मा अनियन्त्रित भीडलाई तितरबितर पार्ने क्रममा १०० थान मतपत्रको अधकट्टी हराएको थियो। त्यसैले एउटै मतदानस्थलमा रहेका तीनै मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ।