किन रोकियो पूर्व प्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना?
इलाम–१ मा मतगणना रोकिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार रहेको यस क्षेत्रको मतगणना मंगलबार राति साढे १२ बजेदेखि रोकिएको हो।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार खनालका प्रतिनिधिको विरोधका कारण मतगणना रोकिएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।
“उम्मेदवारका प्रतिनिधिको सहमतिमा उहाँहरूको अगाडि मतपेटिकाको सील खोल्दै आएका थियौं‚ त्यसरी नै खोल्दा उहाँहरूले हुँदैन भनी विरोध गर्नुभयो‚” दाहालले भने‚ “उहाँहरूको विरोधका कारण अवरुद्ध हुने अवस्था आएपछि गणना रोकिएको हो।”
सत्ता गठबन्धनका दलहरूले भने आफ्नो अनुपस्थितिमा मतपेटिका खोलेको आरोप लगाएका छन्। विवाद भएपछि सर्वदलीय बैठक आह्वान गरिएको निर्वाचन अधिकृत दाहालले बताए।
यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत १० हजार २८७ मत सहित अगाडि छन्। एकीकृत समाजवादीका खनालले आठ हजार ७८० मत प्राप्त गरेका छन्।