स्वतन्त्र पार्टीको समानुपातिकमा तीन लाख मत
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको मतगणनामा तीन लाखको सीमा कटाएको छ। सम्भावित ‘थ्रेसहोल्ड’ पार गरेसँगै स्वतन्त्र पार्टीले समानुपातिक सीट गणनामा हिस्सा पाउने सुनिश्चित भएको छ।
निर्वाचन आयोगका अनुसार, बिहीबार अपराह्नसम्म स्वतन्त्र पार्टीले तीन लाख चार हजार मत पाएको छ। प्रतिनिधि सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क अनुसार समानुपातिकतर्फ तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न दलहरूले करीब तीन लाख मत ल्याउनुपर्ने अनुमान गरिएको छ।
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ। एमालेले झण्डै ६ लाख मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाँच लाख ६७ हजार हाराहारीमा मत ल्याएको छ।
स्वतन्त्र पार्टीभन्दा पछाडि रहेको नेकपा (माओवादी केन्द्र)ले समानुपातिकमा दुई लाख ७४ हजार मत पाएको छ। पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६६ हजार मत पाएको छ।
छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ७४ हजार मत पाएको छ।
नेकपा (एकीकृत समाजवादी)को समानुपातिकतर्फको मत भने तुलनात्मक न्यून छ। प्रत्यक्षतर्फ १० सीटमा जित्ने देखिएको यो दलले समानुपातिकमा जम्मा ४० हजार मत पाएको छ। यसले तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न कठिन देखिएको छ।