विषादी परीक्षणका प्रयोगशाला पनि प्रयोगविहीन
विक्रम खड्का\बुटवल
सरकारले पूर्वाधार अभावले विषादी परीक्षण स्थगित गरेको बताएको छ । तर, भएका पूर्वाधार पनि बन्द अवस्थामा रहेका छन् ।
सरकारले भारतबाट आउने तरकारी र फलफूलमा भएको विषादी परीक्षण पूर्वाधार नभएको भन्दै तत्काल चेकजाँच नगर्ने निर्णय गरेको छ ।
तर, त्यस्ता परीक्षण कार्यालयहरू भने धेरै स्थानमा भएर पनि व्यवस्थापन हुन नसकेको पाइएको छ ।
सरकारका कतिपय मन्त्रीले कालिमाटी बाहेक अन्यत्र प्रयोगशाला नभएको भन्दै पूर्वाधार अभावमा परीक्षणको निर्णय तत्काललाई स्थगित गरिएको बताएका छन् ।
तर, कालिमाटीको जस्तो पूर्वाधार भएका प्रयोगशाला भने बुटवलसहित देशका धेरै नाकामा रहेको पाइएको छ ।
यस्ता प्रयोगशाला भएर पनि सरकारी निकाय नै यसबारेमा अनभिज्ञ देखिएका छन् । त्यस्ता प्रयोगशाला सञ्चालन र व्यवस्थापनमा पनि सरकारको गम्भीर लापरवाही देखिएको छ ।
भैरहवा भन्सार कार्यालयबाट २५ किलोमिटर नजिकै बुटवलमा पनि विषादी परीक्षण प्रयोगशाला छ ।
तीन वर्षअघि स्थापना भएको प्रयोगशाला भए पनि कमर्चाचारी नभएर बन्द छ । कालिमाटीकै हैसियतको पूर्वाधार भएको यो प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति सरुवा भएर अन्यत्र गएपछि कार्यालय करीब ३ महीनादेखि बन्द छ ।
बुटवलको कृषि उपज केन्द्रका लागि विषादी परीक्षण गर्न भन्दै सरकारले २०७३ भदौमा कार्यालय स्थापना गरेको हो । जहाँ शुरुमा ४ जना प्राविधिक र एकजना कार्यालय सहयोगी सहित ५ जना कर्मचारी थिए ।
अहिले कार्यालयमा कार्यालय सहायक मात्र छन् । सोही कार्यालयका पूर्व प्राविधिक प्रमुख रामबहादुर खत्री सरुवा भएर प्रदेश ५ को कृषि निर्देशनालयमा गएपछि कार्यालय पूर्णरूपमा बन्द छ ।
खत्रीले कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय अहिले बन्द अवस्थामा पुगेको बताए । उनका अनुसार कर्मचारी भए कालिमाटीको जस्तो परीक्षणको काम बुटवलबाट पनि हुन सक्छ ।
बुटवलको प्रयोगशाला चलेमात्र पनि विषादी नियन्त्रण गर्न धेरै राहत मिल्ने स्थानीय व्यवशायी कलाधर पन्थीको भनाइ छ । उनले तत्कालका लागि भए पनि कार्यालय सञ्चालन गर्न माग गरे ।
खत्रीका अनुसार बुटवल तथा कालिमाटीबाहेक झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, पोखरा नेपालगञ्ज लगायत स्थानमा कार्यालय राखिएको छ। तर, कर्मचारी अभावले अधिकांश स्थानमा प्रभावहीन छन् ।
संघ मातहतमा रहेको यो कार्यालय सञ्चालनका लागि प्रदेश र स्थानीय सरकार पनि उदासीन देखिएका छन् । प्रदेश ५ को सरकारका प्रवक्ता वैजनाथ चौधरी भने यस्तो कार्यालय बुटवलमा छ भन्ने विषयमा आफूहरूलाई जानकारी नै नभएको बताउँछन् ।
कृषिमन्त्री आरती पौडेलसँग सम्पर्क नभएपछि प्रवक्ता चौधरीलाई प्रयोगशाला बन्दबारेमा प्रश्न सोध्दा उनले भने– “प्रयोगशाला बुटवलमा छ र ? हामीलाई त थाहा नै छैन यसलाई संघले नै हेरेकोले हुन सक्छ प्रदेशमा कुनै जानकारी नै छैन ।” उनले कार्यालय सञ्चालन गर्नुपर्ने धारणा राखे ।
समयमा सूचना नपाउँदा लाखौं घाटा
सरकारले सरोकारवालासँग छलफल तथा पूर्व जानकारी पनि नदिई यो नियम लागू गरेपछि केही व्यापारीलाई लाखौं रुपैयाँको क्षति भएको बताइएको छ ।
पूर्ववत हिसाबले सामान अर्डर गरेका उनीहरूले भन्सारमा आएको ४ दिनसम्म भन्सारमै रहँदा प्रयोग गर्न लायक थिएन ।
बुटवलको कृषि उपज थोक बजारका ४ जना व्यापारीले मात्र ३० लाखभन्दा बढीको क्षति व्यहोरेका छन् । फलफूल व्यापारी जमिल अहमद, टंक बस्याल र अहमद अलीले ल्याउँदै गरेको ३ ट्रक आँप भैरहवा भन्सार परिसरमा ४ दिनसम्म रोकिएको थियो ।
काठमाडौं पुगेर विषादी परीक्षणको रिपोर्ट लिएर आउँदा उनीहरूको गाडीको आँप सबै डढेको अवस्थामा पुगेको व्यापारी बस्यालले बताए । उनले काठमाडौं जाँदा आउँदाको खर्च र सामानको सबै हिसाब गर्दा एउटा गाडीको १० लाख क्षति भएको बताए ।
यस्तै सोही बजारका तरकारी व्यापारी वसिउल्लाहको १० लाख बराबरको टमाटर नष्ट भएको छ । ३ दिनसम्म गाडी रोकिएपछि गाडीबाट पानीको धारा बगेको उनको बताए । उनले पनि समयमा सूचना नपाएको भन्दै दुखेसो गरे ।