मधेशका मुख्यमन्त्री राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित
मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार पर्सा १ ‘ख’ बाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनी सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाए। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनयप्रसाद झाले दुई हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले दुई हजार २९ मत पाए।
मधेशमा जसपाले नौ सीटमा मात्रै अग्रता लिइरहेको छ। विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले राजनीतिक दलको आआफनो विचार र सिद्धान्त भए पनि जनताले दिएको अभिमतलाई स्वीकार गर्नुपर्ने बताए। लोकतन्त्रमा जनता नै सर्वोपरि हुने बताउँदै उनले भने, “हामी मत परिणामबाट विचलित भएका छैनौं।”