जसले २९ पटक हिउँ चितुवाकाे तस्वीर खिचे
तासीको अर्थ हुन्छ- शुभ। नेपालका वन्यजन्तु फोटोग्राफर तासी घलेको सन्दर्भमा उनको नाम सार्थक भएको प्रतीत हुन्छ। ३० पटकसम्म हिउँ चितुवालाई देख्नु र २९ पटक तस्वीर खिच्न पाउनु नै शुभ होइन र?
तासी घले भन्नासाथ हिउँ चितुवाका फोटोग्राफरको छवि अगाडि आउँछ। त्यसो हुनुमा उनले मनाङको हिमाली क्षेत्रमा हतपति नदेखिने लजालु प्राणी हिउँ चितुवाको फोटो खिच्ने काममा देखाएको लगाव नै हो।
मनाङमा जन्मिएका तासीको पढाइ अलि ढिलो शुरू भयो, १२ वर्षमा कक्षा १ मा भर्ना भए। भिनाजुले लगेर भारतको खर्साङको बोर्डिङमा भर्ना गरिदिएका थिए। तर, उनको पढाइ ६ कक्षासम्म मात्र चल्यो। त्यसपछि काठमाडौं आएर दिन काट्न थाले।
त्यही वेला उनी सिर्जना आर्ट ग्यालरीले चलाएको कला कक्षामा भर्ना भए। चित्र उनको सानैदेखिको रुचि थियो। चरा, पहाड, हिमालको चित्र बनाउँथे। दुई वर्षसम्म सिर्जना आर्ट ग्यालरीमा कला सिके।
सिर्जनाले शुरू गरेको कला कक्षाको पहिलो ब्याचमा शरद रञ्जित, वत्सगोपाल वैद्य, उज्वल कुन्दन ज्यापू जस्ता हस्तीहरूले कला सिकाउँथे। कला सिक्ने र फुर्सदमा फाटो खिच्ने उनको दैनिकी बन्दै गयो।
यो आजभन्दा ३० वर्षअघिको कुरा हो, जतिखेर तासी तन्नेरी थिए। खास काम थिएन। भिनाजुको एनालग निकोन क्यामरा लिएर तस्वीर खिच्न हिंड्थे।
जीवनले गति लिंदै गर्दा सन् १९९६ मा बिहे भयो। बिहे भएपछि व्यवहार चलाउनुपर्ने भयो। पर्यटकीय गाउँ मनाङको आफ्नै घरमा होटेल खोल्ने पारिवारिक योजना बन्यो। जसै उनी सन् १९९८ मा होटल बनाउन मनाङ फर्किए, उनको कलाकर्म छुट्यो। तर, क्यामेराको नशा भने छुटेन। तस्वीर खिच्ने काम गरिरहे।
उनले खिचेका मनाङको भूदृश्यका तस्वीर त्यतिखेरका चर्चित ‘ट्राभल म्यागेजिन’ ले माग्न थाले। विदेशी लक्षित क्यालेन्डरमा पनि उनले खिचेका तस्वीर छापिन थाले। नेपाल वायुसेवा निगमको जहाजका यात्रुलाई पढ्न दिइने इन फ्लाइट पत्रिका शाङ्ग्रिलामा पनि उनका तस्वीर छापिने क्रम शुरू भयो।
फोटोग्राफर तासीको परिचय फैलिंदै गयो। तस्वीर बापत थोरबहुत पैसा पनि आउन थाले। यद्यपि, तस्वीर खिच्नु मात्र उनको ध्येय थियो। तस्वीर खिचेरै पैसा आउला भन्ने उनले सोचेका थिएनन्।
पर्यटन र संरक्षणको कामलाई सँगसँगै अगाडि बढाइरहेको अन्नपूर्ण क्षेत्र संरक्षण परियोजनाले नेचर गाइड तालीम दिने भएपछि स्थानीय होटल व्यवसायी र फोटोग्राफरको नाताले उनले पनि तालीममा भाग लिए। त्यो तालीम उनका लागि आफ्ना गाउँठाउँ, आफूले सानैदेखि देखेको प्राणी प्रजातिको महत्त्व बुझ्ने अवसर बन्यो।
उनको तस्वीरप्रतिको लगावले सन् २००५ मा संस्थागत सहयोग पायो। ‘स्नो लेपर्ड कन्जर्भेन्सी’ को सहयोगमा उनले हिउँ चितुवाको तस्वीर खिच्न थाले। तासीका लागि तस्वीर खिच्नु सजिलो काम होइन। धैर्य हुनुपर्ने उनी बताउँछन्। “क्लिक गरेर मात्र तस्वीर आउने होइन। एउटा तस्वीरलाई कति समय धैर्य गर्नुपर्छ,” तासी भन्छन्, “लगाव र धैर्यले मात्र राम्रो नतीजा दिन सक्छ।”
