‘मतदाताकाे विश्वासलाई शिरमा राखेर अगाडि बढ्छु’
‘पदका लागि होइन, राजनीतिक चेत बोकेर यो अभियानमा होमिएकी हुँ’
नेकपा (एमाले) नेत्री विद्या भट्टराई कास्की-२ बाट १६ हजार ९९८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनी दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। नेत्री भट्टराईसँग हिमालखबरका लागि दुर्गा राना मगरले गरेको संवादः
दोस्रो पटक सांसदका रूपमा निर्वाचित हुनुुभएको छ, कस्तो लागिरहेको छ?
पहिलो पटक म रवीन्द्र अधिकारी, जसलाई २०७४ सालमा जनताले निर्वाचित गर्नुभएको थियो, उहाँले आफ्नो पूर्ण कार्यकाल काम गर्न पाउनुभएन। उहाँको उत्तराधिकारीका रूपमा म आएँ।
यो जित अघिल्लो पटक रवीन्द्र अधिकारीप्रतिको सम्मानका रूपमा जिताउनुभएको थियो, त्यसैको निरन्तरता हो। अर्को, नेकपा (एमाले)प्रति जनताले गरेको विश्वास हो। तेस्रो, विद्या भट्टराईले राजनीतिमा प्रवेश गरेकी छ, उसले संसदीय चुनावपछि जुन भूमिका निर्वाह गरी, त्यसैका लागि जनताले मप्रति गरेको विश्वास, सद्भाव हो भन्ने ठान्छु।
अघिल्लो निर्वाचनमा सहानुभूतिको मत पाउनुभयो भन्ने थियो। यस पटक त त्यस्तो थिएन। के आधारमा जित हासिल भयो भन्ने लाग्छ?
अघिल्लो उपनिर्वाचन सहानुभूतिको भनियो, तर त्यहाँ मप्रतिको विश्वास पनि थियो। सहानुभूति त मलाई स्वाभाविक रूपमा थियो नै। म त्यसलाई अस्वीकार गर्दिनँ। किनकि, एउटा आफ्नो नेतालाई गुमाउँदा अर्को कोही आएको भए पनि सहानुभूति हुन्थ्यो। त्यो म मात्र होइन, परिवारको मान्छे ल्याउँदा प्रत्यक्ष रूपमा सहानुभूति प्रकट हुने नै भयो। त्यसलाई म अन्यथा मान्दिनँ।
यसमा तीन वटा कुरा छन्। एउटा मलाई धेरैले भन्ने गर्नुहुन्थ्यो, ‘तपाईं राजनीतिमा आउनुभयो, तपाईंको व्यवहारबाट प्रभावित भएका छौं। यस्तै निष्ठावान् भएर लाग्नुस्।’
दोस्रो, महिला राजनीतिमा आउनुपर्छ भन्ने पनि छ। महिला राजनीतिमा नआएसम्म राजनीति समृद्ध बन्न सक्दैन। हामी समावेशिताको कुरा गर्छौं। समावेशी लोकतन्त्रलाई अघि बढाउने, गणतन्त्रलाई अघि बढाउने हो भने महिला मात्र होइन सबै वर्ग, समुदायका व्यक्ति आउनु जरुरी छ। हरेकले राजनीतिमा आउन सक्ने वातावरण तयार पार्नुपर्छ। तपाईं उदाहरण बन्नुपर्छ भन्ने गर्थे।
तेस्रो, रवीन्द्र अधिकारीले शुरूआत गरेका विकासका योजना मात्र होइन, उहाँको मुलुक परिवर्तनप्रतिको जुन ‘भिजन’ थियो, त्यसलाई तपाईंले अघि बढाउनुपर्छ भन्ने थियो। यी तीन वटा कोणबाट मलाई हेरिएको छ भन्ने लाग्छ। तीनै कोणबाट हेर्ने मान्छेहरूले मत दिए।
अर्को, एमालेले हिजो यस क्षेत्रमा गरेको काम छ, त्यो कामले पनि जनताले हामीलाई विश्वास गरे। यी चारै कुराले नै मलाई विजयी गराए भन्ने लाग्छ।
यस पटक निर्वाचनमा महिला उम्मेदवार थोरै देखिए। ठूलो पार्टीले महिलालाई विश्वास गर्न नसकेको हो?
