‘उहिले राज्य विरुद्ध र अहिले पार्टी विरुद्ध विद्रोह गरें, दुवै निर्णयमा गर्व छ’
‘चुनाव लड्ने वेलामा पनि मैले हावादारी कुरा गरेको छैन। गाउँठाउँका सामाजिक विषय र समस्याबारे स्थानीय स्तरमा छलफल-बहस गर्छु र संसद्मा राख्छु भनेको छु।’
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-१, मैकोटका ४४ वर्षीय सुरुल पुन १७ वर्षको उमेरमै माओवादी सेनामा भर्ना भएका थिए। माओवादी सशस्त्र विद्रोहको शुरूआतमै बम विस्फोटमा परेर गम्भीर घाइते भए।
उनी लामो उपचार र जेल बसाइपछि फेरि माओवादी ‘आधार इलाका’ मै फर्किए। माओवादी सेनाको सहकमान्डरसम्म बने। अहिले पनि उनका सहकर्मी ‘अजयशक्ति’ भनेर बोलाउँछन्।
उनै ‘अजयशक्ति’ ले यस पटक लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बन्ने इच्छा गरे, तर पार्टीले टिकट दिएन। त्यसपछि रुकुम पूर्व ‘क’ मा माओवादीसँग विद्रोह गरेर बागी उम्मेदवारी दिए र प्रदेश सभा सदस्यमा निर्वाचित पनि भए। माओवादीको गढ मानिएको क्षेत्रमा कसरी निर्वाचित हुन सफल भए? नवनिर्वाचित प्रदेश सभा सदस्य पुनसँग हिमालखबरका लागि जीवराज चालिसेले गरेको संवादः
चुनावी प्रतिस्पर्धा कस्तो रह्यो?
यो मेरो पहिलो चुनाव हो। पूर्व सांसद, पार्टीका प्रभावशाली र माथिल्लो तहमा पहुँच राख्ने नेताहरूसँग म जस्तो भुइँमान्छे ‘ब्याटल’ मा गएको थिएँ। रोचक भयो भनौं न।
आफ्नै नेता विरुद्ध लड्नुभयो नि, किन?
मलाई स्वतन्त्र उम्मेदवार हुन बाध्य पारिएको हो। माओवादीबाटै चुनाव लड्न चाहन्थें, तर त्यो अवसर प्राप्त भएन। अनि विद्रोह गर्नुपर्यो।
पार्टी विरुद्ध नै विद्रोह गर्ने अवस्थामा कसरी पुग्नुभयो?
म हिजो उहाँहरूलाई कमान्डर मानेर युद्धमा होमिएको मान्छे हुँ। २०५२ सालदेखि माओवादीमा उहाँहरूसँगै थिएँ, तर बिस्तारै पार्टीले बाटो बिराउँदै गयो। पार्टीमा एउटा खराब प्रवृत्तिको विकास भयो। यस्तो किन भयो? २०५२ सालमा नेताले कार्यकर्तासँग र कार्यकर्ताले जनतासँग गरेका वाचाहरू किन पूरा हुन सकेनन्? कार्यकर्ताका समस्याहरू किन ज्यूँका त्यूँ रहे? यस्ता कुरा सम्झिँदा भावुक हुन्छु। आफ्नै नेता विरुद्ध बागी उम्मेदवारी दिनुपर्ने यो परिस्थितिको निर्माण किन गरियो? यी प्रश्नका उत्तर पार्टीसँग छन्।
तर, दलका नेतामा देखिएको खराब सोच र प्रवृत्तिलाई कोही न कोहीले त निस्तेज गर्नैपर्थ्यो। सोचें, मैले नगरे कसले गर्ने? जनतासँग वाचा गरिएका मुद्दा लिएर म अगाडि नजाने हो भने को जाने? अहिले नजाने हो भने कति वेला जाने? यस्ता प्रश्नले मलाई बागी उम्मेदवारी दिन प्रेरित गरेको हो। २०५२ सालमा राज्य विरुद्ध विद्रोह गरियो, अहिले आफ्नै पार्टीको गलत प्रवृत्ति विरुद्ध विद्रोह गरियो। यो निर्णयले मलाई गौरवको अनुभूति गराएको छ।
तपाईंको असन्तुष्टि पार्टीप्रति हो कि त्यहाँका नेताप्रति?
म युद्धमा घाइते हुँदा ‘हामी लिन आउँछौं, तपाईं एकछिन यहीं बस्नुस्’ भनेर साथीहरूले त्यहीं छाडेर गएका थिए। रगतको आहालमा डुबेको वेला आफ्नो पिसाब खाएर उठेको मान्छे हुँ। पछि उपचार गरेर फेरि युद्धमा फर्किंदा नन्दबहादुर पुन (हाल उपराष्ट्रपति)ले ‘तिमी पहिला जस्तो दौडधुप गर्न सक्दैनौ, अब संगठनतिर जाऊ’ भन्दा पनि मैले मानिनँ। स्वभाव नै विद्रोही भएकाले म लड्छु नै भनिरहें। क्रान्तिका लागि मात्रै थिएन त्यो, पार्टीप्रतिको माया पनि थियो।
२०६४ सालपछि हाम्रो पार्टी निरन्तर सत्तामा छ। सत्तामा गएपछि झन् संगठित र गोलबद्ध हुनुपर्नेमा कार्यकर्तालाई माथिल्ला तहका नेताले चटक्कै बिर्सिए। समाज परिवर्तनका अजेन्डा यसै छाडिए। सत्ता र शक्तिको खेलमा पार्टी रुमल्लियो। हामीले पार्टी सच्चिएर आफ्ना अजेन्डा र कार्यकर्तातिर फर्कनुपर्छ भन्दै पटक पटक आवाज उठायौं, तर सुनिएन।
नेताहरूप्रतिको विकर्षण बढ्यो। धेरै आशा लिएर आएका होनाहार योद्धाले नचाहेरै पार्टीबाट बाहिरिनुपर्यो। अहिले यहाँको जनाधार भत्किएको छ। तर, यहाँ सच्चा माओवादी पनि छन्, जो क्रान्ति देखेरै मर्न चाहन्छन्। मेरो जित त्यसको सङ्केत हो भन्ने लागेको छ।
रुकुम पूर्व माओवादीको संगठित जनाधार भएको क्षेत्र हो। तर, मतदाताले माओवादीका विद्रोही उम्मेदवारलाई जिताएका छन्। यसको अर्थ के हो?
