मुन्धुम अध्येता भरत दाइ
इतिहास र मुन्धुमको अध्ययन र सङ्कलनमा गहिरो रुचि राख्ने भरत तुङ्घङले वंशावली कागजका टिपोट, स्याहामोहोर, लालमोहोर, सनद, रुक्काका साथै ऐतिहासिक सामग्री सङ्कलन गर्नुभएको थियो। ती वस्तुको लिम्बू समुदाय र राज्यले संरक्षण गर्न आवश्यक छ।
सानो छँदा हामी घरमा खेलेरै समय फाल्थ्यौं। यो देखेर आमाले आफ्ना भदाहरू पढ्ने गरेको सुनाउँदै हामीलाई गाली गर्नुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो‚ “मेरो भदाहरू भरत र घनेन (लक्ष्मी मामाका छोरा) गोकुण्डेश्वर हाईस्कूल (माथिल्लो गोकुण्डेश्वर मावि धनकुटा) पढ्छन्। छुट्टीमा घर आउँदा डाङ कि डाङ ढिकी कुट्छन।” भरतको नाम पहिलो पटक आमाकाे मुखबाट सुनेको थिएँ।
आमाले कुरा गर्नुभएको भरत दाइ हाम्रो घर आउनुभयो। मावली जानुभएकी हाम्री आमालाई पुर्याउन मुसाङखेलस्थित हाम्रो घर उहाँ आउनुभयो। त्यसपछि मावली हजुरबा बित्नुहुँदा पनि बर्खान्तका लागि निम्तो दिन आउनुभएको थियो। मोटो‚ गहुँगोरो वर्णको फरासिलो हुनुहुन्थ्यो भरत दाइ। बोल्नुहुँदा अनुहारै हाँसेको देखिन्थ्यो।
वसन्तपुरबाट धरान जान बस चढेको थिएँ। धनकुटाको सिंधुवा पुगेपछि १५-२० जना मान्छेबीच दौरासुरुवालमा सजिनुभएका भरत दाइलाई बोलिरहेको देखें र ओर्लिएँ। दाइले याक्थुङ्बा लिम्बू मृत्यु संस्कार अनुसार मृतकका परिवारलाई नुनतेल मागिदिंदै हुनुहुन्थ्यो। फेदाङ्मा (लिम्बू देवारी)सँग उहाँको सवालजवाफ चलिरहेको थियो। भरत दाइ तुम्याङहाङ (ठूलाबडा)को भूमिका लिएर मुन्धुम फलाकिरहनुभएको थियो। उहाँको धाराप्रवाह मुन्धुम सुनेर फेदाङ्मा छक्क पर्दै थिए। सवालजवाफ सकियो। लठ्ठी भाँचियो (नुनतेल संस्कार सकिएपछि सवालजवाफ गर्ने प्रतिनिधि र तुम्याहाङले टेक्दै गरेका लौरो भाँच्नुपर्ने हुन्छ)। खाजा खाएर हामी भरत दाइको कोठामा लाग्यौं। यसरी भरत दाइ र मेरो हिमचिम बढेको थियो।
उहाँ २०५० सालतिर सिंधुवा बजारमा अध्यापन गर्नुहुन्थ्यो। त्यो समय म १८ वर्षको र उहाँ करीब २४ वर्षको। उहाँको सानो कोठा थियो। कोठामा सानो कन्तुर थियो। चिठीपत्रका खोलहरू रहिरहेका थिए। ती पत्रहरू उहाँका प्रेमिका हुनुपर्छ। अन्य कपडाभन्दा बढी ढाका टोपी र गलबन्दी थिए।
दाइले भोलिपल्ट शनिबार परेकाले उहाँको घर जाऔं भन्नुभयो। सिंधुवा बजारदेखि चालाचुलीको डाँडैडाँडा दाजुभाइ ओह्रालो झर्यौं। ओहो! दाइले वरिपरिका गाउँघरमा लाग्ने हटियाको कुरा गर्न थाल्नुभयो। विशेष गरी तरुनीहरूका कुरा। अनुहार भएकी, जिउडाल उस्तो, यस्तो पालाम गाउने आदि। धनकुटा चौबिसको फलामेटार र हंशेमोरङको बीच बगरमा लाग्ने शिवरात्रि मेला। परेवादिनको खक्तापमा लाग्ने रगरगे मेला। हिलेमा लाग्ने रामनवमी मेला। उहाँको साथी चाहिं आफ्नै तुम्बा (बडाबा)को छोरा तेजकुमार। स्वर सुरिलो नभए पनि भरत दाइमा उखान टुक्काहरू मिलाएर तुरुन्तै ओठे जवाफ दिन सक्ने खूबी थियो।
उहाँका पालामका केही ना?लाहरूः
उज्यालो घ्यु ए। हजुर ज्यु ए
सुन फुल्यो तोरी कठै बोरी
दार्जिलिङ सहर लाइनै ठूलो
जिन्दगी भरि चैनै ठूलो
सेमेक्वा पुःन ग हाप्र वा आ
साप्तुबेन तान्दी ग आखे बा आ। (सिबिउ चरी रोएर उडिरहे जस्तै हाम्रो भविष्य पनि त्यस्तै हुने पो हो कि?)