तपाईंले गर्नुुभएको प्रश्न सही हो। मेरो अलिकति अपवाद पनि हो। तपाईं फेरि एक पटक उठ्नुपर्छ भन्ने आग्रहका आधारमा म आएँ। आम रूपमा अहिले महिला प्रतिस्पर्धीका रूपमा आउने कुरा, निरन्तर महिला राजनीतिमा लाग्ने कुरा चुनौतीपूर्ण नै छ। यसलाई अब हामीले बदल्नुपर्छ। त्यसका लागि पार्टीभित्र महिलाका लागि सहयोगी वातावरण तयार गर्नुपर्छ। जबसम्म सहयोगी वातावरण बनाउन सक्दैनौं, त्यति वेलासम्म महिला राजनीतिमा टिक्न सक्दैनन्।
त्यसले गर्दा अहिले पनि महिला उठ्छु भन्दा ‘तिमीसँग पैसा छ? तिमी कति वर्षदेखि काम गर्यौ’ भनी चुनौती र समस्या मात्र देखाउने, महिला टाढा रहून् भन्ने किसिमका मानसिकता तयार पार्ने जुन प्रवृत्ति छ, यसलाई तोड्नुपर्छ। महिला आउन सक्दैनन् भन्ने थियो, तर आइरहेका छन् नि।
अघिल्लो पटक एकाएक राजनीतिमा आउनुभयो, जितेपछि काम गर्न सक्नुभएन भन्ने गुनासो छ। फेरि जित्नुभएको छ, अब कसरी अघि बढ्ने सोच्नुभएको छ?
पहिलो, म राजनीतिमा सधैं थिएँ। कहाँ थिएँ भन्ने मात्र हो। संसद्मा चाहिं पहिलो पटक पुगें।
एमालेको शिक्षा विभागमा काम गरेकी थिएँ। जति वेला चुनाव लड्न आएकी थिएँ, त्यस वेला पनि शिक्षा विभाग, मानव स्रोत विभागकी केन्द्रीय सदस्य थिएँ। एमालेकी संगठित सदस्य हुँ, २०४७ सालमै १७ वर्षको उमेरमा सदस्यता लिएकी हुँ। राजनीतिमा थिइनँ भन्ने चाहिं गलत हो।
म एक प्राध्यापक हुँ, समाजशास्त्री हुँ, यो पाटोबाट हेरिएको छैन। एउटा पुरुषले जित्दा एउटा ढङ्गले हेरिन्छ भने महिलाले जित्दा अर्कै ढङ्गले हेर्ने गरिन्छ।
दोस्रो, अहिलेलाई विरासतभन्दा पनि हिजोको मेरो कामको निरन्तरताले नै जनताले निर्वाचित गरेका हुन् भन्ने लाग्छ। रवीन्द्रजीप्रतिको सम्मान, उहाँको छाया ममा देख्नु गलत ठान्दिनँ। तर, अब चाहिं मैले गर्ने काम, मेरो व्यवहारले, मैले व्यक्त गर्ने विचारले नै मलाई हेर्नुपर्छ भन्ने लाग्छ।
निर्वाचित भइसकेपछि मैले दुई वटा कुरा विचार गरेकी छु। एउटा, म सांसद हुँ, सांसदको पहिलो काम भनेको संसद्मा प्रभावकारी प्रस्तुति दिनु हो।
दोस्रो, मेरो निर्वाचन क्षेत्रका समस्यालाई संसद्मा जनताको आवाजका रूपमा पुर्याउनु हो। तेस्रो, विकासको कामको अनुगमन गर्ने र स्थानीयदेखि संघीय सरकारलाई जवाफदेही बनाउने हो। जनताका कामप्रति स्थानीयदेखि संघीय सरकारलाई उत्तरदायी बनाउनेमा मेरो भूमिका रहन्छ। यो निर्वाचन क्षेत्रभित्रका विकास निर्माणका योजनाको अनुगमन गर्ने, जनताको जीवनस्तर उठाउने, समृद्ध बनाउने विषयमा योजना ल्याउनेमा सरकारलाई घचघच्याउने काममा समर्पित हुनेछु।
आम बुझाइ गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा होला भन्ने थियो। भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रतिस्पर्धामा आए। अब पुराना राजनीतिक दलले सोच्ने वेला आएको हो?