चुनावको परिणामले माओवादीको अग्रपंक्तिमा रहेका नेताप्रति यहाँका जनता निकै असन्तुष्ट छन् भनेर देखाएको छ। वर्षौं पार्टीमा लागेका, पसिना, रगत बगाएका हामी यहाँ धेरै छौं। तर, राज्यको सेवासुविधा पाउने कुरा त परै जाओस्, घाइते र अपाङ्गता भएका साथीहरूलाई भावनात्मक मल्हमपट्टी लगाउने काम पनि भएको छैन।
शान्ति प्रक्रियापछि हामी निकै आशावादी थियौं, तर आसैआसमा मरिन्छ कि जस्तो पो भयो। निराश भएर काम खोज्न २०७० सालतिर भारत गएँ। यहाँ काम खोज्दै भारत या खाडी जाने पूर्व लडाकू हरेक घरमा छन्। त्यत्रो लडेर पनि ‘अजयशक्ति’ जस्ता भुइँमान्छेको पहुँचभन्दा राज्य निकै बाहिर रह्यो, यो कुरा यहाँका मतदाताले बुझ्नुभएको रहेछ।
पार्टीपंक्तिले पटक पटक आफ्ना परिवार र आफूलाई मात्रै प्राथमिकतामा राख्यो। युद्धमा होमिएका लडाकू र कार्यकर्तालाई भुसुक्कै बिर्सियो। क्रान्तिपछि देश अब गरीब, निमुखाको हुन्छ भन्ने कुरा झूटो रहेछ भन्ने मतदाताले बुझिसक्नुभएको छ। अहिले मेरो जितमा हिजो जनयुद्धमा रगत बगाएको ठूलो पंक्तिले सहयोग गरेको छ। म उनीहरूप्रति ऋणी र जिम्मेवार छु।
जनताले तपाईंलाई समस्या समाधान गर्ने स्थानमा पुर्याएका छन्। अब कसरी अगाडि बढ्नुहुन्छ?
जनयुद्ध शुरू हुने वेलाका धेरै मुद्दा उस्तै छन्। जे कारणले जनयुद्ध शुरू गरिएको थियो, ती मुद्दा समाधान भएका छैनन्। राज्यको एउटा तहमा यी मुद्दा उठाउन सक्ने भए पनि म एक्लैले ती कुरा समाधान गर्न सक्छु भन्ने हुँदैन। चुनाव लड्ने वेला पनि मैले त्यस्ता हावादारी कुरा गरेको छैन। गाउँठाउँका सामाजिक विषय र समस्याहरूलाई स्थानीय स्तरमा छलफल बहस गर्ने र संसद्मा ती कुरा राख्ने भूमिकामा हुनेछु भनेकाे छु। मेरो ‘स्प्रिट’ त्यही हुनेछ।
अर्कातर्फ, सडक पूर्वाधारमा यहाँ व्यापक विकास गर्नुपर्नेछ। यो जमानामा पनि सडकको पहुँचभन्दा बाहिर बाँच्नुपर्ने अवस्था रुकुम पूर्वमा छ। यो जत्तिको दुःखद कुरा अरू के हुन सक्छ र! मेरो अर्को मुख्य काम सडक सञ्जालको विस्तारमा सरकारको ध्यान पुर्याउने हुनेछ।
धेरैले तपाईं माओवादीमा नै फर्कनुहुन्छ भनिरहेका छन्। माओवादीमा फर्किने सम्भावना कति छ?
पहिले भनिहालूँ, माओवादी पार्टीप्रति मेरो दुश्मनी छैन। बरु भावनात्मक रूपमा धेरै जोडिएको छु। मेरो गुनासो त्यहाँ रहेका नेताहरूप्रतिको हो, जो सच्चिन सकिरहेका छैनन्। अहिले म माओवादी पार्टीको सदस्य पनि छैन।
व्यक्तिगत हिसाबले अब के गर्ने भन्ने कुुरा मेरो स्वतन्त्रताको कुरा हो। तर, तपाईंलाई भन्नै पर्दा यसअघि नै विद्रोह गरेर निस्किएका पूर्व माओवादी र अहिले कारबाहीमा परेर निस्किएका माओवादीसँगको सहकार्य र छलफलमा संस्थापन माओवादीले पार्टी निर्माण र पुनर्गठनको अभियान चलाउँछन् भने त्यसमा म साथ दिन तयार छु। तर, उही शैली, उही परम्परा र उही प्रवृत्ति सच्चिँदैन भने फेरि पार्टीमा फर्कने कुरा सम्भव छैन।