इतिहासको जानकार
उहाँ प्रायजसो गण्यमान्य लिम्बू वा बाहुन-क्षेत्रीको सात पुस्ता जान्नुहुन्थ्यो। चौबिसका नामी सुब्बा प्रेमबहादुर माबोहाङ, छथर जितपुरका तुम्बा, लुम्बा थरका पहलमान सुब्बा मात्रै होइन, सिभुवाका पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र मुगाका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पुर्खाहरूबारे पनि जानकारी राख्नुहुन्थ्यो।
गणतन्त्र आएपछि पहिचानको कुरा उठ्यो। लिम्बू, क्षेत्री लगायतले वंशावली लेख्न थाले। यही विषयलाई लिएर उहाँलाई विभिन्न ठाउँ र समुदायका मानिसहरूले सम्पर्क गरिरहेन्थे। किनकि‚ भरत दाइसँग वंशावली कागजका टिपोट, स्याहामोहोर, लालमोहोर, सनद, रुक्काका धेरैजसो फोटोकपी र केही सक्कल पनि थिए।
तत्कालीन थुमथुमका सुब्बाहरू धनकुटा गौंडामा तिरो तिर्न आउँदा उनीहरूबीच भएको राजनीतिक‚ धार्मिक र जातीय कुरा भरत दाइलाई कण्ठस्थ थियो। लिम्बूहरूका इतिहासबारे खोज अनुसन्धान गरिरहनुहुन्थ्यो। १० लिम्बुवान, १७ थुमबारे सोधीखोजी गरिरहनुहुन्थ्यो। अरुणपूर्वमा धनकुटा र इलाम गरी दुई वटा गौंडा थिए। धनकुटा गौंडाले ६ थुमको तिरो बुझ्थ्यो। त्यस्तै‚ इलामले चार थुमको तिरो बुझ्थ्यो। तेह्रथुम माल म्याङलुङले १३ थुमको तिरो बुझ्थ्यो। यसरी हेर्दा अरुणपूर्व लिम्बुवानमा जम्मा २३ थुम देखिन्छन्।
भरत दाइ १० लिम्बू, १७ थुम कुन कुन थिए भनी खोज अनुसन्धान गरिरहनुहुन्थ्यो। थुम पत्ता लगाउन सेनले दिएका स्याहामोहोर तथा शाह र राणाहरूले दिएका लालमोहोर, सनद, रुक्का, कस्यपत्रहरू, स्थानीय अमाली सुब्बाहरूले चलाएका तिरिजहरूको सङ्कलन गरी अध्ययन गरिरहनुहुन्थ्यो। उहाँसँग भएका केही कागजातहरू मदन पुरस्कार विजेता भगिराज इङ्नामद्वारा सङ्कलित पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्बत् १७१९-२०२० सन् १६६२-१९६३)मा छापिएका छन्। त्यस्तै‚ केही लालमोहोर र तिरिजहरू तेह्रथुमको चो?लुङ पार्कस्थित युमा संग्रहालयमा उहाँकी श्रीमती शशी चेम्जोङ तुङ्घङ मार्फत संग्रह गरिएका छन्। उहाँको धरानस्थित निवासमा पुराना हातहतियार तथा सामग्रीहरू छन्।
उहाँ ‘काइते अक्षर’ (डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले बुझ्नुपर्ने देवनागरी लिपिमा लेखिएको)को जानकार हुनुहुन्थ्यो। काइते अक्षरमा लेखिएका कुरा खुट्याउन नसक्दा मानिसहरू भरत दाइकहाँ पुग्थे। उहाँलाई किपटबारे पनि ज्ञान थियो। विभिन्न थरका लिम्बू सुब्बाहरूलाई फलना आगे सुब्बा, फलाना राईगिरी, फलना तिरुवा, फल्ना ठिंगे सुब्बा भन्नुहुन्थ्यो। फलानाले ६० मुरी माटो, फलानाले ३० मुरी माटो बुझाएर सुब्बा, राई पदवी लिएको बताउनुहुन्थ्यो। उहाँ दलितहरूलाई पनि सुज्यारो (दमाईं), ताले (कामी), पलेंटे (सार्की) भनेर राज्यले चिन्ने किपटिया भाषामा बोलाउनुहुन्थ्यो।
