मोरङ-४ मा माओवादीका मोदी निर्वाचित
मोरङ–४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मोदीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाललाई ६ हजार १४९ मतान्तरले पराजित गरेका हुन्। मोदीले ३० हजार ६१२ र ढकालको २४ हजार ४६३ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजालले सात हजार ४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटीले पाँच हजार ३३३ मत पाएका छन्।
मोदी माओवादी केन्द्रका केन्द्रीय सदस्य र ढकाल एमालेका केन्द्रीय सदस्य हुन्। ढकाल यसअघि २०७४ मा विराटनगर महानगरपालिकाको मेयरमा र २०६४ मा संविधानसभा सदस्यमा पनि पराजित भएका थिए। मोदी २०७० मा समानुपातिकबाट र २०७४ मा कांग्रेस नेता महेश आचार्यलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
मोदीले पाँच वर्षअघि आचार्यलाई ६ हजार ७२९ मतान्तरले पराजित गरेका थिए। पहिलोपल्ट समानुपातिकबाट संविधानसभामा प्रवेश गर्दा बैठकमा कुर्सी भाँचेर मोदी चर्चामा आएका थिए। कुलमान घिसिङको विरोध गरेर विवादमा आएका मोदीले मोरङको बुढीगंगामा विद्युत् प्रसारण लाइन विस्तारमा अवरोध गरेकाले आलोचना सहनुपरेको थियो।