समानुपातिकमा कुन दलले कति सीट ल्याउला?
मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा छ। निर्वाचन आयोगका अनुसार, आइतबार साँझसम्म ८९ लाख हाराहारीमा मत गनिसकिएको छ।
यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये ६१ प्रतिशत हाराहारीमा मतदान भएको अनुमान छ। यसले एक करोड १० लाख हाराहारी मतदाताले मतदान गरेको देखिन्छ। अघिल्ला निर्वाचनको जस्तै तीन प्रतिशत मत बदर भएको अनुमान गर्दा एक करोड ६ लाख ७० हजार हाराहारीमा मत सदर भएको अनुमान लगाउन मिल्छ। यसरी हेर्दा अब १८ लाख जति सदर मत गणना गर्न बाँकी छ।
समानुपातिक प्रणालीका ११० सीटमध्ये कुन पार्टीले कति ल्याउला भन्नेमा सर्वत्र चासो छ। अहिलेसम्म नेकपा (एमाले)ले २४ लाख ४३ हजार मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख २० हजार मत पाएको छ। कांग्रेसभन्दा एमालेको मत एक लाख २३ हजारले बढी छ।
तथ्याङ्कशास्त्री समीर केसीले ८८ लाख ४१ हजार मतको गणनाका आधारमा गरेको आकलन अनुसार, एमालेले समानुपातिकतर्फ ३५ सीट पाउनेछ। अहिलेसम्मको मतलाई अन्तिम मान्दा समानुपातिकतर्फ कांग्रेसले ३३ सीट पाउनेछ।
नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले समानुपातिकमा १०-१० लाखको सीमा पार गरेका छन्। दुवै दलले समानुपातिकतर्फ १५-१५ सीट पाउने अनुमान तथ्याङ्कशास्त्री केसीको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा आठ सीट र जनता समाजवादी पार्टीले चार सीट पाउने अनुमान गरिएको छ। समानुपातिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाखभन्दा धेरै र जनता समाजवादी पार्टीले तीन लाखभन्दा धेरै मत पाइसकेका छन्।
नेकपा (एकीकृत समाजवादी)को समानुपातिक मत भने दुई लाख ३९ हजार छ। यसले अहिलेसम्मको गणनाको अनुपातमा ‘थ्रेसहोल्ड’ पार गर्ने नदेखिएको तथ्याङ्कशास्त्री केसीको विश्लेषण छ। कानून अनुसार, समानुपातिक प्रणालीको सीटमा भाग पाउन कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ। अहिलेसम्म एकीकृत समाजवादीले २.६८ प्रतिशत मत पाएको छ।
यद्यपि, बाँकी मतगणनामा एकीकृत समाजवादीले मत बढाएमा भने समानुपातिक प्रणालीको सीटमा भाग पाउनेछ। त्यसो हुँदा, ठूला दलले समानुपातिक सीट बाँडफाँड गर्नुपर्ने हुन्छ। समानुपातिकतर्फको मतगणना जारी रहेकाले अहिले गरिएको अनुमान अन्तिम परिणाम आउँदासम्म फरक समेत पर्न सक्छ।