मुन्धुमी ज्ञान
भरत दाइ २०५२ सालदेखि सुनसरीको धरानमा बसोबास गर्न थाल्नुभयो। भाउजूसँगै खानेपानी कार्यालयमा काम गर्नुहुन्थ्यो। सूर्यबहादुर थापाले जागीर लगाइदिएको भन्नुहुन्थ्यो। प्रायः कमीज-सुरुवाल लगाउने भरत दाइले नै मलाई पनि कमीज-सुरुवाल लगाउन सुझाउनुभएको हो।
दाइ लिम्बू जातिका संस्कारबारे भनिरहनुहुन्थ्यो। साप्पोक चोमेन (गर्भ पूजा), न्वारान (याङदाङ फोङ्मा), सिमेरिङ माङ्गेन्ना (बालबालिकाको शिर उठाउने), फुङ्वा चाङ्मा (तरुणहरूको शिर उठाउने), खाम्बोलिङ नाहाङमा (घरमूलीको शिर उठाउने), युम साः (नुन तेल), खाउमा (शुद्ध्याइँ), मुई सेम्मा (मृतकसँग सातो छुट्याउने), तङसिङ वरोक (जिउँदाहरूका नाममा पवित्र स्थलहरू जगाउने/संरक्षण गर्ने) जस्ता जन्मदेखि मृत्युपर्यन्त संस्कारबारे चर्चा गरिरहनुहुन्थ्यो। उहाँ पाहुना (तरे खे?नाम) जाँदा पाहुनालाई गरिने संस्कार (हेनामोःमा)को पनि ज्ञाता हुनुहुन्थ्यो।
पाहुना जाँदा त्यस घरकाले यसो भन्छन् भन्दै उहाँ सुनाउनु हुन्थ्यो, “सगिबुङ लिङ् मेदेत्नेन‚ याङसामेन चिङ मेदेत्नेन। खोरिया खङखङ‚ तेम्मा मेन्लो मेन्नुबा इङ्खङ। कुजा नु गर सिराथाङ्माआङ चामा‚ कुचा फेन गर सिरिङ मःमा र चामा। (सिस्नुको बोटमा चढ्न सकिन्न‚ दुःख लुकाउन सकिन्न। मीठो भए स्वादैले‚ नमीठो भए सरम मान्दै खानु। बाह्र मसला एकै लसुन‚ भान्सा यस्तै भयो है हजुर)।”
जीवनमा केही गर्न नसके पनि याः भच्चा अथवा येबा (देवारी) बनेर चिन्ता बस्ने र नालिकुजेन (ज्याला) खानुपर्छ भन्नुहुन्थ्यो। दाइ र म धरानका देवारीहरू येबा ताङ्खोले, येमानी तमरखोली, फाकुम्बाका याःघन्द्रङ, चौबिसका साम्बा चोक्सानेलाई उनीहरू बसेका ठाउँमा भेट्न गइरहन्थ्यौं। धरानका लिम्बूहरू कर्म संस्कार गर्न धेरै खर्च गरेर ताप्लेजुङको तमोरखोला, मैवाखोला, मिवाखोला, काबेलीखोला, फावाखोलाका साथै छथर, पाँचथर, चौबिसका फेदाङ्मा‚ साम्बा र येबा/येमाहरू झिकाउने गर्छन्।
धरानमा थुप्रै पटक फेदाङ्मा, साम्बा र येबाहरूसँग मुन्धुम सम्बन्धी शास्त्रार्थ गर्यौं। धरानमै हुनुपर्छ‚ येबा थानमा बसिसकेका थिए। भरत दाइ र म पुगेपछि उनी जुरुक्क उठे र काम गर्न छोडे। भरत दाइले आप्तोक (प्रश्न) गर्नुहुन्छ भनेर यसो गरेका रहेछन्। त्यसपछि घरधनी र हामीले येबालाई सम्झायौं। उनी काममा फर्किए। लिम्बूहरूको संस्कार अनुसार‚ फेदाङ्मा‚ साम्बा‚ येबा/येमाले तुम्याङलाई मान्नुपर्छ। कुनै पनि संस्कार गर्दा तुम्याङहरूलाई पहिले नै थान मान राख्नुपर्छ।
