मोरङ-६ मा शेखर कोइराला निर्वाचित
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले)का नेता लालबाबु पण्डितसँग हारको बदला लिएका छन्।
कोइराला २०७४ को निर्वाचनमा मोरङ-६ मा पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए। अहिले उनै पण्डितलाई १२ हजार २८६ मतको फराकिलो अन्तरले पराजित गर्दै कोइरालाले चुनावी बदला लिएका छन्। कोइरालाले ३५ हजार २१८ मत र पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका छन्।
यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले नौ हजार ५७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले आठ हजार ८२९ मत पाएका छन्।
२०७४ को निर्वाचनमा पण्डितसँग उनी ६७१ मतान्तरले पराजित भएका थिए। २०७० को निर्वाचनमा भने तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई पराजित गरेका थिए।
कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि नेता कोइरालालाई संसदीय यात्रामा सहज भएको हो। महाधिवेशनमा देउवालाई चुनौती दिएपछि उनी पार्टीभित्रको अर्को खेमाको नेतृत्वकर्ता भए। यसले पनि उनको लोकप्रियता बढाएको विश्लेषकहरू बताउँछन्।
७१ वर्षीय कोइराला चिकित्साशास्त्रमा स्नातकोत्तर हुन्। नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका भतिजा शेखरको संसद्मा यो दोस्रो कार्यकाल हो।