पूर्व मुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती विजयी
भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का सुदन किराती विजयी भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार किरातीले नेकपा (एमाले)का उम्मेदवार प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई दुई हजार ३८५ मतान्तरले पराजित गरेका हुन्। किरातीले २८ हजार ५७८ मत र राईले २६ हजार १९३ मत पाएका छन्। २०७४ मा निर्वाचित किराती पुनः दोहोरिएका हुन्।
यस क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले एक हजार ८७, जनता समाजवादी पार्टीका ध्रुव छाङ्छा दुमिहाङ राईले ९४२, राष्ट्रिय स्वतन्त्र पार्टीका सनम छिरिङ शेर्पाले ५००, मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रप्रसाद राईले ३८६, राप्रपाका जीतेन्द्र घलेले २९७, हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझाले २५२, खम्बुवान राष्ट्रिय मोर्चाका ऋषिधन राईले १६२ र स्वतन्त्रका दिलीपकुमार खतिवडाले १२४ मत प्राप्त गरेका छन्।
यस्तै, प्रदेश सभा सदस्यमा क्षेत्र नं ‘क’ मा प्रदेश १ का मुख्यमन्त्री रहेका नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रकुमार राई १६ हजार ११० मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन्। क्षेत्र नं ‘ख’ मा नेपाली कांग्रेसका विनोद राई १३ हजार ५७९ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ मत प्राप्त गरेका छन्।