धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ताले गरे विरोध, सञ्चार मन्त्री कार्कीद्वारा सर्वदलीय बैठक माग
सुनसरी-४ मा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थगन भएको मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक राखिएको छ।
गणनामा बसेका कर्मचारीले मत विवरण फरक पारेको कांग्रेसका प्रतिनिधिले आरोप लगाएपछि विवाद भएको हो। मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेपछि स्थिति केही बेर तनावग्रस्त बनेको थियो। यो क्षेत्रमा सञ्चार मन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियतसँग प्रतिस्पर्धामा छन्।
केही मतले बढी रहेका उम्मेदवार कार्कीले नै सर्वदलीय बैठकको माग गरेका हुन्। उनको माग बमोजिम नै सर्वदलीय बैठक राखिएको हो।
अहिले मतगणनास्थलको अवस्था सामान्य पारिएको जानकारी दिंदै सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले मतगणनाबारे बैठकले निर्णय गर्ने बताए। मन्त्री कार्कीले २३ हजार ४३९ मत पाउँदा प्रदेशका पूर्व मन्त्री समेत रहेका कुसियतले २३ हजार ३४१ मत पाएका छन्।