उनले एउटा प्रसङ्ग सुनाए, एक पटक हिउँ चितुवाको तस्वीर खिच्न दुई महीना उपल्लो मुस्ताङ गए। तर, हिउँ चितुवा देखिएन। निराश भएर फर्किएका वेला गंगापूर्ण ताल घुम्न जाँदा त त्यहीं पो हिउँ चितुवा देखियो। जहाँ होला त भनेर खोज्न गयो, त्यहाँ भेटिएन, घर नजिकै घुमिरहेको ठाउँमा अनायासै हिउँ चितुवा देखापर्दा आश्चर्य लाग्ने नै भयो। “त्यसैले मलाई लाग्छ, तस्वीर खिच्नु धैर्यको मात्रै कुरा होइन, भाग्यको कुरा पनि हो,” उनी भन्छन्, “आफूले चाहेर मात्र पनि सबै कुरा हुँदैन।”
कस्तो हुन्छ त हिउँ चितुवा देख्दा? “एक पटक हिउँ चितुवा देख्दा महीनौंको थकाइ मेटिन्छ,” उनी भन्छन्। प्रत्येक पटकको देखाइ फरक हुने उनको अनुभव छ। साथै, प्रत्येक पटकको अनुभवले आफूलाई भित्रैबाट आनन्दित बनाइरहेको उनकाे भनाइ छ।
कहिले ११ घण्टासम्म पनि चितुवा देखेको देख्यै भएको अद्भुत अनुभव पनि उनले सँगालेका छन्। कहिले दुई-तीन सेकेन्डमै चितुवा अलप हुँदा तस्वीर खिच्न नपाएको नमीठो अनुभव पनि छ। उनले हालसम्म ३० पटक हिउँ चितुवा देखेका छन् भने २९ पटक त तस्वीर खिच्न नै भ्याएका छन्। यो नै आफ्नो जीवनको कमाइ भएकाे उनी सुनाउँछन्।
काम गर्दै जाँदा तासीको यात्रामा नयाँ नयाँ अवसर पनि जुट्दै गए। सन् २०१३ मा उनले राखेको क्यामरा ट्रयापमा नेपालमा पहिलो पटक ‘पलास क्याट’ को तस्वीर रेकर्ड भयो। जुन नेपालकै लागि नयाँ प्रजाति थियो। पछि तासीले प्राणीशास्त्री गंगाराम रेग्मी र संरक्षणकर्मी रिन्जिन लामासँग सहकार्य गर्दै संरक्षणका कामलाई पनि निरन्तरता दिए।
संरक्षणका लागि विद्यार्थीलाई फिल्डमा लाने लगायतका काम पनि उनले गरिरहेका छन्। स्थानीयलाई प्राणी प्रजातिको महत्त्व बुझाउन र संरक्षण प्रभावकारी बनाउन संरक्षण शिक्षा महत्त्वपूर्ण हुने उनको अनुभव छ। कक्षा ८, ९ र १० का विद्यार्थी तथा शिक्षकलाई फिल्डमै लगेर हिउँ चितुवाको बासस्थान तथा पदचाप देखाउने लगायतको काम बर्सेनि हुँदै आएको छ। “भर्खर पनि विद्यार्थीको एक टोलीलाई तालीम दिएर आएँ,” उनले भने।
५३ वर्षीय तासीले खिचेका तस्वीरको प्रदर्शनी ललितपुरको झम्सिखेलस्थित विन्ड हर्स ग्यालरीमा मंसीर १० देखि शुरू भएको छ। प्रदर्शनी एक महीनासम्म चल्नेछ।
ग्यालरीका क्युरेटर नोर्बु गुरुङले तासीका तस्वीर प्रदर्शनीको प्रयास पहिल्यैदेखि गरे पनि बल्ल साइत जुरेको बताए। “उहाँ हिउँ चितुवाको तस्वीरका लागि प्रसिद्ध हुनुहुन्छ,” नोर्बुले भने, “तर, उहाँको परिचय त्यसमा मात्र सीमित छैन। हिमाली ल्यान्डस्केप, वन्यजन्तु र हिमाली जीवनमा पनि उहाँका फोटोहरू जीवन्त छन्।”
त्यही भएर प्रदर्शनीको शीर्षक नै ‘मेल्टिङ प्याराडाइज’ अर्थात् पग्लिँदो स्वर्ग राखिएको नोर्बु बताउँछन्। प्रदर्शनीमा ४० वटा तस्वीर राखिएका छन्। तस्वीरको मूल्य एक हजारदेखि डेढ लाखसम्म रुपैयाँ तोकिएको छ।
तासीको तस्वीरप्रतिको लगावलाई सम्मानका साथ हेर्नुपर्ने प्राणीशास्त्री तथा संरक्षण अभियन्ता राजु आचार्य बताउँछन्। “उहाँ जुन लगावका साथ फोटोग्राफीमा लाग्नुभएको छ, त्यो प्रशंसनीय छ,” आचार्य भन्छन्, “नेपालमा हिउँ चितुवाको तस्वीरमा उहाँको जुन स्थान छ, त्यो साँच्चै नै सिक्नलायक र गर्वलायक छ।”
तासीको लगावलाई अन्तर्राष्ट्रिय संघसंस्थाले पनि पहिचान गरेका छन्। सन् २०१८ मा उनले ‘डिस्ने कन्जर्भेशन हिरो अवार्ड’ पाएका थिए। त्यस्तै, विश्व वन्यजन्तु कोषले पनि उनलाई ‘अब्राहम कन्जर्भेशन अवार्ड’ प्रदान गरेको थियो।