सुदूरपश्चिमका १६ मध्ये तीन क्षेत्रको नतीजा सार्वजनिक, अन्य क्षेत्रमा कसको अग्रता?
प्रतिनिधि सभा सदस्यका लागि १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा तीन वटा निर्वाचन क्षेत्रको नतीजा सार्वजनिक भएको छ।
कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, डडेल्धुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवा र अछाम-१ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजय भएका छन्। देउवा र कुँवर सत्ता गठबन्धनका उम्मेदवार हुन्। देउवा प्रधानमन्त्री तथा कांग्रेस सभापति हुन्। कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्।
प्रतिनिधि सभाका अन्य नौ वटा क्षेत्रमा मतगणना जारी छ। जसमध्ये कैलाली-१ र २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। क्षेत्र नं १ मा उक्त पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ फराकिलो मतान्तर सहित अग्रस्थानमा छिन्। उनी उक्त पार्टीका नेता रेशम चौधरीकी पत्नी हुन्। यस क्षेत्रमा कांग्रेसका रामजनम चौधरी दोस्रो र नेकपा (एमाले)का तपेन्द्र रावल तेस्रो स्थानमा छन्। यस क्षेत्रबाट अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएका थिए।
कैलाली-२ मा पनि नागरिक उन्मुक्तिका अरुण चौधरी अगाडि छन्। उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले पछ्याइरहेका छन्। एमालेका झपट रावल तेस्रो स्थानमा छन्।
कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायर अगाडि छन्। एमालेका लेखराज भट्टले उनलाई पछ्याइरहेका छन्। अघिल्लो पटक यस क्षेत्रबाट भट्ट निर्वाचित भएका थिए। कैलाली-५ मा एमालेका नारदमुनि रानाले अग्रता लिइरहेका छन्। उनलाई सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो स्थानमा छन्।
कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद र क्षेत्र नं ३ मा कांग्रेसकै रमेश लेखक अगाडि छन्। साउदलाई एमालेका नरबहादुर धामी र लेखकलाई एमालेकै निरु पालले पछ्याइरहेका छन्। अघिल्लो निर्वाचनमा साउद धामीसँग पराजित भएका थिए।
कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङले माओवादी केन्द्रकी बिना मगरलाई दोब्बर मतले पछि पारेका छन्। अघिल्लो पटक यहाँबाट मगर निर्वाचित भएकी थिइन्।
दार्चुलामा कांग्रेसका दिलेन्द्र बडूले अग्रता बनाएका छन्। त्यहाँ एमालेका गणेश ठगुन्नाले बडूलाई पछ्याइरहेका छन्। यस क्षेत्रमा अघिल्लो पटक ठगुन्ना निर्वाचित भएका थिए। अछाम-२ मा कांग्रेसका पुष्प शाहलाई एमालेका यज्ञ बोगटीले पछ्याइरहेका छन्। अघिल्लो पटक शाह बोगटीसँग पराजित भएका थिए।
बैतडीमा एमालेका दामोदर भण्डारी अगाडि छन्। उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले पछ्याइरहेका छन्। अघिल्लो पटक पनि यहाँबाट भण्डारी निर्वाचित भएका थिए।
बझाङमा पनि एमाले नै अगाडि छ। एमालेका ऐन महरले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीलाई शुरूदेखि नै पछि पारेका छन्। अघिल्लो पटक यहाँ एमालेका भैरव सिंह निर्वाचित भएका थिए।
एकीकृत समाजवादीले डोटीमा अग्रता बनाइरहेको छ। डोटीमा प्रेम आलेसँग एमालेकी गौरी ओली पछि परेकी छन्। १६ वटा निर्वाचन क्षेत्र रहेको सदूरपश्चिममा १२ निर्वाचन क्षेत्रको मात्रै मतगणना जारी छ। बाजुरामा भने मतगणना भएको छैन।