जसले गणेशमानको शालिक प्रतिस्थापन गरे
चित्र र मूर्ति दुवै कलामा निपुण धनु याख्खा आफ्नो कलायात्रा मात्र बढाइरहेका छैनन्, नेपाली ललितकलाको प्रवर्द्धनमा पनि जुटिरहेका छन्।
निवासको मूल ढोकाछेउको कोठा कलाकृतिले भरिएको छ। कतै रङ पोत्दापोत्दैको अपूरा क्यानभास छन्, कतै पूर्ण। छेउमा नेता, समाजसेवी लगायतका धातु मूर्तिहरू पनि छन्। कलाकार धनबहादुर (धनु) याख्खा (५६)को साधना संसार हो यो। कलाकर्ममा कलिलै उमेरदेखि हात चलाएका उनले समयक्रममा चित्र र मूर्तिकला दुवैमा आफूलाई स्थापित गरेका छन्।
मोरङको बेलबारी– १० भाउन्नेमा जन्मिएका धनु सानो छँदा कागज, पात र भुइँ जतासुकै अनेक खाले चित्र कोर्थे। जे देख्यो, त्यसको नक्कल गर्ने बानीले उनको हातमा सीप बस्दै गयो। “छिमेकी रसाइली काकाको आरनमा ससाना करुवा र कर्द बनाउन सानैमा सिकें। दुना, टपरी, डोको, गुन्द्री बुन्न त त्यसअघि नै जानिसकेको थिएँ,” उनी भन्छन्।
कलामा मन रमाए पनि पढाइमा ध्यान राम्रै थियो। तर, पढेर भोलि के गर्ने, के बन्ने भन्ने प्रष्ट सोच थिएन। एसएलसीपछि सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पस भर्ना भए, त्यहींबाट भूगोलमा स्नातक गरे। घर पायक भनेर सुकुनामा भूगोल विषय पढे पनि कलामा रुचि झन् गहिरिएको थियो। ल्यान्डस्केप र पोर्ट्रेट बनाइरहन्थे।
कलाकारिता नै आफ्नो मूल बाटो रहेको ठम्याएपछि धनु यसको औपचारिक अध्ययनमा लागे। २०५५ सालमा काठमाडौं आएर ललितकला क्याम्पसमा फाइन आर्टमा प्लस टू गरे। स्नातक र स्नातकोत्तर तहमा मूर्तिकला वा चित्रकलामध्ये एउटा विषय पढ्नुपर्थ्यो। धनुले दुवैमा चित्रकला रोजेर राम्रो अङ्क सहित उत्तीर्ण गरे। २०६६ सालमा ललितकला क्याम्पसले फाइन आर्टमा स्नातकोत्तर तहको अध्यापन शुरू गर्दा उनी पहिलो ब्याचका विद्यार्थी बने। “विद्यावारिधि चाहिं मूर्तिकलामा गर्दै थिएँ, बीचमा कामको व्यस्तता बढेपछि अध्ययन अलमलिएको छ,” उनी भन्छन्।
कला यात्रा
लाहुरेका छोरा धनुलाई आफन्तजन आर्थिक सुरक्षाका लागि लाहुरे वा त्यो नभए नेपाल प्रहरीमा जानुपर्छ भन्थे। त्यसमा उनकी ठूलो दिदी भने अपवाद थिइन्। “ठूली दिदी इन्द्रकुमारी चाहिं तेरो हातमा सरस्वतीको वरदान छ, लाहुरे–साहुरेको चक्करमा लाग्ने होइन भन्नुहुन्थ्यो,” उनी भन्छन्, “त्यही भरथेग पाएपछि आँट कसेर काठमाडौं आएको थिएँ।”
उनी घरबाटै खर्च धानेर काठमाडौं बस्न सक्थे, तर मनले मानेन। आफैंले कमाउने सोच्दा उपाय निस्कियो। काष्ठमण्डप आर्ट स्टुडियोमा बेसिक र एड्भान्स कोर्स गरेर चित्रकला प्रदर्शनी गर्न थाले। पहिलो प्रदर्शनी गर्दा एउटा चित्र २५ सयमा बिक्री भयो, जुन ललितकलामा उनको पहिलो कमाइ थियो। “त्यसपछि त प्रदर्शनीसँगै कमाइ पनि बढ्यो, हौसला पनि भयो,” उनी शुरूआती सफलता सम्झन्छन्।
२०७१ सालमा उनी ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख भए। पाँचवर्षे कार्यकालमा स्वदेशीदेखि विदेशी कलाकारको उपस्थितिमा कार्यशाला, प्रदर्शनी, गोष्ठी लगायत ललितकलाका विविध गतिविधि गरे। ललितकलालाई सौन्दर्य, शोख र प्रतिष्ठाको विधा मात्र मान्ने विगतको सोच बदलिएर यसबाट देशलाई विश्व स्तरमा चिनाउने र आम्दानी भित्र्याउने माध्यम बनाएको देख्दा उनी खुशी प्रकट गर्छन्।
उनको हेराइमा नेपाली ललितकलामा पहिलेको भन्दा केही सुधार देखिए पनि अपेक्षाकृत काम हुन सकेको छैन। राज्यले लगानी गर्न हिचकिचाउने प्रवृत्तिप्रति उनी खिन्न छन्। “ललितकलामा लगानी गर्दा नाफा र घाटासँग हेरेर गरिन्छ, जबकि यूरोपेली राष्ट्रहरूले यसमा लगानी गरेरै मनग्य आम्दानी गरेका छन्,” उनी भन्छन्। नेपाली ललितकलाको विकासका लागि मावि तहमा ललितकला विषयको शिक्षक र हरेक प्रदेशमा एउटा संग्रहालय बनाइनुपर्ने उनको धारणा छ।
राज्यले पर्याप्त काम गर्न नसकिरहँदा धनु व्यक्तिगत तहमा कला प्रवर्द्धनको काममा कुदिरहेका हुन्छन्। उनले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम वर्षमा दुई–तीन वटा गर्दै आएका छन्। उनी भन्छन्, “नेपाली चित्रकला र मूर्तिकला उहिल्यैबाट विश्वमा नामी रहिआएको हो, यसको थप प्रर्वद्धनमा व्यक्तिगत रूपमा लागेकोे हुँ।”
उनी दिनरात कलाकर्ममा लागिरहेका हुन्छन्। विख्यात इटालियन कलाकार माइकल एन्जेलोको ‘आई एम स्टिल लर्निङ’ भनाइलाई उनले जीवनको मूल मन्त्र बनाएका छन्। जति सिक्यो उति आत्मविश्वास बढ्ने उनको अनुभव छ। सिक्न खोज्ने नयाँ पुस्ताका कलाकारलाई सघाउन तत्काल कस्सिन्छन्।
धनुले बनाएका मूर्तिकला देशका विभिन्न ठाउँमा स्थापित छन्। उनी निर्मित मूर्तिहरूले धेरै ठाउँमा पहिलेका भद्दा शालिकहरू प्रतिस्थापन गरेका छन्, र नयाँ पनि उभिँदै छन्। काठमाडौंको रत्नपार्क शान्ति वाटिकामा गणेशमान सिंहको पुरानो शालिकको ठाउँमा प्रतिस्थापित शालिक उनकै सिर्जना हो। गणेशमानको पहिलेको शालिक बेढङ्गको भएको र व्यक्तित्वको अपमान गरेको भन्दै विवादास्पद भएको थियो।
यस्तै, सुनसरीको इनरुवामा राखिएको २०६२/६३ को आन्दोलनकी ऊर्जा छायाँदेवी पराजुलीको शालिक, तनहुँमा आदिकवि भानुभक्त आचार्यको, विराटनगरमा बीपी कोइरालाको र खोटाङमा राखिएको राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिक उनैले बनाएका हुन्। उनको हातमा रहेको ठूलो योजना हो, भक्तपुरमा किरात राजा यलम्बरको एक सय फिट अग्लो शालिक निर्माण।
धनुका अनुसार, कसैको चित्र वा मूर्ति बनाउनुअघि उसको व्यक्तित्वको अध्ययन गर्नु महत्त्वपूर्ण हुन्छ। पुरुषको तुलनामा महिलाको चित्र या मूर्ति बनाउँदा मुहारमा करुणा, दया, संवेदना झल्काउन पनि सम्बन्धित पात्रको चरित्र अध्ययन गर्नुपर्ने उनी बताउँछन्।
उनलाई चित्र बनाउन केही मिनेटदेखि महीनौंसम्म लाग्छ। त्यस्तै, एउटा मूर्ति बनाउनुपर्दा त्यसबारे सारा पक्ष बुझिसकेपछि बनाइसक्न हप्तादेखि महीनौंसम्म लाग्ने उनी बताउँछन्। जस्तो- ललितपुरको लुभु लामाटारमा स्थापित गणेशमान सिंहको १० फिटको शालिक बनाउन उनलाई ६ महीना लागेको थियो।
कलाकर्ममा लागिरहँदा उनको मन त रमाएकै छ, साधना र मिहिनेतको फल पनि पर्याप्त मिल्छ। उनले धातुको अर्धकदको मूर्तिको तीन लाखदेखि पाँच लाखसम्म र पूर्ण कदको मूर्तिको १५ लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेका छन्। चित्र भने २० हजारदेखि तीन लाखसम्ममा बिक्री गर्दै आएका छन्।
धनुकी जीवनसँगिनी विनिता इजम पनि कलाकार हुन्। उनले फाइन आर्टस्मा स्नातक गरेकी छन्। कला पढेका–बुझेका, मूल्य र जिम्मेवारी मनन गरेका कारण यो दम्पतीलाई अघि बढ्न सजिलो भएको छ। श्रीमतीको साथसहयोगले कलायात्रामा धेरै भरथेग मिलेको धनु बताउँछन्। “उनको साथकै कारण नेपाली ललितकला प्रर्वद्धनका लागि देशदेशावर गर्न सजिलो भएको छ,” धनु भन्छन्।
कला प्रवर्द्धनमा दम्पती
धनु–विनिताको जोडीले केही वर्षदेखि आफ्नै लगानीमा ललितकलाका विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यस क्रममा धनुकोे कला दौडाहा बढी हुन्छ। दुई छोरा सानै भएकाले विनिता कलासँगै घर सजाउन समय दिन्छिन्। धनु देशदेशावरमा फड्को मार्दै गर्दा विनिता त्यसका लागि आवश्यक बन्दोबस्त मिलाइरहेकी हुन्छिन्।
धनुले मोरङको भाउन्नेदेखि काठमाडौं र यूरोपसम्मलाई आफ्नो कार्यक्षेत्र बनाएका छन्। भाउन्नेको जङ्गलमा उनले जापान, इटाली, जर्मनी, भारत, बाङ्लादेश सहित ६ देशका कलाकार ल्याएर शिला उद्यान बनाएका छन्। राजमार्गसँगैको यो उद्यानलाई अझ आकर्षक र व्यवस्थित बनाउने उनको अभियान जारी छ।
यो दम्पतीले सन् २०२० मा शुरू गरेको अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला जारी छ। भारत, जर्मनी, जापान, दक्षिण कोरिया लगायत देश सहित नेपालका पोखरा, चितवन, नगरकोट, भक्तपुरमा यस्तो कार्यशाला गरिसकेका छन्।
लाइभ पेन्टिङमा धनुको विशेष रुचि छ। उनले एशिया र यूरोपका विभिन्न देशमा एकल तथा सामूहिक लाइभ पेन्टिङ कार्यक्रम गरिसकेका छन्। गत महीना अन्तर्राष्ट्रिय लाइभ पेन्टिङ प्रदर्शनीको सिलसिलामा उनी मनाङको तिलिचोमा थिए। उक्त कार्यक्रममा भारत, दक्षिण कोरिया, लिथुनिया, युक्रेन र अमेरिकाका कलाकार आमन्त्रित थिए।
व्यक्तिगत खर्चका साथै विदेशी दाताको सहयोगबाट उनले यस्ता कार्यक्रम गर्दै आएका छन्। देशको झण्डासहित देश–विदेशमा कार्यक्रम गर्दा आत्मसन्तुष्टि मिल्ने उनी बताउँछन्। ललितकला प्रवर्द्धनका लागि उनले भारत, चीन, दक्षिण कोरिया, अस्ट्रिया, कतार, जर्मनी, मलेशिया, थाइल्यान्ड, फिनल्यान्ड, पोल्यान्ड लगायत देशको भ्रमण गरिसकेका छन्।
आफू रातारात चर्चित र पुरस्कृत हुने सोचले नभई गहिरो लगाव लिएर ललितकलामा आएकाले सम्भव हुन्जेल अहिलेकै तरीकाले काम गर्दै बढ्ने उनको भनाइ छ। “आज कला व्यावसायिक बनिसकेकाले व्यक्तिगत कामसँगै कला प्रवर्द्धनमा पनि केही गरौं भन्न सक्ने अवस्था छ, त्यसैले अहिले गरिरहेको कामको पारा छाड्दिनँ,” उनी भन्छन्।