मकवानपुर-१ राप्रपाका सिंहले डिना उपाध्यायलाई पछि पारे
मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन्।
हेटौंडा बजार क्षेत्रको मतगणना थालेपछि यसअघि तेस्रो स्थानमा रहेका सिंहले अग्रता लिएका हुन्। उनले २३ हजार ३५८ मत प्राप्त गरेका छन्।
यसअघि पहिलो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ १८ मतले पछि परेकी छन्। उनले २३ हजार ३४० मत प्राप्त गरेकी छन्। एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५८ मत पाएका छन्।
यस क्षेत्रमा ११ हजार ७३१ मत गणना गर्न बाँकी छ। हालसम्म ७९ हजार ७५५ मत गनिएको छ।
यता‚ थापाले मतगणना बाँकी हुँदा हार स्वीकार गरिसकेका छन्। उनले सामाजिक सञ्जालमा हार स्वीकार्ने लेखेका छन्। उनले लेखेका छन्‚ “पराजय सहर्ष स्वीकार गर्दछु। हामीलाई मत दिने सबैमा आभार।”