मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने
असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन ।
न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए ।
“मनसुन ट्रस्ट भारतको मध्य भूभागमै रहेको छ । उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ”, पोखरेलले भने ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै शनिबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभरि आंशिकदेखि सामान्य बदली रही एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिबार सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।