मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्न प्रसारण सञ्जाल बनाउँदै विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरूमा करीब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।
प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायत जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको जनाएको छ।
भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेशनहरू निर्माण गरिनेछन्। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिनेछ। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ठाउँ ठाउँमा सबस्टेशनहरूको निर्माण गरिनेछ। अहिले प्रस्तावित प्रसारण लाइनको रूट र सबस्टेशनहरू रहने स्थान तय गर्ने कामहरू भइरहेको प्राधिकरणले जनाएको छ।
बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करीब ३२ सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछ। यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरूमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुनेछ।
प्रसारण लाइन तथा सबस्टेशनहरू निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्नेछ। यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम ब्यांक, एशियाली विकास ब्यांक लगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदाता लगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायत विषयमा जानकारी लिएको छ।
कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारततर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए। “पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेशनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिनेछन्,” उनले भने।
केही प्रसारण लाइन तथा सबस्टेशनहरू निर्माण भइरहेका तथा केही तत्काल शुरू हुन लागेको बताउँदै घिसिङले अन्य दीर्घकालीन रूपमा निर्माण गर्ने गरी सबस्टेशनका लागि जग्गा लिने, प्रसारण लाइनको रूट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया शुरू गर्ने लगायत काम भइरहेको जानकारी दिए। उनले भारतको मोतीहारी, सीतामणि, जयनगर बिन्दुतर्फ विद्युत् निर्यात गर्न सकिने बताए।
बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेशन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिनेछ। बाराका प्रसौनीमा १३२ केभी सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको छ।
जनकपुर क्षेत्रको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका १३२ केभी सबस्टेशनको निर्माण भइरहेको छ। लोहरपट्टीमा १३२ केभी सबस्टेशन निर्माणाधीन छ। यसै गरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ।