कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का
कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।
‘तपाईंले सबैलाई सधैंलाई छक्याउन सक्नुहुन्न’ भन्ने भनाइ विश्वचर्चित भएको कितिया पाब्लोस्कीले खिचिएको भनिएको तस्वीरको हकमा पुनः पुष्टि भएको छ। कितियाको तस्वीरसँगै आउने अनेकौं प्रश्नहरूको जवाफ समयक्रममा आउने आशा सबैलाई थियो। तर, नेपाली विज्ञले तस्वीरको वास्तविकताबारे गरेको शङ्का निवारण हुन नसकी आखिरमा तस्वीर नै नक्कली भएको पुष्टि भएको छ।
कितियाको फोटो नक्कली भएको पुष्टि गर्ने निकाय हो- आरोहण सम्बन्धी फ्रान्सको प्रसिद्ध पत्रिका एल्पाइन म्यागेजिन। म्यागेजिनले आफ्नो बेवसाइटमा फोटोको वास्तविकताबारे चिरफार गरेको छ। साथै, आफ्नो शोध जारी रहने जनाएको छ।
नेपालमा भने अमेरिकी दूतावासले कितियाले खिचेको फोटोलाई आफ्नो सामाजिक सञ्जालमा राखेपछि यसको चर्चा चुलिएको थियो। साथै, लन्डनबाट प्रकाशित हुने विश्व चर्चित द टाइम्स लगायत पत्रिकाले यसलाई पुनःप्रकाशन गरेपछि यसबारे शङ्का गर्नुपर्ने कारण देखिएन।
वन्यजन्तु फोटोग्राफीको दुनियाँमा अद्भुत जस्तो लाग्ने फोटो खिच्दाको लामो शृङ्खला हुन्छ। फोटो कसरी खिचियो भन्ने अनेकौं किस्सा-कहानी हुन्छन्। एकदमै कम जानकारी भएको कितियाको बेवसाइट र नेपाल भ्रमणमा आउँदा उनलाई सहयोग गर्नेहरूको पूरा नाम नदिई पहिलो नाम मात्रै दिने उनको कार्यप्रति धेरैले उही वेला ‘स्वार्थी’ को छनक देखेका थिए। तर, अब उनको काम नै कीर्ते भएको पुष्टि भएको छ।
उनले गोरकशेप जाँदाको बाटोबारे गरेको वर्णन पनि युक्तिसङ्गत देखिएको थिएन। उनी कहाँ आइन्, कहाँ बसिन्, कोसँग त्यहाँ पुगिन् भन्ने केही पनि खुलेको छैन।
नेपाली फोटोग्राफर खरीजंग राईले सगरमाथा क्षेत्रमा पदयात्रा गर्ने क्रममा हिउँ चितुवाले शिकार खाइरहेको दृश्य खिचेका थिए। पाङबोचेबाट दिबोचे पुग्नै आँट्दाको बाटोमा चितुवाले झारल मारेर खाइरहेको उनको फोटोले त्यस दिन साँझ एउटा ठूलो उत्सवका रूपमा उनी बसेको होटेलमा चर्चा-परिचर्चा भएको थियो। जब त्यस्तो अद्भुत घटनाको साक्षी हुन पाइन्छ तब त्यो कुरा उत्साहमय वातावरणमा सबैसँग आदानप्रदान हुन्छ। राईलाई पनि केही पुराना तथा अनुभवी गाइडहरूले ‘हामीले यत्रो वर्ष नदेखेको हिउँ चितुवा तपाईंले देख्न पाउनुभयो, तपाईं भाग्यमानी हुनुहुँदो रहेछ’ भनेर धाप मारेका थिए।
कितियाको हकमा त त्यस्तो केही पनि भएको बुझिएन। यता फोटो भाइरल हुँदै गयो, उता उनले मौकाको फाइदा उठाउँदै गरिन्। उनका फोटोका प्रतिलिपि धमाधम बिक्री हुँदै गए। ‘एल्पाइन’ ले जनाए अनुसार, उनले एउटा फोटोलाई १५ सय पाउन्डसम्म बिक्री गरेकी छन्।
नेपालमा भने नेपाली सञ्चार माध्यमले धमाधम फोटो पुनःप्रकाशन गर्न थालेपछि यसको वास्तविकताबारे चर्चा-परिचर्चा शुरू भयो र यसबारे शङ्का पनि उठ्न थाल्यो। “सो फोटो देख्ने बित्तिकै ‘यो फोटो नक्कली हो’ भने कुरा करन शाह सरले हामीहरूमाझ राख्नुभयो,” प्राणीशास्त्री तथा संरक्षणकर्मी राजु आचार्यले भने, “यदि त्यसो भए सत्यतथ्य खोजौं न त भन्ने कुरा भयो। त्यसको लागि सक्कली फोटो चाहिन्थ्यो। त्यो फोटो पाएको भए त्यसको फ्याक्ट चेक गर्ने काम नेपालीले पनि गर्न सक्थे।”
करन शाहको तर्क थियो- २० किलोमिटर पर सियो जत्रो आकारमा रहने जीवलाई नजिकै ‘जूम’ गरेर खिच्न सक्ने क्यामेरा नै बनेको छैन। फेरि उनी जुन बाटो भएर गोरकशेप गइन् भन्ने कुरा आयो, त्यो पनि शङ्कास्पद नै थियो। यदि उनले साँच्चै नै फोटो खिचेकी थिइन् भने उनले स्थानीय स्तरमै उत्सव मनाउने थिइन्। उनको टोलीले पनि त्यो उत्सवमा साथ दिने थिए। हुन सक्छ, काठमाडौंमै आएर आफ्नो अनुभव सुनाउने थिइन्।
उनी आइन्, फोटो खिचिन् र चूपचाप आफ्नो देश पुगेर फोटो इन्टरनेटमा हालिन्। फोटोबारे प्रश्नहरूको उत्तर आउन नसक्नु र उनको परिचयबारे पनि धेरै कुरा धेरै जनालाई थाहा नहुनुले शङ्का त बढाइरहेकै थियो। आखिरमा डिजिटल दुनियाँको चलाखी धेरै दिन टिक्न सकेन।
ढाँटको कुरा मिलोस् कसरी? एल्पाइनले जनाए अनुसार, सगरमाथा क्षेत्रमा उभिएकी कितियाको आफ्नै फोटो पनि शङ्कास्पद छ। उनको कपालको चुल्ठो जुन फोटोमा देखिन्छ, त्यसमा शङ्का गर्नुपर्ने गरी देब्रे कुहिनाको पछाडि कपालको अंश झोलाको माथिपट्टि देखिन्छ। तर, उनी उभिएर हिमालतिर हेर्दै गरेको फोटोमा उनको मुहार प्रष्ट छैन। एल्पाइनको तर्क छ- यदि कोही साँच्चै सगरमाथा क्षेत्रमा पुगेको छ र आफ्नो फोटो खिचेको छ भने जस्ताको तस्तै फोटो देखाउन आपत्ति के छ?
एल्पाइनले सम्पर्क गरेका हिउँ चितुवा विज्ञ भिन्सेन्ट मुनियरको तर्क छ- गोरकशेपको क्षेत्र जहाँ मान्छेहरूको निरन्तरको आवतजावत हुन्छ र हेलिकोप्टर आउजाउ गरिरहन्छ त्यहाँ आनन्दसाथ हिउँ चितुवा बसेको देख्नु असम्भवप्रायः छ। फेरि नाम हिउँ चितुवा भए पनि यो प्राणी ठ्याक्कै हिउँमै जान भने रुचाउँदैन, बरु ढुङ्ग्यान पाखोमा बस्न रुचाउँछ।
भिन्सेन्टले गरेको अर्को तर्क पनि घतलाग्दो छ। उनले भनेका छन्- यी प्राणी यति छिटो हुन्छन् कि तपाईंलाई फोटो खिच्नै मुश्किल पर्छ र जुन हिसाबमा ढुङ्गामा बसेर चितुवाले सास फेर्दा बाफ आएको देखाइएको छ, त्यो सर्वथा झूट हो।
प्रविधिको चलाखीले गर्दा केही समय सबै झुक्किए पनि आखिरमा सत्य सबैसामु आएको छ र यो काममा पनि प्रविधिले नै सबैलाई सघाएको छ। किनभने, फोटो खिचिएको मिति पनि झूटो देखिन्छ भने उनले एल्पाइनले मागेको ‘रअ’ फाइल पनि उपलब्ध गराउन सकिनन्।
नेपालमा हिउँ चितुवाको तस्वीर खिचेर ख्याति कमाएका तासी घलेले अहिले आएर ती तस्वीरबारे टिप्पणी गर्न उचित नहुने बताए। “यदि गलत तस्वीर हो भने त्यो ढिलोचाँडो गलत सावित हुने नै थियो,” घलेले भने, “सही तस्वीर हो भने त्यसलाई गलत प्रमाणित गर्न पनि सकिंदैन नि।”
कुनै पनि राम्रो वा अद्भुत तस्वीर खिच्दाका अन्य धेरै स्न्यापहरू पनि हुने बताउँदै यदि सो तस्वीर सही हो भने त्यसलाई पुष्टि गर्न अन्य तस्वीरले सहयोग गर्ने उनी बताउँछन्। तर, एल्पाइनले उनको वेबसाइटमा चार वटा तस्वीर मात्र हुनु, अन्य प्राणीको तस्वीर उनले सार्वजनिक नगर्नु र उनको नाम अन्य फोटोग्राफरले थाहा नपाउँदाको अवस्थामा शङ्का गर्ने धेरै आधार भएको तर्क गरेको छ।
फोटोग्राफीमा शोख भएका युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले आफ्नो फेसबूक पेजमा लेखेका छन्, ‘हिउँ चितुवाको फोटो राम्रो भनियो। वास्तवमा राम्रो थियो, तर फोटोशप गरेर ध्वस्त पारिएको रहेछ भन्ने आयो। जमाना कसैको पनि विश्वास गर्न सकिने भएन। फोटोग्राफी भनेको १०१ इमानदारिता हो, नभएपछि कसको के लाग्छ?’