समानुपातिकमा राप्रपाले पनि कटायो तीन लाख मत, एमाले पहिलो स्थानमा कायमै
समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि तीन लाख मत कटाएको छ। योसँगै समानुपातिकमा तीन लाख मत कटाउने पाँचौं दल बन्न पुगेको छ।
निर्वाचन आयोगका अनुसार, राप्रपाले शुक्रबार अपराह्नसम्म तीन लाख मत ल्याएको छ। यो मतसँगै राप्रपाले ११० सीटको समानुपातिक सीट बाँडफाँडमा अनुपातिक हिस्सा पाउने लगभग निश्चित भएको छ। मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको मतदानका आधारमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न करीब तीन लाख मत चाहिने अनुमान छ।
यद्यपि, यो अनुमानित सीमा मात्रै हो। कानून अनुसार, समानुपातिकको सीट बाँडफाँडमा हिस्सा पाउन कुनै पनि दलले तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्नुपर्छ।
पहिलो स्थानमा रहेको नेकपा (एमाल)ले १२ लाख ४५ हजार मत पाएको छ। नेपाली कांग्रेसले ११ लाख ७५ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच लाख ७९ हजार मत पाएका छन्। चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को समानुपातिक मत पाँच लाख ३६ हजार छ।
जनता समाजवादी पार्टी (जसपा)ले पनि एक लाख ४५ हजार मत पाएको छ। मतपरिणामको पछिल्लो स्थितिले जसपाले पनि समानुपातिकको ‘थ्रेसहोल्ड’ पार गर्ने अनुमान गरिएको छ।
दलहरूले देशभरिमा पाएको कुल सदर मतको आधारमा उनीहरूले ११० वटा समानुपातिक सीट बाँडफाँड गर्नेछन्। नेकपा (एकीकृत समाजवादी)को समानुपातिकतर्फको अहिलेसम्मको मत ९५ हजार मात्रै छ।