बाढीले इन्जिनियर बेपत्ता
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन् ।
मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति सापकोटालाई भेलले बगाएको हो ।
आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए । अन्य दुईजना भागेर बाँच्न सफल भए पनि उनलाई भने भेलले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी माधव काफ्लेले जानकारी दिए ।
बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको काफ्लेले जानकारी दिए । आयोजनाभित्र भेल पस्दा आयोजनाको एउटा मोटरसाइकल बगाएको छ भने आयोजनामा क्षतिमा पुगेको छ ।