फोहोरले पुरिएको कैलाशडाँडा
दर्शनार्थीले ल्याएका प्लाष्टिकका झोला‚ भाँडा र बालाचतुर्दशीको अवसरमा छरिएका शतबीजले पशुपतिनाथ क्षेत्रको कैलाशडाँडा फोहोरले पुरिएको छ।
बुधबार पशुपतिनाथ परिसरमा रहेको कैलाशडाँडा उक्लिंदै गर्दा एक जना युवाको जुत्तामा फोहोर सहितको प्लाष्टिक टाँसियो। त्यही वेला उनले दिक्क मान्दै भने, “यो ठाउँ कहिल्यै नसुध्रने भयो। कति फोहोर!”
आशिष मिश्र पशुपतिनाथको दर्शन गर्न भारतको गुवाहाटीबाट आएका रहेछन्। उनी अघिल्लो वर्षको शिवरात्रिमा पनि आएका रहेछन्। उनलाई कैलाशडाँडामा भएको फोहोरबारे स्थानीयले बुझाउँदै भने, “बालाचतुर्दशीको कारणले हो‚ मेला भएर। यस्तोमा यस्तै हुन्छ।”
अघिल्लो रात पशुपति क्षेत्रमा दीप प्रज्वलन गरी जाग्राम बसी बालाचतुर्दशीका दिन पितृहरूको मोक्षका लागि यस क्षेत्रमा शतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने प्रचलन छ। यस वर्ष मंसीर ६ गते बालाचतुर्दशी पर्व परेको थियो। शतबीजले कैलाशडाँडामा ‘फोहोरको अर्को डाँडा’ बनेको छ।
तर‚ मेला लागिसकेको एक दिन बित्दा पनि कैलाशडाँडाको फोहोर व्यवस्थापन भएको थिएन। “पशुपति क्षेत्र विकास कोषले यत्रो दिनमा पनि काम सक्दैन‚” त्यहाँ घुम्ती पसल गर्नेहरूले भने‚ “हामीले पसल राख्ने स्थान आफैं सफा गर्यौं। यहाँको फोहोरले गर्दा व्यापार पनि घटेको छ।”
फोहोर व्यवस्थापन समयमै नहुँदा उक्त स्थानमा प्लाष्टिक र अन्य फोहोरहरू जथाभावी जलाइएको छ। दर्शनार्थीहरूले आफ्नो कर्तव्य पूरा नगरेको बताउँदै एक स्थानीयले भने, “आफूले ल्याएका प्लाष्टिकका भाडा, झोला फोहोरको स्थानमा पनि नराख्ने‚ जथाभावी गर्नेहरू भए।”
पशुपति क्षेत्र विकास कोषका कार्यकारी अघिकृत धनश्याम खतिवडा कम जनशक्ति भएकाले फोहोर व्यवस्थापनमा केही ढिलो भएको बताउँछन्। “यसको व्यवस्थापन हुन जनशक्तिको कम भएकाले पाँच दिनसम्म लाग्न सक्छ‚” उनले भने‚ “हामीले नेपाली सेनाको सहयोग लिनेछौं। यो समय लाग्ने काम नै हो।”