पहिलो त लोकतन्त्रमा निर्वाचन एउटा प्रक्रिया मात्र हो। यो प्रक्रियामा कसैले जित्न सक्छ, कसैले हार्न सक्छ। हार-जितलाई सामान्य बनाउनु जरुरी छ।
दोस्रो, समाजमा पार्टीहरूको निर्माण हुने, विघटन हुने प्रक्रिया चलिरहन्छ। हामीले के सोच्नुपर्यो भन्दा पुराना पार्टीले परिवर्तन गर्छ भन्ने जनताको विश्वास अझै छ। यिनै पार्टीले विभेद र समानताको अन्त्य गर्न लाग्छन् भन्ने अझै छ। यस जनविश्वासलाई ठूला पार्टीले नेतृत्व गर्न सक्नुपर्छ।
नयाँ पार्टी जन्मन सक्छन्। केही समय ठूला पार्टीको कामले वितृष्णाका रूपमा नै नयाँ पार्टी आउने गरेका हुन्। र, फेरि ध्रुवीकृत हुने प्रक्रिया पनि चलिरहेको छ। अहिले नयाँ पार्टी आएको छ, मेरो सम्मान पनि छ। तर, यससँगै राजनीतिक स्थिरता हुनु पनि जरुरी छ। समयक्रममा निश्चित केही पार्टी रहिरहने र अरू पार्टी ध्रुवीकृत हुने क्रम चलिरहन्छ। त्यो प्रक्रिया अघि बढ्दा मात्रै हामी राजनीतिक रूपमा स्थिर हुन सक्छौं। र, त्यसपछि मात्र हामीले समृद्धिको अभ्यासलाई अगाडि लैजान सक्छौं।
अबको पाँच वर्षमा यो क्षेत्रका केकस्ता मुद्दा प्राथमिकतामा राख्नुहुन्छ?
पहिलो, मेरो क्षेत्रमा सुकुम्बासी बस्ती छ, त्यसलाई व्यवस्थापन गर्नु छ। अर्को, विपन्नताको मापन गरेर हाम्रो क्षेत्रमा रहेका श्रमिकलाई व्यवस्थित गर्नु छ। उनीहरूलाई रोजगारी दिनेतर्फ पहल गर्छु।
तेस्रो, आज पनि महिला उद्यमशील हुन सकेका छैनन्। महिलालाई उद्यमशील बनाउने गरी अभियान सञ्चालन गर्नुपर्छ, कार्यक्रम ल्याउनुपर्छ। चौथो, लैङ्गिक असमानता, जातीय विभेदका कुरा कायम छन्। हामी तिनलाई राजनीतिक मुद्दा त बनाइरहेका छौं, तर समाधान गर्न राज्यले कार्यक्रम बनाउने कुरा अझ पनि भएको छैन। यी विषयलाई प्राथमिकतामा राख्न सरकारलाई घचघच्याउनेछु।
त्यस्तै, हाम्रो क्षेत्र प्राकृतिक सम्पदाको हिसाबले सम्पन्न छ। गुफाहरू धेरै छन्। यहाँ पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन्। यसको स्तरोन्नति गर्ने कार्यक्रम ल्याएर त्यसै अनुसारको योजना तथा कार्यक्रम ल्याउन भूमिका खेल्नेछु।
कास्की-२ मा पोखरा महानगरका ११ वडा समावेश छन्। त्यसैले पोखरा महानगरको विकासका लागि ‘मोडल’ ल्याउनेछु। यसका लागि सरकारी निकाय, विज्ञसँग बसेर छलफल गर्छु। यसलाई मैले नेतृत्व गर्नुपर्छ।
पोखरा बसपार्कको कुरा अझै पनि छ, त्यसलाई निर्माण गर्ने कुरामा छलफल अघि बढाउँछु। यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि 'डम्पिङ साइट' को व्यवस्थापनको कुरा छ। त्यहाँ जबर्जस्ती नगरी जनतासँग छलफल गरेर समाधान निकाल्नुपर्छ। यसले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न र समृद्ध पोखरा निर्माणमा सहयोग गर्नेछ। यसले समृद्ध गण्डकी बनाउन सहयोग गर्छ भन्ने विश्वास छ।
अन्त्यमा, तपाईंलाई जिताउने मतदातालाई के भन्नुहुन्छ?
म मतदाताप्रति आभार व्यक्त गर्छु, धन्यवाद भन्छु। चुनौतीपूर्ण अवस्थामा त्रिपक्षीय प्रतिस्पर्धा भयो। त्यसमा पनि अत्यधिक मतले विजयी गराउनुुभएको छ। म के विश्वास दिलाउन चाहन्छु भने, आज यहाँहरूले दिएको मत खराब ठाउँमा प्रयोग हुनेछैन। विद्या भट्टराईले पदका लागि राजनीति गरेकी होइन, राजनीतिक चेतका साथ यो अभियानमा जोडिएकी छु। त्यस कारण म सधैं जनताको विश्वासलाई आफ्नो शिरमा राखेर अगाडि बढ्छु भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु।