दोलखाका १० मतदान केन्द्रमा फेरि मतदान हुने
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ।
आयोगको आइतबार बसेको बैठकले विवादित १० मतदान केन्द्रमा मतदान गर्ने निर्णय गरेको सहायक प्रवक्ता ऋषिराम भुसालले बताए। दोलखाको बैतेश्वर गाउँपालिका-२ को जनज्योति मावि, पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, वडा नं. ३ कालिढुंगा मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वडा नं. ६ बैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुने भएको छ।
त्यस्तै, तामाकोशी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पनि पुनः मतदान गराउने निर्णय भएको भुसालले जानकारी दिए।
आयोगले यी १० मतदान केन्द्रमा मंसीर ४ गते भएको मतदान रद्द गर्ने निर्णय पनि गरेको छ। यससँगै सबै स्थानमा मंसीर १५ गतेभित्र पुनः मतदान हुने भएको छ।