खोटाङमा माओवादीका रामकुमार राई विजयी
खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राई निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार राईले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गरेका हुन्। राईले ३१ हजार ३५१ र भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन्।
निर्वाचित राई प्रदेश १ का खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री हुन्। २०६४ को पहिलो संविधानसभा सदस्य राई २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भट्टराई २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए।
निर्वाचन परिणाम अनुसार, जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्रका जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदूर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेशनल अर्गनाइजेशनका दीपक मगरले १३१ मत पाएका छन्। कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको खोटाङमा ६७ हजार ४०८ मत खसेको थियो। दुई हजार ९८६ मत बदर भएको छ।