रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित
नेकपा (एमाले)को टिकट बहिष्कार गरेर रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह फराकिलो मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी प्रतिस्पर्धामा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई सात हजार मतान्तरले पराजित गर्दै चौथो पटक निर्वाचित भएका हुन्। उनले ३२ हजार ४३७ मत पाए।
उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार दुई सय मत पाए। त्यस्तै, नेकपा (माओवादी केन्द्र)का रवीन्द्र पटेलले आठ हजार ५५८ र नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले एक हजार ७३२ मत पाए।
जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको भन्दै साहले एमालेको टिकट बहिष्कार गरेका थिए। नेकपा विभाजन हुँदा उनले एमाले रोजेका थिए। उनी यसअघि २०६४, २०७० र २०७४ सालमा माओवादीबाट निर्वाचित भएका थिए।