एनसेलको ई-सिम वितरण शुरू
एनसेलले आफ्ना ग्राहकका लागि ई-सिम वितरण शुरू गरेको छ।
सिमकार्ड चलाइरहेका एनसेलका ग्राहकले अब ई-सीम सेवा लिन सक्ने कम्पनीले जनाएको छ। एनसेल आजियाटा लिमिटेडले मंसीर ९ देखि ई-सिम वितरण गर्न थालेको घोषणा गरेको हो। यससँगै ग्राहकले ई-सिम चल्ने मोबाइलमा ई-सिमको प्रयोग मार्फत फाइदा लिन सक्नेछन्।
ई-सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिकको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिप हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ। यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।
एनसेलका ग्राहकले एसएमएस मार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिमलाई ई-सिममा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ।
ई-सिम सुचारू गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्न कुनै शुल्क लाग्नेछैन।
ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्न सक्ने जनाइएको छ।