अनुमोदन भएनन् ‘कोभिड कमान्डर’
कोभिड-१९ महामारीका वेला पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेका नेताहरूलाई जनताले चुनावमा मतको माध्यमबाट सजाय दिएका छन्।
२०७६ चैतमा नेपाल छिरेको कोरोना महामारीको प्रभाव करीब तीन वर्षसम्म रह्यो। उक्त अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘कमान्ड’ भानुभक्त ढकाल, विरोध खतिवडा, हृदयेश त्रिपाठी र उमेश श्रेष्ठले सम्हाले। त्यस्तै, कोभिड महामारी नियन्त्रण गर्न सरकारले बनाएको ‘नोबल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ मा ईश्वर पोखरेल संयोजक थिए।
संयोग नै भन्नुपर्छ, त्यो वेला सन्तोषजनक काम नगरेका यी पाँचै जना भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोरोना महामारीमा काम नगरेकै कारण उनीहरूलाई जनताले दण्डित गरेका बताउँछन्। कोरोना महामारीमा नेताको कारण सास्ती पाएको रिस जनताले निर्वाचनमा पोखेको उनको भनाइ छ। डा. मरासिनी भन्छन्‚ “कोरोनाको वेला अस्पतालमा बेड र अक्सिजन अभाव भएर धेरै जनता अकालमा मरेका थिए, उनीहरूको हार त्यसको परिणाम हो।”
एमालेको भावी नेतृत्व दाबी गरिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका छन्। पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७५ मत प्राप्त गरेका छन्। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेल कोरोना महामारीको वेला स्वास्थ्य सामग्री खरीदलाई लिएर विवादित भएका थिए।
तत्कालीन नेकपा नेतृत्वमा केपी शर्मा ओली सरकारले २०७६ फागुन १८ गते पोखरेलको संयोजकत्वमा गठन गरेको ‘नोबल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ लाई कोरोना महामारी नियन्त्रणको प्रमुख भूमिका दिएको थियो। तर, पोखरेलले उक्त जिम्मेवारी राम्ररी निर्वाह गर्न सकेनन्। महामारीले देश आक्रान्त भइरहेको वेला उनी स्वास्थ्य सामग्री खरीद अनियमिततामा समेत मुछिए।
समन्वय समितिले २०७६ चैत ११ गते निजी क्षेत्रसँग स्वास्थ्य सामग्री खरीद गर्ने निर्णय गरेको थियो। त्यही अनुसार‚ स्वास्थ्य सेवा विभागले सामानको मूल्य सहित छलफलमा आउन आपूर्तिकर्तालाई आह्वान गर्यो। त्यसको भोलिपल्टै स्वास्थ्य सेवा विभागले ओबीसीआई प्रालि (ओम्नी)को नाम सिफारिश गरेपछि त्यही दिन मन्त्रीस्तरबाट निर्णय भयो। कम्पनीलाई कार्यादेश पठाउने, कम्पनीले पत्राचार गर्ने र ब्यांकलाई पत्र पठाउने काम समेत रातारात भएको थियो।
सम्झौता अनुसार ओम्नी समूहले चैत १६ गते पहिलो चरणमा सामान पनि ल्याएको थियो। तर, महँगोमा सामान खरीद भएको तथ्य सार्वजनिक भएपछि विभागले चैत १९ मा ओम्नीसँगको सम्झौता रद्द गरेको घोषणा गर्यो। त्यसमा समन्वय समितिका संयोजक पोखरेल र प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिको स्वार्थ जोडिएका भनाइ आए। तर‚ त्यसको अनुसन्धान अझै सकिएको छैन। सोही प्रकरणमा अनियमितता भएको भन्दै पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी समेत परेको थियो।
ढकाल मोरङ-३ बाट पराजित भए। ढकाल हार्नुमा कोरोना महामारीमा उनले अपनाएको कार्यशैली कारण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्। ढकालले कोभिड-१९ को संक्रमणको शंका लागेका व्यक्तिलाई राख्ने क्वारेन्टिन स्थल भद्रगोल हुँदा नदेखे झैं गरेका थिए। त्यस्तै, गुणस्तरहीन आरडीटी कीटबाट परीक्षण गरेर क्वारेन्टिन स्थलबाट घर पठाउने अवैज्ञानिक निर्णय पनि उनकै पालामा भएको थियो। क्वारेन्टिन स्थलबाट अस्पताल पुर्याउने बन्दोबस्त नहुँदा संक्रमितको मृत्यु समेत भएको थियो।
कोभिड-१९ संक्रमण उत्कर्षमा पुगिरहेको वेला आरडीटी कीटको प्रयोग व्यर्थ हुने भएकाले पीसीआर कीट प्रयोगलाई प्राथमिकता दिन जनस्वास्थ्य विज्ञहरूले मन्त्रालयलाई सुझाव दिइरहेका थिए। मन्त्रालय अन्तर्गतकै स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले पनि आरडीटी प्रयोग नगर्न भन्दै मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। तर, मन्त्री ढकालले आरडीटी कीट प्रयोगमा जोड दिए। जबकि‚ स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने स्वास्थ्य व्यवस्थापन महाशाखाले तयार पारेको खरीद गर्नुपर्ने सामग्रीको सूचीमा आरडीटी कीट नै थिएन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवा विभाग दुवैको राय पनि आरडीटी कीटबारे सकारात्मक थिएन। तर, ओम्नी समूहसँग खरीद सम्झौताका लागि बनाइएको वार्ता टोलीका संयोजक डा. खेम कार्कीको टोलीको सल्लाहमा तत्काल मास स्क्रीनिङका लागि चाहिने भन्दै पटक पटक गरेर झण्डै पाँच लाख थान आरडीटी कीट खरीद गर्ने निर्णय भएको थियो। सम्झौता अनुसार‚ दोस्रो चरणमा आउनुपर्ने कीट पहिलो चरणमै ल्याइएको थियो। जनस्वास्थ्यविद्हरूले आरडीटी कीटको प्रभावकारिताबारे प्रश्न गर्दा ढकालले नसुने झैं गरेका थिए।
