समानुपातिकको प्रारम्भिक रुझान: एमाले पहिलो हुने सम्भावना, एकीकृत समाजवादी राष्ट्रिय दल बन्न कठिन
समानुपातिक मतगणनाको प्रारम्भिक रुझानमा एमाले पहिलो दल बन्ने र एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न कठिन हुने सम्भावना देखिएको छ।
प्रतिनिधि सभा निर्वाचन २०७९ को मतगणना जारी रहँदा समानुपातिकतर्फ पहिलो स्थानमा कुन दल उक्लिएला भन्ने चासो छ। त्यस्तै, पहिलो पटक निर्वाचनमा भाग लिएर आश्चर्यजनक मत ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कति सीट पाउला भन्ने खुल्दुली पनि उत्तिकै छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मंसीर ७ गते अपराह्नसम्मको तथ्याङ्क अनुसार, समानुपातिकतर्फ आठ लाख ६० हजार मतको गणना सकिएको छ। गनिएका मतमा नेकपा (एमाले) पहिलो स्थानमा छ। एमालेले दुई लाख ४२ हजार मत पाएको छ।
एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फ दुई लाख १९ हजार ४९१ मत पाएको छ। एमालेभन्दा कांग्रेसको मत २२ हजार पाँच सयले कम छ।
निर्वाचन आयोगका अनुसार, यो निर्वाचनमा ६१ प्रतिशत हाराहारीमा मतदान भएको छ। यसको अर्थ, एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये एक करोड १० लाख हाराहारी मतदाताले मतदान गरेका छन्।
त्यसैले प्रारम्भिक विवरणबाटै समानुपातिकतर्फ दलहरूको स्थितिको आकलन गर्न सजिलो छैन। तर, अहिलेसम्म दलहरूले प्राप्त गरेको मत आगामी गणनामा पनि कायम रहने हो भने एमाले समानुपातिकतर्फ पहिलो दल हुने देखिएको छ।
निर्वाचन तथ्याङ्कको विश्लेषण गर्दै आएका तथ्याङ्कशास्त्री समीर केसीले समानुपातिकतर्फ दलहरूले पाएको मतलाई आधार बनाएर गरेको आकलनमा एमालेले समानुपातिकतर्फ ३६ सीट पाउनेछ। त्यसै गरी, कांग्रेसले समानुपातिकतर्फ एमालेको भन्दा तीन सीट कम अर्थात् ३३ सीट पाउने सम्भावना छ। समानुपातिकतर्फको संख्या निर्धारण गर्ने गणितीय तरीकाका आधारमा यस्तो आकलन गरिएको उनले बताए।
तथ्याङ्क विश्लेषणमा दखल राख्ने कांग्रेसका नेता मीनेन्द्र रिजालले हिमालखबरसँगको कुराकानीमा समानुपातिकतर्फ एमालेले ३८ सीट र कांग्रेसले ३३ सीट पाउने आकलन गरेका छन्।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ ४१ र कांग्रेसले ४० सीट पाएको थियो। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडामा दलहरूले पाएको मतको आधारमा कांग्रेसले कुल मतको ३४.२८ प्रतिशत र एमालेले ३३.०३ प्रतिशत मत पाएका थिए।
सर्वाधिक चासो भने यी दुई प्रमुख दलको भन्दा पहिलो पटक निर्वाचनको परीक्षणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पाउन सक्ने समानुपातिक सीट संख्यामा छ। स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिक मत गणनामा तेस्रो स्थान ओगटेर एक लाख १२ हजार मत पाएको छ। यो अहिलेसम्म गणना भएको मतको १३ प्रतिशत हो। एमाले करीब २८ प्रतिशत र कांग्रेसले २५ प्रतिशत मत पाएका छन्। यसको अर्थ, यो निर्वाचनमा प्रमुख दल कांग्रेस र एमाले दुवैको उल्लेख्य मत स्वतन्त्र पार्टीतर्फ सोहोरिएको छ।
तथ्याङ्कशास्त्री केसीका अनुसार, अहिलेको मत प्राप्तिको प्रवृत्ति कायम रहने हो भने स्वतन्त्र पार्टीले समानुपातिकमा १७ सीट पाउनेछ। यो नेकपा (माओवादी केन्द्र)को समानुपातिकतर्फको सम्भावित सीट संख्याभन्दा धेरै हो।
केसीले अहिले माओवादीले पाइरहेको मत अन्तिमसम्म कायम रहे समानुपातिकमा १५ सीट पाउने आकलन गरेका छन्। माओवादीले अहिलेसम्मको गणनामा समानुपातिकतर्फ एक लाख पाँच सय हाराहारीमा मत पाएको छ।
तथ्याङ्कशास्त्री केसीले समानुपातिकतर्फ पाँच दलले मात्र सीट बाँडफाँड गर्ने अनुमान गरेका छन्। एमाले, कांग्रेस, स्वतन्त्र पार्टी र माओवादी बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कानूनले निर्धारण गरेको तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने उनको अनुमान छ। कानून अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत पाउने दल मात्र समानुपातिकतर्फको सीट बाँडफाँडका लागि योग्य हुन्छ। यो सीमा पार गर्ने मत नल्याउने दलको समानुपातिकतर्फको मत खेर जान्छ अर्थात् सीट पाउँदैन।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६० (१२) मा ‘दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भनिएको छ। अर्थात्, तीन प्रतिशत मत नपुर्याउने दलले प्राप्त गरेको मत समानुपातिकका लागि गणना हुँदैन।