भरत दाइसँग प्रायः पहाड झरेका फेदाङ्मा‚ साम्बा‚ येबा/येमाको भेट भइरहन्थ्यो। उहाँ फेदाङ्मा‚ साम्बा‚ येबा/येमालाई इज्जत गर्नुहुन्थ्यो। खुकुरी लगायत उपहार दिएर गुरु थाप्नुहुन्थ्यो। गाडी भाडा तिरिदिनुहुन्थ्यो। भरत दाइ भन्नुहुन्थ्यो, “गाउँघरमा फेदाङ्मा/माङ्वानेबा, साम्बा/छाम्बा, येबा/येमा/माङ्बाहरूलाई एक बोटुको जाँड र एक चोक्टा मासुमा काम गर्ने व्यक्तिका रूपमा हेर्नाले हाम्रो संस्कार, संस्कृति र पहिचान लोप हुँदै गइरहेको छ।”
फेदाङ्मा‚ साम्बा‚ येबा/येमालाई फलाकेका मुन्धुमहरू टिपोट गर्दै भरत दाइ त्यसको अर्थ सोध्नुहुन्थ्यो। मुन्धुमी शब्द, वाक्यहरू अलङ्कार सहित उच्चारण गर्दा उहाँ खुशी हुनुहुन्थ्यो। जस्तो- लिम्बूहरूले बोलचालमा हात्तीलाई तक्मी भन्छन्। तर‚ फेदाङ्मा‚ साम्बा‚ येबा/येमाहरूले फलाक्दा हात्तीलाई ‘सुम्दाङगेन तक्मी’ भन्छन्। सुम्दाङ भनेको ओखल हो। सुम्दाङगेन तक्मी भनेको ओखलको जस्तो खुट्टा भएको हात्ती भनिएको हो।
शब्दमा अलङ्कार जोडिनुले भाषाको उत्पत्ति कसरी हुन्छ भन्ने सूत्र पत्ता लाग्न सक्छ। तेजमान आङ्देम्बे हल्यान्डबाट विद्यावारिधि गरेर आउनुभएको थियो। भरत दाइसँग तेजमान सरको मुन्धुमी शब्दहरूबारे छलफल भइरहन्थ्यो। तर‚ उहाँको पनि अल्पायुमै निधन भयो। भरत दाइको मुन्धुमी छलफलमा अंग्रेजीका प्राध्यापक गोविन्द तुम्बाहाङ, मोहन तुम्बाहाङ, प्राध्यापक चन्द्र फोम्बो, प्राध्यापक हर्क इजम, कमल तिगेला लगायत सहभागी हुन्थ्यौं। लिम्बू भाषा, व्याकरण‚ वनस्पति, पशुपक्षी, मौजुदा लिम्बुवानका ठाउँका नामहरूलाई लिम्बू भाषामा सम्बोधन गरिनुपर्नेमा छलफल केन्द्रित हुन्थे। त्यो समय बैरागी काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुहुन्थ्यो। काइँला पूर्व आउनुभएको समयमा भरत दाइको खोजी गर्नुहुन्थ्यो।
रहलपहल
भरत दाइले सङ्कलन गर्नुभएको ऐतिहासिक सामग्रीहरूबारे लिम्बू र राज्यले चासो दिन आवश्यक छ। उहाँले नेपाली कागजमा मुन्धुमको अभिलेख गर्न थाल्नुभएको थियो। दाइ र मैले २०७० सालमा हज्शन पाण्डुलिपिमा गोर्खा-लिम्बुवान-खम्बुवान युद्ध पुस्तक प्रकाशनमा ल्याएका छौं। उहाँ लिम्बू जातिको मुन्धुम, इतिहास र संस्कारहरूको स्रोतव्यक्ति हुनुहुन्थ्यो।
इतिहास र मुन्धुमको अध्ययन र सङ्कलनमा गहिरो रुचि भएका भरत दाइको २०७४ मंसीर ११ गते धरानको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो। दुर्घटनामा उहाँकी कान्छी श्रीमती टीकादेवी सुहाङको पनि निधन भएको थियो। दाइको निधन भए पनि उहाँको योगदान लिम्बूहरूले बिर्सने छैनन्।
(लिम्बू इतिहास अध्येता माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर हुन्।)