ढकाल स्वास्थ्य मन्त्री हुँदा भएका विवादित निर्णयको सूची लामो छ। उनले संक्रमित र मृतकको संख्या कम देखाउन ‘टेस्टिङ प्रोटोकल’ र शव व्यवस्थापन सम्बन्धी प्रोटोकल समेत परिवर्तन गरेका थिए।
ढकालपछि स्वास्थ्य मन्त्रालयको कमान्ड हृदयेश त्रिपाठीले सम्हालेका थिए। त्रिपाठीको कार्यकालमा अक्सिजन अभाव भएर बचाउन सकिने कोभिड-१९ संक्रमित मरिरहेका थिए। शय्या अभावमा संक्रमितलाई अस्पतालको प्राङ्गणमा राख्नुपरेको थियो। उनले खोप खरीदको काम समयमै सम्पन्न गर्न सकेनन्। मन्त्री त्रिपाठीले पनि ढकालको जस्तै गल्ती दोहोर्याएका थिए।
नीतिगत निर्णय र महामारी व्यवस्थापन दुवैमा चुकेका जनता प्रगतिशील पार्टी, नेपालका उम्मेदवार त्रिपाठी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा कांग्रेसका विनोद चौधरीसँग सात हजार १५१ मतान्तरले पराजित भएका छन्। चौधरीले २९ हजार ४५९ मत प्राप्त गर्दा त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका थिए।
त्रिपाठीपछि स्वास्थ्य राज्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालेका थिए। उनले पनि अपेक्षा अनुरूप काम गर्न सकेनन्। उनको प्राथमिकता महामारी नियन्त्रण गर्नुभन्दा पनि शक्ति केन्द्रको इशारामा कर्मचारी सरुवाबढुवा गर्नेमा केन्द्रित रह्यो।
श्रेष्ठले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा १२औं तहका डा. दीपेन्द्ररमण सिंहलाई हटाएर अवकाश पाउन तीन महीना बाँकी रहेका ११औं तहका डा.आरपी बिच्छालाई नियुक्त गरे। स्वास्थ्यका एक अधिकारीका अनुसार, बिच्छालाई महानिर्देशक बनाउनुको ‘कनेक्शन’ सरकारले खरीद गर्ने खोपको कमिशनसँग जोडिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको दबाबमा बिच्छालाई महानिर्देशक बनाइएको थियो।
महामारी नियन्त्रणको काम बिर्सेर कर्मचारी सरुवाबढुवामा रमाएका श्रेष्ठले २०७८ साउन १९ गते युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकृतमा ११औं तहका डा.रुद्र मरासिनीलाई दिए लगत्तै नियुक्तिपत्र खोसेर दशौं तहका डा.भूपेन्द्र बस्नेतलाई दिएका थिए। त्यस्तै‚ राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा.प्रमोद जोशीलाई ल्याए। उनको सरुवा शृङ्खला यतिमै रोकिएन, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई हटाएर औषधि व्यवस्था विभागका ‘सदाबहार महानिर्देशक’ भनिने डा.नारायण ढकाललाई लगे। ढकाल पटक पटक विवादमा मुछिएका व्यक्ति हुन्। त्यस्तै, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशकबाट डा.प्रेमराज ज्ञवालीलाई हटाएर अर्का विवादित व्यक्ति डा.पुकारचन्द्र श्रेष्ठलाई निर्देशक बनाउने बाटो खोले।
राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यलयमा तानिएपछि स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हाल्न नेकपा (एकीकृत समाजवादी)को कोटाबाट विरोध खतिवडा आए। आफूअघिका विभागीय मन्त्रीको गल्तीलाई नै निरन्तरता दिएका खतिवडा मकवानपुर-२ बाट एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका छन्। खतिवडाले ३० हजार ३९६ मत पाउँदा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरेका छन्।
जनस्वास्थ्यविद् डा.शरद वन्त महामारीको वेला स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हाल्न आएका कुनै पनि मन्त्रीले स्मरणयोग्य काम नगरेको बताउँछन्। मन्त्रीहरूले महामारीको वेला जनमुखी काम नगरेर जीवनभरलाई पुग्ने राजनीतिक पूँजी कमाउने अवसर गुमाएको वन्तको भनाइ छ। कोरोना महामारीबाट सास्ती पाउँदा सरकार भएको महसूस नगराएकै कारण जनताले महामारीमा पाएको सास्तीको बदला निर्वाचनमा लिएको उनको भनाइ छ। डा. वन्त भन्छन्‚ “नेताहरूले महामारीमा काम गर्ने अवसर उपभोग गरेनन्, त्यसैले जनताले अवसर पाउँदा उनीहरूलाई पराजित गराए।”