केसीले अहिलेको मत प्राप्तिको प्रवृत्ति कायम रहे राप्रपाले समानुपातिकतर्फ नौ सीट जित्न सक्ने सम्भावना छ। निर्वाचन आयोगका अनुसार, राप्रपाले अहिलेसम्म ५७ हजार ७६४ मत पाएको छ। यो कुल मतको ६.७ प्रतिशत हो।
यीबाहेक जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी आदिले ‘थ्रेसहोल्ड’ पार नगर्ने आकलन केसीले गरेका छन्। २०७४ सालको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मात्रै ‘थ्रेसहोल्ड’ पार गरेर समानुपातिकतर्फको सीट बाँडफाँड गरेका थिए।
त्यति वेला चार दर्जन राजनीतिक दलले ९५ लाखभन्दा बढी सदर मत पाएका थिए। ‘थ्रेसहोल्ड’ पार नगर्ने दलले पाएको मत घटाउँदा ८५ लाख ८४ हजार मतलाई विभाजन गरी ११० वटा समानुपातिक सीट बाँडफाँड गरिएको थियो। अर्थात्, ७७ हजार ७०९ मत बराबर एक समानुपातिक सीट पाएका थिए।
अहिलेसम्म गणना भएको समानुपातिकतर्फको मत परिणामका आधारमा पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निराशाजनक मत पाएको देखिएको छ। एकीकृत समाजवादीले १३ हजार ३०३ मत पाएको छ। यो गनिएका समानुपातिकतर्फको मतको १.१ प्रतिशत मात्रै हो। अब बाँकी मतगणनामा आफ्नो उपस्थिति बलियो बनाउन सकेन भने अहिलेको प्रवृत्ति हेर्दा एकीकृत समाजवादीले समानुपातिकतर्फ कुनै सीट पनि पाउनेछैन।
निर्वाचन आयोगका अनुसार, यस पटक एक करोड १० लाख हाराहारी मतदाता निर्वाचनमा सहभागी भएका छन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तीन प्रतिशत हाराहारीमा मत बदर भएको पक्षलाई आधार बनाएर यो निर्वाचनमा पनि सोही सरह मत बदर भएको मान्दा एक करोड सात लाख मत समानुपातिकतर्फ गणनाका लागि योग्य हुन्छ। तर, कानून अनुसार तीन प्रतिशत नपुर्याउने दलको मत समानुपातिक सीट बाँडफाँडमा गणना हुँदैन।
२०७४ सालमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार नगरेका दलले पाएको करीब १० प्रतिशत मत समानुपातिक सीट बाँडफाँडमा गणना भएको थिएन। यस पटक पनि ‘थ्रेसहोल्ड’ पार नगर्ने साना दलले पाउने करीब १० प्रतिशत मत कटाउँदा ९६ लाख ३० हजार हाराहारीमा मत समानुपातिक सीट बाँडफाँडका लागि गणना हुन सक्छ।
त्यसो हुँदा, करीब ८८ हजार मत बराबर एक समानुपातिक सिट हुनसक्छ ।*
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचन प्रणालीतर्फ कम्तीमा एक सीट जित्नुपर्ने उल्लेख छ। एकीकृत समाजवादीले तीन प्रतिशत मत पाएन भने प्रत्यक्षतर्फ जति सीट जिते पनि राष्ट्रिय दलको मान्यता पाउनेछैन। राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा संसदीय दलको कार्यालय सहितका सुविधा पाउँछन्।
एकीकृत समाजवादीले एक स्थानमा जितिसकेको छ भने ६ निर्वाचन क्षेत्रको मतगणनामा अग्रता लिइरहेको छ। राष्ट्रिय दलको मान्यता नपाए पनि एकीकृत समाजवादीले प्रत्यक्ष जितेका सीट संख्याको आधारमा संसदीय दल गठन गर्न सक्नेछ।
यद्यपि, अहिले गणना भइरहेको समानुपातिकतर्फको मत सुगम जिल्ला र शहरी क्षेत्रको धेरै भएको अनुमान छ। ग्रामीण क्षेत्र र दुर्गम जिल्लामा समानुपातिकतर्फको मतगणना निकै प्रारम्भिक अवस्थामा छ। थुप्रै जिल्लामा शुरू नै हुन बाँकी छ। जसले गर्दा दलहरूले पाइरहेको समानुपातिकतर्फको मतपरिणाम अहिलेको प्रवृत्तिभन्दा फरक पर्न सक्छ। यो दलको प्रभावकारी उपस्थिति रहेका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्ला तथा अन्य जिल्लामा समानुपातिकतर्फको मतगणना निकै प्रारम्भिक अवस्थामा छ। स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले वडा तहमा चार लाख २२ हजार मत पाएको थियो।
त्यसो हुँदा, शहरी क्षेत्रमा उल्लेख्य मत पाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत प्राप्तिको प्रवृत्ति आगामी गणनामा घट्दै जान सक्छ। माओवादी र एकीकृत समाजवादीको भने गणना हुन बाँकी क्षेत्रमा मत प्राप्तिको प्रवृत्ति बढ्न सक्छ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार र कांग्रेसले ३१ लाख २८ हजार मत पाएको थियो। त्यस्तै, माओवादीले १३ लाख तीन हजार मत पाएको थियो।
यसै गरी, विवेकशील साझा पार्टीले दुई लाख १२ हजार र राप्रपाले एक लाख ९६ हजार मत पाए पनि तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न नसक्दा समानुपातिकतर्फको सीट गुमाउनुपरेको थियो।
* सच्याइएको